३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

बंगलादेशविरुद्ध नेपालको ऐतिहासिक खेल

यति बेला पोखरा फुटबल रंगशालामा साफ महिला यू–१९ फुटबल च्याम्पियनसिप चलिरहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता अब निर्णायक मोडमा पुगेको छ । जारी साफ च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटानगरी चार राष्ट्र सहभागी छन् । 

प्रतियोगितामा अब समूह चरणका दुई खेल मात्र बाँकी छन्, जुन नेपाल र भारतका अति महत्त्वपूर्ण छन् । त्यस्तै, तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेश भने एक खेल अगावै फाइनलमा प्रवेश भइसकेको छ । दुई खेल खेल्दा दुवै गुमाएको भुटान भने फाइनल दौडबाट बाहिरिइसकेको छ । 



पोखरामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत बुधबार दुई खेल हुँदै छन् । दिनको पहिलो खेलमा नेपाल र बंगलादेश तथा दोस्रो खेलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुँदै छ । बुधबारका दुई खेल नै प्रतियोगिताका समूह चरणका अन्तिम खेल हुन् । 

प्रतियोगितामा सहभागी चार राष्ट्रमध्ये शीर्ष स्थानका दुई टोली फाइनलमा स्थान बनाउनेछन् । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको सबैभन्दा सफल टोली बंगलादेश यसपालि पनि फाइनल प्रवेश भइसकेको छ । ऊ लगातार दुई खेलमा विजयी हासिल गर्दै फाइनलमा प्रवेश भएको हो । 



उसले साफ यू–१९ महिला च्याम्पियनसिपको इतिहासमा सर्वाधिक पाँच पटक उपाधि जितेको छ । बंगलादेशले क्रमशः २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा उपाधि आफ्नो नाममा गरेको हो । उसको लक्ष्य यसपालि ट्रफीमा ह्याट्रिक गर्ने रहेको छ । त्यस्तै, बाँकी एक स्थानका लागि भने भारत र नेपालबीच कडा प्रतिस्पर्धा छ । 

नेपालले जारी प्रतियोगिताको फाइनलमा स्थान बनाउन बुधबार बंगलादेशलाई पराजित गर्नै पर्ने गणितीय हिसाब छ । जारी साफ च्याम्पियनसिपमा दुई खेल खेल्दा समान एकमा विजयी हासिल गरेका नेपाल र भारतसँग तीन–तीन अङ्क छ । यस्तो अवस्थामा नेपालले सिधै फाइनलमा स्थान बनाउन बंगलादेशलाई पराजित गर्नुका साथै भारतले भुटानसँग पराजय बेहोर्नु पर्छ । 

त्यस्तै, बुधबारको खेलमा नेपाल र भारत दुवै विजयी भएको खण्डमा गोल सङ्ख्याको आधारमा निर्णय गरिनेछ । उच्च लयमा रहेको बंगलादेशलाई पराजित गर्न नेपाललाई त्यति सजिलो भने छैन । तर, नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ । साथै उसले समर्थकको पनि राम्रो साथ पाउनेछ । प्रतियोगितामा हालसम्म दुई पटक फाइनलमा स्थान बनाएको नेपालले उपाधि भने जित्न सकेको छैन । 

त्यस्तै, भारत बंगलादेशपछिको दोस्रो सफल टिम हो । उसले २०२२ र २०२४ गरी दुई पटक साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गरेको छ । जारी प्रतियोगिताबाट बाहिरिएको भुटान भने अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । २०१८ देखि प्रत्येक दुई वर्षको अवधिमा आयोजना हुँदै आइरहेको छ ।   



  • प्रकाशित मिति : २० माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया