आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ चुनावी ‘इपिसेन्टर’ बन्ने पक्का छ । कांठमाडौं महानगर बागदरबारबाट मेयरको जिम्मेवारी छाडेर, बालेन शाह सिंहदरबार छिर्न दमकमा दौडिरहेका छन् । उनका पछिको भिड देखेर सोही क्षेत्रका उम्मेदवार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको मथिङ्गल हल्लिएको छ । तर, आमरूपमा भने उनी यसलाई ‘हाहु’को संज्ञा दिन्छन् ।
यी दुईले, एकले–अर्कोलाई जेसुकै भनेपनि, ‘हेभीवेट’ भिडन्तले चुनावी माहौल निकै रोचक बन्नेछ । अब एउटा कुरा स्पष्ट छ– कि ओली राजनीतिको दुःखद् अन्त्य हुनेछ, कि राजनीतिमा बामे सर्दै गरेका बालेनको राजनीति नै अहिलेलाई धरापमा पर्नेछ ।
अध्यक्ष केपी ओली र बालेनले प्रतिस्पर्धा गर्ने भएपछि यो निर्वाचन क्षेत्र यतिबेला चर्चाको शिखरमा छ । मंगलबार दुवै जनाले निक्कै तामझामका साथ उम्मेदवारी दर्ता गरेसँगै लामो समयदेखि सामाजिक सञ्जालमा चल्दै आएको ओली–बालेनको ‘वाक युद्ध’ अब मैदानमै देखिने भएको छ ।
मंगलबार उम्मेदवार मनोनयन दर्ताका क्रममा झापाको दमकमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप नै भएको थियो । दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो । दुई पक्षबीच घम्साघम्सी भएपछि बाक्लै प्रहरी परिचालन गरिएको थियो ।
हुन त झापा– ५ मा ओली–बालेन मात्र मैदानमा उत्रिएका छैनन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दिएका छन् । ओली र बालेनसँगै नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् । शाह र ओलीको प्रचारको छाँयामा उनीहरु परेको देखिन्छ।
यस क्षेत्रमा २४ जना उम्मेदवारहरूमध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।
तर, २४ जना मध्ये कडा प्रतिस्पर्धा भने ओली र बालेनबीचनै हुने देखिन्छ । यो क्षेत्रमा चार वटा पालिका छन् । दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ । गौरादह नगरपालिकाका वडा १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा ३, ४, ५, ६ पनि उक्त क्षेत्रमा पर्छ । यसरी हेर्दा झापा–५ शहरी, अर्धशहरी र ग्रामीण मतदाताको मिश्रित चरित्र भएको क्षेत्र हो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यो पटक करिब १० हजार मतदाता नयाँ छन् ।
तर, निरन्तर चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री ओलीलाई यो पटक चुनौती थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सारेसँगै देशभरका मतदातामा उत्साह देखिएको छ । मंगलबार मनोनयन दर्ताका क्रममा देखिएको उत्साहले पनि ओलीलाई यस पटक धक्का लाग्ने पक्का जस्तै छ ।
२०६४ को संविधान सभा बाहेकका निर्वाचनमा सहजै चुनाव जित्दै आएका ओलीलाई बालेन आउने भएपछि चुनौति थपिएको हो । साथै पार्टी भित्रको आन्तरिक कलह ओलीका लागि अर्को चुनौती हो । पार्टीको जिम्मेवारी र राजकीय जिम्मेवारीलाई ओलीले आफ्नो क्षेत्र र झापालाई केन्द्रमा राख्दा नेतृत्व तहका नेता सन्तुष्ट छन् । तर तल्लो तहका कार्यकर्तामा असन्तोष र नैराश्यता देखिन्छ ।
साथै पछिल्लो समय उनीप्रति आम नागरिक आक्रोशीत छन् । २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ ले यो पुष्टि गरिसकेको छ । त्यति बेला प्रधानमन्त्री रहेका ओलीविरुद्धको आक्रोश यति तीव्र थियो कि आन्दोलनकारी सरकारी निवासतर्फ अघि बढेको सूचना पाएलगत्तै उनी हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ जान बाध्य भएका थिए । बालेन पक्षले यो घटनालाई ओलीको घट्दो जनविश्वासको संकेतका रूपमा व्याख्या गरिरहेको छ ।
अब एकै छिन ओलीको विगततर्फ फर्कौँ
