कांग्रेस सांसदद्वारा दुई मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव

कमठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राष्ट्रिय सभामा पेस गरेको छ ।

काग्रेसका तर्फबाट सांसद बद्रीप्रसाद पाण्डेले मंगलबार राष्ट्रिय सभामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका विविध शीर्षकका खर्च कटौती गरेर एक सय कायम राख्न गर्न माग गर्दै खर्च कटौतीको प्रस्ताव पेस गरेका हुन् । 

कांग्रेसकै अर्की सांसद मुक्ताकुमारी यादवले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषकलाई दिने अनुदानको रकम कम भएको उल्लेख गर्दै कटौती गरेर एक रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतीको प्रस्ताव पेस गरेकी छिन् । 

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विविध शीर्षकमा मात्रै १ अर्ब ६४ करोड ८४ बजेट विनियोजन गरेको छ । त्यसमा आपत्ति जनाउँदै सांसद पाण्डेले दुरुपयोग हुन नदिन खर्च कटौतीको प्रस्ताव पेस गरिएको स्पष्ट पारे । 

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयताअनुकूल काम नगरेको, कर्मचारी समायोजनको कामको समेत उचित व्यवस्थापन गर्न नसकेकोलगायत विषयमा प्रश्न उठाए । विविध शीर्षकमा पनि अत्यधिक बजेटको व्यवस्था गरेर मुलुकको अर्थतन्त्रमाथिकै बदनीयत राखेकोमा उनले आपत्ति प्रकट गरे । 

सांसद मुक्ताकुमारी यादवले सरकारले बजेटमा कृषि क्षेत्रको विकासका लागि ३ प्रतिशत पनि बजेट विनियोजन नगरेको तथा किसानको अनुदानका लागि उचित बजेट दिन नसकेको बताउँदै ५ वर्षमा कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य हासिल कसरी हुन्छ भनेर प्रश्न गरिन् । 



सोही कारण सो मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतीको प्रस्ताव पेस गरेको बताइन् । किसानका लागि आवश्यक सेवा, सुविधा दिनुपर्ने सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा सांसद यादवले आपत्ति जनाइन् । 



  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १४:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया