काठमाडौंस्थित रसियन हाउसद्वारा आयोजित ‘रिफ्लेक्सन–२०२५’ फोटो प्रदर्शनी तथा नववर्ष समारोह मंगलबार साँझ भव्य रूपमा सम्पन्न भएको छ ।
अपरान्ह ४ बजेदेखि ६ बजेसम्म रसियन हाउसको लबीमा आयोजित कार्यक्रममा कूटनीतिज्ञ, सांस्कृतिक अभियन्ता, साहित्यकार, वैज्ञानिक समुदाय, साझेदार संस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि रुस महासंघको दूतावास, नेपालका मिनिस्टर–काउन्सेलर (चार्ज दे अफेयर्स) श्री आन्द्रे युरेभिच किसेलेन्कोले गरेका थिए । उद्घाटन समारोहमा रसियन हाउसकी निर्देशक सुश्री आनास्तासिया खोख्लोभा, मित्र कुञ्ज, नेपाल-रुस साहित्य समाज, नेपाल-रुस मैत्री तथा सांस्कृतिक संघ र नेपाल-रुस विज्ञान समाज का अध्यक्षहरूको समेत सहभागिता रहेको थियो ।
उद्घाटन मन्तव्यमा प्रमुख अतिथि श्री किसेलेन्कोले नेपाल-रुस सम्बन्धलाई सुदृढ बनाउन सांस्कृतिक आदान-प्रदान र जन स्तरीय सहकार्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले भाषा, साहित्य, विज्ञान तथा संस्कृतिको प्रवर्द्धनमा रसियनमा हाउस र साझेदार संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा मित्र कुञ्जकी अध्यक्ष सुश्री सुष्मा खत्रीले सांस्कृतिक संवादलाई निरन्तरता दिनु आजको आवश्यकता रहेको बताइन् । नेपाल-रुस साहित्य समाजका अध्यक्ष श्री विष्णुबहादुर सिंहले साहित्य र साझा सांस्कृतिक विरासतले दुई देशबीच को सम्बन्धलाई अझ मजबुत बनाउने धारणा व्यक्त गरे । त्यसैगरी नेपाल-रुस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष श्री राजेन्द्र अधिकारीले नेपाल-रुसबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
रसियन हाउसकी निर्देशक सुश्री आनास्तासिया खोख्लोभाले स्वागत मन्तव्यका क्रममा ‘रिफ्लेक्सन–२०२५’ फोटो प्रदर्शनीले बितेको वर्षका महत्वपूर्ण क्षण, सहकार्य र उपलब्धिहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको बताए । उनका अनुसार प्रदर्शनीले अतीतको स्मरण मात्र होइन, भविष्यका लागि नयाँ प्रेरणा पनि प्रदान गर्छ ।
औपचारिक कार्यक्रमको समापन नेपाल-रुस विज्ञान समाजका अध्यक्ष श्री गणेश शाहको समापन मन्तव्यसँगै सम्पन्न भएको थियो । उनले विज्ञान र शिक्षाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सक्ने भूमिका बारे प्रकाश पारे ।
यस अवसरमा आयोजक संस्थाहरूले अनाथालयका बालबालिकाका लागि जाडो कपडा सहयोग गर्ने उद्देश्यले सानो तर अर्थपूर्ण सहयोग संकलन अभियान पनि घोषणा गरेका थिए । चाडपर्वको समयमा सामाजिक उत्तरदायित्त्वलाई आत्मसात गर्दै सहभागीहरूलाई स्वैच्छिक सहयोगका लागि आग्रह गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले जलपानसहित ‘रिफ्लेक्सन-२०२५’ फोटो प्रदर्शनी अवलोकन गरेका थिए । उक्त कार्यक्रमले वर्षको अन्त्यलाई आत्म मन्थन, मित्रता र सहकार्यको सन्देशसहित अर्थपूर्ण बनाउँदै नववर्ष २०२६ का लागि आशा र सकारात्मक ऊर्जाको वातावरण सिर्जना गरेको आयोजकहरूले बताएका छन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।