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुर्ख्यौली घर झापा होइन । उनी तेह्रथुमको आठराईमा जन्मिएका हुन् । तर, २०२० सालमा उनको परिवार झापा बसाइँ सरेपछि ओलीले यही भूमिलाई आफ्नो राजनीतिक कर्मभूमि बनाए । त्यसयता झापा–५ ओलीको पुरानो र बलियो राजनीतिक थलोका रूपमा चिनिँदै आएको छ । त्यसो त झापाको अधिकांश बसोबास माथिल्लो पहाडबाट बसाइ सर्नेहरूको बाहुल्य रहेको छ।
यहाँ ओलीले २०४८ सालदेखि चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । जसमा एक पटक मात्रै हारेका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार विश्व दीप लिङ्देनसँग पराजित हुनबाहेक हरेक निर्वाचनमा उनी विजयी हुँदै आएका छन् । यही क्षेत्रबाट जितेर उनी गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भइसकेका छन् ।
तर, झापामा ओलीले फरक–फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । २०४८ सालमा उनले झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचन लडेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा भने ओली झापा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । यही निर्वाचनपछि उनी पहिलो पटक गृहमन्त्री बनेका थिए ।

२०५६ सालमा उनी फेरि झापा क्षेत्रनम्बर ६ बाट चुनावी मैदानमा उत्रिए र जिते पनि । २०६४ सालको संविधानसभा निर्वाचन भने उनी पराजित भए । फेरी २०७० सालको संविधानसभा निर्वाचनमा ओलीले झापा क्षेत्र नम्बर ७ बाट विजयी हुँदै सानदार पुनरागमन गरे । त्यसयता २०७४ र २०७९ सालका प्रतिनिधिसभा निर्वाचनमा उनी लगातार दुई पटक अत्यधिक मतका साथ विजयी भएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा त ओलीले देशभरका उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकप्रिय मत पाएका थिए । २०७९ को संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । हुन त त्यति बेला ओलीले राप्रपासँग चुनावी तालमेल गरेका थिए ।
उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले भने ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।
समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो । रास्वपाको मत १८ हजार २ सय ५ मत थियो । रास्वपा दोस्रो हुँदा तेस्रो भएको कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो ।
बालेनलाई फर्किएर हेर्दा
बालेनले आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा पाइला अघि बढाएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राष्ट्रिय राजनीतिमा लागेका हुन् । विसं २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए ।
खास गरी मूलधारका दलहरूको शासन शैली, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य मुद्दाहरू बनाएर लौरो चिन्हमार्फत बालेन काठमाडौंको राजनीतिमा उदाएका थिए । पेसाले स्ट्रक्चरल इन्जिनियर र सोखले र्यापर रहेका उनले सामाजिक सञ्जाललाई आफ्नो पक्षमा माहोल बनाउने प्रमुख औजारका रुपमा प्रयोग गरेका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा एक लाख ९१ हजार जनाले मतदान गरेका थिए । त्यसमध्ये बालेनले सबैभन्दा बढी ६१,७६७ मत पाएका थिए । त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए । १६ जेठ २०७९ मा पदभार ग्रहण गरेका बालेनले मेयरका रूपमा आफ्नो कार्यकाल सकिन झन्डै डेढ वर्ष बाँकी हुँदा राजीनामा दिएका हुन् ।
सम्पदा संरक्षणमा उनले अघि बढाएका कतिपय कामहरूको प्रशंसा हुने गरे पनि खास गरी सडक पेटीमा व्यवसाय सञ्चालन गर्नेहरूमाथि नगर प्रहरीबाट भएको भनिएको दमन र कवाड व्यवसायीमाथि महानगरपालिकाले अख्तियार गरेको नीतिको आलोचना हुने गरेको पाइन्छ । सामाजिक सञ्जालमा राखेका आफ्ना कैयौँ पोस्टहरूका कारण पटकपटक विवादमा तानिएका बालेनको कतिपय अवस्थामा सरकारको नेतृत्वसँग चिसो सम्बन्ध रहेको थियो ।
अब फेरि झापा–५ को निर्वाचनमै फर्कौँ, अब झापा–५ मा कसले मार्ला बाजी ?
झापा–५ ऐतिहासिक रूपमा ओलीको राजनीतिक कर्मभूमि हो। यहाँ एमालेको संगठन बलियो छ, वडा तहसम्म पार्टी संरचना सक्रिय छन् । कार्यकर्ता, शुभेच्छुक र स्थानीय नेताको सञ्जाल ओलीको ठूलो शक्ति हो । विगतका निर्वाचन परिणामले पनि झापा–५ मा एमालेको पकड देखाउँछन् । तर बालेनको प्रवेशले खेल सरल छैन ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम हेर्ने हो भने एमाले पहिलो कांग्रेस दोश्रो हुँदै रास्वपाका सुरेशकुमार पोखरेल तेस्रो हुँदै ११ हजार ७ सय ५९ मत प्राप्त गरेका थिए । यो मतसंख्या बालेन पक्षका लागि सानो तर महत्त्वपूर्ण ‘स्टार्टिङ बेस’ हो ।

यसको अर्थ झापा– ५ मा चुनाव लड्दा बालेनले शून्यबाट होइन, करिब १२ हजार मतबाट प्रतिस्पर्धा सुरु गर्नेछन् । २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा उनले शून्यबाट मत जोडेर कांग्रेस र एमालेजस्ता स्थापित दलका उम्मेदवारलाई पराजित गरेका थिए । यही अनुभव र आत्मविश्वासले बालेनपक्षलाई झापा– ५ जस्तो ओलीको किल्लामा पनि ‘असम्भव’ लाई ‘सम्भावना’ मा बदल्न सकिने विश्वास दिलाएको छ ।
विशेषगरी युवा, शहरी सोच भएका मतदाता, वैदेशिक रोजगारीबाट फर्किएका तथा पुराना नेताबाट दिक्क भएका नागरिकमा बालेनप्रति आकर्षण देखिन्छ । सामाजिक सञ्जालमा उनको प्रभाव, भ्रष्टाचारविरुद्धको कडा भाष्य र ‘काम गरेर देखाउने’ छविले झापा–५ जस्तो क्षेत्रमा पनि नयाँ बहस जन्माएको छ ।
यसअघि सामाजिक सञ्जालका पोस्ट, व्यङ्ग्य र कडा टिप्पणीमार्फत मात्रै चुनौती दिँदै आएका बालेन अब ओली जस्तो अनुभवी र सङ्गठित राजनीतिज्ञसँग प्रत्यक्ष भिडन्त गर्न तयार भएका छन् । अनुभवी संगठन र नयाँ विद्रोही सोचबीचको यो टक्करको अन्तिम फैसला झापा–५ का मतदाताले गर्नेछन् । अब यो बहस अनुमानको विषय मात्र होइन । परिणामले नै उत्तर दिनेछ र त्यो उत्तर पाउन अब धेरै दिन कुर्नुपर्ने छैन । झापा–५ को मतपेटिकाले दिने फैसला केवल एक सिटको निर्णय नभई देशको राजनीति कुन दिशातर्फ मोड्छ त्यो पनि झापाका जनताको हातमा आइपुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।