Mon, 22 Jul, 2019


#farakक्षमता
#farakक्षमता :  दुवै हात नभएकी ‘नासु’
फरकधार / असार १६, २०७६

आजभन्दा ३७ वर्षअघि । कुनै एक घरमा सन्तान जन्मिँदा छरछिमेकमात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । घरमा विशेष खुसियालीको माहोल छाउँथ्यो ।



तर, सुशिला ढकालको जन्मले घरमा खुसियाली छाएन । बरु चिन्ताको माहोल बढ्यो । यो चिन्ता बढ्नुको कारण थियो– जन्मँदा नै सुशीलाका दुवै हात थिएनन् !

स्याङ्जाको मध्यम वर्गीय परिवार । तेस्रो सन्तानका रुपमा जन्मिएकी सुशीला बाँच्लिन् भन्ने आश उनको परिवारले गरेन ।

‘जन्मँदा नै मेरा दुई हात थिएनन्,’ सुशीलाले भनिन्, ‘बाआमाले म बाँच्छु भन्ने नै सोच्नु भएनछ ।’ 

तर, यी सब सोचको विपरित सुशीलाको स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छिन् भन्ने परिवारको विश्वास बढ्दै गयो । त्यसपछिका दिन सुशीलाले सबैको माया पाइन्, परिवार, साथीभाइ र आफन्तको । 

‘मेरा साथीहरुले मैले खेल्न नसक्ने खेल नै खेलिदिएनन्,’ अलिक हुर्किएपछिको समय सम्झिन्छिन् सुशीला, ‘खासमा मलाई घरमा पनि माया नै बढी गरिन्थ्यो ।’

अझ ठूली भएपछि सुशीलाले सुन्थिन्– अपाङ्गता भएकाले कसैलाई परिवारबाट नै हेला गरियो । त्यसपछि बल्ल उनले बुझिन्– घरमा उनलाई सानो छँदा आफू फरक छु भन्ने महसुस नै गर्नु परेन । 

दुवै हात नभए पनि सुशीलालाई अहिले पनि आफू फरक छु, अरुभन्दा अलग छु भन्ने महसुस हुँदैन । यस्तो किन पनि भने उनी सवलाङ्ग भनिनेहरुले जस्तै सहजै सबै काम गर्छिन् । टाइप गर्छिन्, आफ्ना कामहरु आफैँ सम्पन्न गर्छिन् ।

यसको अर्थ के होइन भने सुशीला कहिल्यै विगतको गर्तमा जाँदिनन् र गाउँमा भएका हल्लाहरु सम्झिन्नन् । ‘घरमा र साथीहरुको माया त थियो तर गाउँमा मेरा दुई हात नभएपछि अनेक हल्ला चल्थे,’ केही दिनअघि हरिहरभवन ठूला करदाता कार्यालयको कार्यकक्षमा भेटिएकी सुशीला विगतमा फर्किइन्, ‘कतिले त मेरो यो अवस्थालाई पूर्वजन्मको पापसमेत भन्न भ्याए ।’

समाजमा यस्ता टिकाटिप्पणी भइरहे । सुशीलाको परिवारले त्यसलाई बेवास्ता गर्यो । बरु सुशीलालाई सहज हुने वातावरण निर्माण र उनको दक्षता अभिवृद्धिमा परिवार लाग्यो । 

‘आफ्नो घरभित्र सहयोग छ भने बाहिर जसले जे गरे पनि केही हुनसक्दैन,’ सुशीला भन्छिन्, ‘परिवारको साथ नपाउने सवलाङ्ग बच्चाले पनि केही गर्न सक्दैन, साथ पायो भने एउटा अंग नहुनु खासै ठूलो कुरा होइन ।’ अर्थात्, जसका लागि पनि परिवार सबैभन्दा बलियो अंग हो । 

दुवै हात नभए पनि छोरीले केही गरेर देखाउँछे भन्ने विश्वास सुशीलाका बाआमामा थियो । किनकि घरमा जो आउँथे उनीहरु भन्थे, ‘नआत्तिनुस्, यो छोरीले भोलिपर्सी तपाईंहरुको नाम चिनाउने छ ।’

यस्ता प्रसङ्ग र तारिफले सुशीलामा विश्वास थप्दै लग्यो, उनलाई झन् बलियो बनाउँदै लग्यो । ‘मैले केही गर्न सक्छु भन्ने त्यति बेला नै मनमा पस्यो,’ उनी भन्छिन् । 

मनमा विश्वास र आँट त थियो, तर हाम्रो भौगोलिक बनावट तथा घरस्कुलका संरचना सुशीलालाई सहज हुने थिएनन् । ६ वर्षमा स्कुल जान थालेकी सुशीलाले खुट्टाका दुई औंला प्रयोग गरेर लेख्न सुरु गरिन् । ‘तर, त्यो सहज थिएन । स्कुलमा बेन्चमा बसेर लेख्न मिल्दैनथ्यो,’ सुशीला सम्झिन्छिन्, ‘पछि बुबाले एउटा फराकिलो टेबल बनाइदिनुभयो, अनि मलाई त्यसमा बसेर लेख्न अलिक सहज हुन थाल्यो ।’

खुट्टाकै औंलाले सुशीलाले अरुले जस्तै लेख्न थालिन् । उनले मेहनेत गरिन् र अरुलाई भेट्ट्याएरै छाडिन् ।

गाउँकाे स्कुलमा पढेपनि एसएलसी दिन सदरमुकाम जानु पर्ने थियाे । एसएलसी दिइन् । एसएलसीमा उनलाई अरुलाई जस्तै व्यवहार गरियो । ‘खुट्टाले लेख्दा अरुको भन्दा अलिक ढिला हुन्थ्यो,’ उनले भनिन्, ‘तर, सरहरुले अतिरिक्त समय दिनु भएन ।’

पहिलो प्रयासमा एसएलसीमा सुशीलालाई इतिहासमा ‘ब्याक’ लाग्यो । ‘त्यो पनि मौका परीक्षामा पास भएँ,’ सुशीला भन्छिन्, ‘त्यसपछि पनि मैले अध्ययन अगाडि बढाइरहेँ ।’

कलेज पढ्नका लागि उनी सदरमुकाममा बहिनीहरुसँग बस्न थालिन् । 

त्यही कलेज जीवनले उनको जीवनमा ठूलो मोड ल्याइदियो । 

उनी कलेज पढ्दाकै कुरा हो । निकै मिहनेत गर्थिन् उनी । उनको मिहनेतबाट प्रभावित भएका थिए, कान्तिपुर पत्रिकाका पत्रकार । सुशीलाबारे कान्तिपुरमा फिचर छापियो । 

‘त्यो फिचर एकजना विष्णु मेडमले पढ्नुभएछ र मलाई सहयोग गर्न सम्पर्क गर्नुभयो,’ सुशीला सम्झिन्छिन्, ‘उहाँले मलाई काठमाडौंमा बोलाउनु भयो । आफूले चलाइरहेको होस्टलमा निःशुल्क राख्नु मात्र भएन, पढ्ने व्यवस्था पनि गरिदिनु भयो ।’ 

यो खासमा सुशीलाको पहिले देखिकै सपना थियो । उनी काठमाडौं आएर पढ्न चाहन्थिन्, तर परिवारको आर्थिक अवस्थाले त्यसलाई साकार बनाउन सकेकी थिइन् । 

कान्तिपुरमा समाचार छापिएपछि उनी काठमाडौं आइन्, डिल्लीबजारमा कन्या क्याम्पसमा पढ्न थालिन् । 

२०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यति बेला नै कम्प्युटर सिक्न पनि थालिन् । निरन्तर मिहनेत गरेकाले हुनुपर्छ, सुशीलाले अध्ययन मात्र राम्रो गरिनन्, भविष्य पनि काठमाडौंमा नै चलाउने सपना देख्न थालिन् । फलस्वरुपः उनी ब्याचलर्स पनि कन्या क्याम्पसमा नै पढ्न थालिन् । त्यति बेलासम्म पनि उनी त्यही होस्टलमा बस्थिन् ।

‘बिए पढ्न थालेको वर्ष नै मैले जागिर पनि पाएँ,’ सुशीलाले सम्झिइन्, ‘त्यसले मलाई जीवन धान्न अझ सहज हुन थाल्यो ।’ सुशीलाले नेपाल अपाङ्ग मानवअधिकार केन्द्रमा जागिर पाएकी थिइन् । ‘बिहान कलेज पढ्थेँ, दिउँसो काममा जान्थेँ,’ उनले भनिन् । 

काठमाडौं आएलगत्तै कम्प्युटर सिकेको यतिबेला सुशीलालाई निकै फलदायी भयो । उनले राम्रो काम गर्न थालिन् । एकातिर कामको चाप थियो, अर्कोतिर पढाइको । तर, सुशीलाले जीवनमा आफ्नो पढाइसँग कुनै कम्प्रोमाइज गरिनन् । 

उनले ब्याचलर्स सकिन्, मास्टर्स पढ्न थालिन् । 

यतिबेलासम्म एउटा सरल रेखामा हिँडिरहेको थियो, सुशीलाको जीवन । तर, जब उनी मास्टर्स सकेर कलेजबाट निस्किइन्, उनीसँग दक्षता थियो, तर काम थिएन । 

‘त्यति बेला म आफैंलाई अत्यन्त निरीह छु भन्ने लाग्थ्यो,’ उनी सम्झिन्छिन्, ‘निकै निराश भएकी थिएँ ।’ तर, सुशीलाले जस्तोसुकै अवस्था हुँदा पनि हिम्मत हारिनन् । ‘केही गर्नुपर्छ भन्ने भावना मनमा थियो,’ खुट्टाले टेबलबाट चियाको कप उठाउँदै सुशीलाले भनिन्, ‘म आफ्ना लागि मात्र होइन, मजस्तै अपाङ्गता भएकाहरुका लागि पनि केही गर्न सकिन्छ है भन्ने सन्देश दिन चाहन्थेँ, त्यसैले निराशालाई हटाउँदै लगेँ ।’

फलस्वरुपः उनले केही साथी बटुलिन् र संस्था दर्ता गरिन्– अपाङ्गता भएकाहरुको हकहितका लागि वकालत गर्ने । 

यो संस्था चलाउँदाचलाउँदै सुशीलाले लोकसेवामा आवेदन दिने सोच बनाइन् । ‘लोकसेवा मेरालागि हो भन्ने त कल्पना नै थिएन,’ सुशीला भन्छिन्, ‘तर, एकपटक ट्राइ गरिदिउँ न त भन्ने भयो ।’

प्रयास मात्र गरेकी थिइन्, सुशीलाले । उनलाई आफ्नो नाम निस्किन्छ भन्नेमा विश्वास नै थिएन । हुन पनि उनको नाम निस्किएन । तर, अब उनलाई लोकसेवाको मोहले छोइसकेको थियो । फेरि यतिबेला लोकसेवाले पनि अपाङ्गता भएकाहरुका लागि आरक्षणको व्यवस्था गरेको थियो । यसले पनि सुशीलालाई लोभ्यायो । 

दोस्रोपटक फेरि लोकसेवामा प्रयास गरिन् सुशीलाले । यसपटक तयारी पनि गरेकी थिइन् उनले । तयारी गरेकाले हुनुपर्छ, यसपटक उनको नाम लिखितमा निस्कियो । उनले अन्तर्वार्ता दिइन् । 

‘राम्रो त भएको थियो तर मलाई आफ्नो नाम निस्किन्छ भन्ने विश्वास नै थिएन,’ अहिले उनी हाँस्छिन्, ‘मसँग अरु पाँच जना पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो । नाम निस्किँदैन भनेर म आफ्नै काममा व्यस्त हुन थालेँ ।’

तर, केही महिनापछि आएको नतिजाले सुशीलालाई खुसी तुल्यायो । उनले विश्वासै नगरे पनि लोकसेवामा उनको नाम निस्किएको थियो । उनको नाम निस्किएको समाचार उनलाई भाइले फोन गरेर सुनाएका थिए । 

‘म त खुसीले उफ्रिएँ, आँखामा आँसु भरियो,’ उनले भनिन्, ‘मेरोलागि जीवनको सबैभन्दा खुसीको क्षण नै त्यही थियो ।’

लोकसेवामा नाम निस्किएपछि सुशीलाको जीवनमा अर्को मोड आयो । अब उनको जीवन यसअघिको भन्दा सहज हुन थाल्यो ।

९ वैशाख २०६६ साल । सुशीलाको जागिरे जीवन सुरु भयो । राजश्व विभागबाट काम सुरु गरेकी सुशीला अहिले ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत छिन् । 

अब त सुशीला नायब सुब्बा (नासु) भएको पनि १० वर्ष पुग्यो । यी दश वर्षमा सुशीलाले दुःख र सुख, हाँसो र आँसु सबै भोगेकी छिन् । ‘सुरुमा त मलाई कार्यालयमा काम गर्न सक्छे भन्ने नै सोचिएन,’ उनले भनिन्, ‘तर, अब अपाङ्गता हुँदैमा कसैले काम गर्न नै सक्दैन भन्ने मानसिकता बदलिएको छ ।’

जागिरे जीवनमा मात्र होइन, सुशीलाको व्यक्तिगत जीवनमा पनि खुसीको बहार आएको छ । ‘२०७१ सालमा मेरो विवाह भयो,’ सुशीलाले फेरि पनि मुस्कुराइन्, ‘मैले त श्रीमान् भन्दा पनि एकजना मिल्ने साथी जीवनमा पाएकी छु, यसले म भाग्यमानी छु भन्ने प्रमाणित गरेको छ ।’

हुन त मानिसहरु पहिलो पटक सुशीलालाई अफिसमा देख्दा अप्ठ्यारो मान्छन् । तर, जब उनको कार्यसम्पादन देख्छन्, उनको क्षमता माथि प्रश्न उठाउन सक्दैनन् । 

‘हात नभएर के भो त,’ सुशीला भन्छिन्, ‘मैले अरुको जस्तै काम गरेकी छु, गर्न सकेकी छु । सबैभन्दा ठूलो कुरा त ममा म सक्छु भन्ने छ ।’

यो सबको श्रेय सुशीला आफ्नो मिहनेतलाई मात्र दिन चाहन्नन्, उनी त प्रत्येक दिन आफूलाई यहाँसम्म ल्याउन सहयोग गर्ने र उत्प्रेरणा दिने सबैलाई सम्झिन्छिन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्