३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

ओली, प्रचण्ड र देउवाबीच के थियो गोप्य भेटको रहस्य ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेट भएको अपुष्ट समाचार विभिन्न समाचार माध्यममा आयो ।  उनीहरूको भेटको विषयमा देउवाका स्वकीय सचिव भानु देउवा र एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले अनविज्ञता प्रकट गरे ।  भेटको कुरा उनीहरू दुबैलाई थाहा थिएन।  

तर, नेकपाका संयोजक प्रचण्डले भने एक टेलिभिजन अन्तरवार्तामा त्यो भेट भएको घुमाउरो  स्वीकारोक्ति दिएका छन् । आगामी चुनावमा शेरबहादुर देउवा उम्मेदवार छैनन्, तर ओली र प्रचण्ड भने उम्मेदवार छन् । यो भेटमा मुख्य गरी ओलीले देउवा र प्रचण्डसँग सहयोग मागेको दाबी गरिएको छ । 



नेताहरूको भेटको मुख्य विषय निर्वाचन नै भएको बताइएको छ । ओलीले खास गरी झापा र दाङमा सहयोग मागेका थिए । झापामा ओली आफैँ उम्मेदवार छन् भने दाङमा उनका विश्वासपात्र महासचिव शङ्कर पोखरेल उम्मेदवार छन् ।

यो निर्वाचनमा प्रचण्ड ओली भन्दा ‘सेफ जोनमा’ छन् । मतदातालाई नयाँपन दिनका लागि उनी निर्वाचन  क्षेत्र चुनावैपिच्छे फेरिरहन्छन् । 



स्रोतले प्रचण्ड, ओली र देउवाबिच भएको भेटलाई प्रचण्डले नै बाहिर ल्याएको आरोप लगाएको छ । रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह  झापा ५ मा उम्मेदवार भएपछि ओली दबाबमा छन्, किन भने यस क्षेत्रमा ओली आफै उम्मेदवार छन् ।
  
त्यसैले ओली यो भेटको विषय बाहिर ल्याउन इच्छुक नभएको बताइएको छ। ओलीले यो भेट बाहिर ल्याउँदा आफू कमजोर भएर अरूको सहयोग मागेको  जस्तो हुने भन्दै त्यसलाई गोप्य राख्न चाहेको बताइएको छ। 

प्रचण्ड पनि ओलीले  चुनाव जितेको हेर्न चाहँदैनन् । त्यसैले यो भेट र तालमेलका कुरा बाहिर ल्याएर ओलीलाई  मनोवैज्ञानिक रूपमा  कमजोर देखाउन चाहन्छन् । त्यसैले भेट भए लगतै कतै औपचारिक पुष्टि नगरे पनि प्रचण्डले यो भेटलाई  घुमाउरो पाराले स्वीकारेका छन् । 

उनले ओली, देउवा र गगन थापा सँगसमेत यस्तो भेट भइरहने भनाई सार्वजनिक गरेका छन् । तर, यो भेट भने गोप्य नै राख्न चाहन्थे ओली । स्रोतका अनुसार उनीहरूबिच यो भेटलाई गोप्य राख्ने सहमति भएको थियो । तर प्रचण्डले सांकेतिकरूपमा यसलाई सार्वजनिक गरिदिए ।  

केही दिन अघि जनकपुरमा घाइते भएर स्वास्थ्य लाभ गरिरहेको रास्वपाका सभापति रवि लामिछानेले देउवा, ओली र प्रचण्डको भेटप्रति नामै नलिई व्यङ्गे गर्दै  मुख खोलेका छन्  । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ ।



रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ- अझै पनि जो-जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौँ ।’

  • प्रकाशित मिति : २० माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया