हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डीको कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक छ । मासु, अण्डा तथा दुग्धजन्य पदार्थहरूमा भिटामिन डी पाइन्छ । भिटामिन डी युक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा. कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ । डा. सापकोटाले भने, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।’ उनले नवजातदेखि १२ महिनासम्मको बच्चामा दैनिक ४०० युनिट र वयस्कमा दैनिक १००० युनिट भिटामिन डी आवश्यक पर्ने बताए ।
अस्पतालमा भिटामिन डीको कमीका कारण विभिन्न लक्षण लिएर धेरै बिरामी आउने गरेको उल्लेख गर्दै उनले भने, ‘भिटामिन डी पाउने मुख्य स्रोत खानपान र घाम हो । खानपानबाट विशेषगरी मासु, अण्डा तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । अन्य खानेकुराबाट पर्याप्त मात्रा पाउन सकिँदैन । जस्तै नुनमा आयोडिन मिलाइन्छ, त्यसैगरी फोर्टिफाइड खाना, तेल वा घ्यूमा भिटामिन मिसाएर सेवन गर्न सकिन्छ । नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन । साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखा पर्छ ।’
उनले भने, ‘भिटामिन डीको लागि विशेषगरी बिहान १०–११ बजे देखि दिउँसो ३ बजेसम्मको घाम महत्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ ।’ उनले घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिए । उनले जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने बताए ।
उनका अनुसार भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । पर्याप्त भिटामिन डीले क्यान्सर र संक्रमणको जोखिम पनि कम गर्छ ।
यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बच्चामा उचाइ कम हुनु, खुट्टा वाङ्गो हुनु जस्ता लक्षण देखा पर्ने डा. सापकोटाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।