हङकङमा प्रदर्शनकारी तोडफोड गरे संसद भवन

एजेन्सी– बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठको अवसरमा प्रदर्शन गर्न उत्रिएका प्रदर्शनकारीले हङकङको संसद भवनभित्र पसेर तोडफोड गरेका छन् । उनीहरु यो समारोहका लागि भेला भएका भए पनि विवादित सुपुर्दगी विधेयकको विरोध हुँदा प्रदर्शन चर्किएको थियो । 

संसदभित्र छिरेका प्रदर्शनकारीले तोडफोड पनि गरेका छन् । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज तथा अश्रुग्याँस प्रहार गरेको छ । निकै लामो समयपछि प्रदर्शनकारी संसद भवनबाट बाहिर निस्किएका छन् ।

प्रदर्शनकारी लामो समयसम्म हङकङ संसदभित्र छिरेर त्यहाँ नै नाराबाजी गरिरहेका थिए । 

हङकङमा केही अघिदेखि एउटा प्रस्तावित विधेयकको विरोध भइरहेको छ जुन कानुन बनेमा त्यहाँका अभियुक्तलाई पनि चीनमा सुपुर्दगी गर्न सकिनेछ र उनीहरुविरुद्ध चीनमा नै मुद्दा चलाउन सकिनेछ । 

प्रदर्शनकारीले चीनले यो कानुनको गलत प्रयोग गर्न सक्ने भएकाले विरोध गरेको बताएका छन् । चीनले यो कानुन बनेमा ती व्यक्तिहरुलाई निशानामा राख्न सक्ने अनुमान गरिएको छ जो राजनीतिक रुपमा चीनको विरोधमा जुट्नेछन् । 

लामो प्रदर्शन भएपछि यो विधेयक फिर्ता त लिइएको छ । तर, प्रदर्शनकारीले विधेयक खारेजीको माग गरेका छन् ।



सोमबार संसद भवनमा छिरेका प्रदर्शनकारीले चाहिँ ढोका तथा भित्ताहरुमा विभिन्न नारा लेखेका छन् । प्रदर्शनकारीले मुख्य सभाघरमा हङकङको प्रतीक चिह्नलाई केरमेट गरेका छन् भने बेलायती औपनिवेशिक झन्डा लहराएका छन् ।

समस्यामा फँसेकी हङकङ नेता क्यारी लामले पत्रकार सम्मेलन गर्दै यसलाई हिँस्रक व्यवहारको संज्ञा दिएकी छिन् ।




  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार ९:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया