चुनावको मिति सुनिश्चित भएसँगै सुशीला कार्की नेतृत्वको चुनावी सरकारका केही मन्त्रीहरू नै प्रत्यक्ष राजनीतिमा होमिने चर्चा थियो । आम चर्चाअनुसार पछि, कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ताले मन्त्री पद छाडेर चुनावी मैदानमा उत्रिए । मन्त्री छाड्ने उनीहरूसँगै अर्को नाम थपियो, महावीर पुन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका उनी निर्वाचनमा उम्मेदवार बन्छन् भन्ने कल्पना सायद कसैले गरेका थिएनन् । स्वयम उनी आफैँ राजनीतिमा नलाग्ने पनि बताउँदै आएका थिए । तर, अकस्मात् राजीनामा दिएर गृह जिल्ला म्याग्दी पुगेर सबैलाई चकित पारे । आखिर, अप्रत्याशित रूपमा राजनीतिमा होमिएका महावीर पुनको अबको बाटो कस्तो होला चर्चा परिचर्चा भइरहेको छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो क्याबिनेटबाट महावीर पुन रिसाएर हिँडेको बताएकी थिइन् । सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा उनी रिसाएर हिँडेको बताइन् । प्रधानमन्त्रीले जनताको लागि पुनले राम्रो कानुन बनाउने कुरा ल्याए पनि सहयोग गर्न नसकेको बताइरहँदा पुनमा कामको हुटहुटी देखिन्छ । उनी अझै राजनीतिमा लागेर जनताको सेवा गर्ने भावमा देखिन्छन् ।
जेनजी सरकारका मन्त्री बन्नु अघि पनि महावीर पुनलाई नचिन्ने सायद कमै मानिस होलान् । किनकि उनी एक चर्चित नेपाली समाजसेवी, नवप्रवर्तनकर्ता, वैज्ञानिक र शैक्षिक अभियन्ता हुन् । जसले ग्रामीण विकास, सूचना प्रविधि र विज्ञान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएका छन् । म्याग्दी घर भएका पुनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए । पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे ।
विदेशमा उच्च शिक्षा हासिल गरेपछि उनी नेपाल फर्किए र विकट गाउँहरूमा सूचना प्रविधिको माध्यमबाट परिवर्तन ल्याउने अभियान सुरु गरे । सन् २००१ देखि उनले ‘नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट सुरु गरे । यस परियोजनाले सोलार पावर, साना हाइड्रो जेनरेटर, वायरलेस इन्टरनेट र दूरी शिक्षाको माध्यमबाट पहाडी र हिमाली गाउँहरूमा इन्टरनेट सेवाको पहुँच पुर्यायो । इन्टरनेट र सूचना प्रविधिको माध्यमबाट विकट ठाउँलाई विश्वसँग जोड्ने काम गरेका महावीरलाई ‘ग्लोबल कनेक्टर’ पनि भन्ने गरिन्छ ।
त्यही क्रममा उनले गाउँका बासिन्दालाई आर्थिक आयआर्जनका विधिहरूमा संलग्न गराए र व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले याक र खरानी खेती, जाम र चीज बनाउने, पर्यटक शिविर सञ्चालन गर्ने जस्ता कामहरूमा संलग्न गराए । जसले गाउँका मानिसहरूलाई आत्मनिर्भर हुन प्रेरित गरेको थियो ।
पछिल्लो दशकहरूमा उनले अनुसन्धान, नवप्रवर्तन, प्रविधि तथा आर्थिक विकासको पहलहरू अघि बढाउने उद्देश्यसहित ‘राष्ट्रिय आविष्कार केन्द्र’ नामक संस्था स्थापना गरे । उनले युवा आविष्कारकर्ताहरूलाई अवसर दिने, प्रयोगशालाहरू सञ्चालन गर्ने र नयाँ आविष्कार तथा प्रोटोटाइप उत्पादन गर्ने वातावरण तयार गर्ने मुख्य उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो ।
पछिल्लो समय उनी आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीका लागि देश दौडाहामा थिए । पुस्तक बेचेर कमाएको पैसाले वीरगन्जमा लामो समयदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखाना ब्युँताउने उनको चाहना थियो । सोही अनुसार जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । ठट्यौली शैलीमा बोल्ने पुन आफूलाई राजनीतिबाट टाढा राख्दै आएका व्यक्ति हुन् । तर परिस्थितिवश भदौको जेनजी आन्दोलनपछि एकै चोटि मन्त्री बन्न पुगे ।
महावीर पुन केही समयअघि सम्म ‘नमुना मन्त्री’ का रूपमा प्रशंसित थिए । नवप्रवर्तन, आविष्कार र वैकल्पिक सोचको प्रतिनिधि ठानिएका अधिकारीले म्याग्दीबाट सांसद बन्ने दौडमा होमिएसँगै उनको छविमा धक्का लागेको छ । पटक–पटक राजनीतिमा नलाग्ने प्रतिक्रिया दिँदै आएका उनी म्याग्दीबाट मनोनयन दर्ता गर्ने बेलामा आफूलाई झोंक चलेर रातारात उम्मेदवारी दिन आएको प्रतिक्रिया दिए ।
तर, किताब बेच्ने अभियान, स्टन्टबाजी शैलीका कार्यक्रम, मन्त्रालयभित्रै बसोबास– यी सबै अब पछाडि फर्केर हेर्दा ‘सेवा’ भन्दा ‘प्रसिद्धि’ को खोजी जस्तो देखिन्छ । मन्त्री बन्ने हतार, अनि त्यही गति र आवेगमा सांसद बन्ने दौड यो क्रमले पुनलाई वैकल्पिक राजनीतिका प्रतीकभन्दा अवसरवादी पात्र भन्दै आलोचना पनि बढ्दै गएको छ ।
आवेगमै सांसद बन्ने दौडमा होमिएका पुनको राजनीतिक यात्राले अब कुन मोड लिने हो भन्ने कुरा २१ गतेपछि आउने निर्वाचन परिणामले नै स्पष्ट गर्नेछ । म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका समेटिएका छन् । म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन् । तीमध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् । २०७९ चुनावको मत परिणामलाई विश्लेषण गर्दा म्याग्दीबाट नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजाले जितेका थिए ।
२४ हजार २१ मत ल्याएका गर्बुजाले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका थिए । श्रेष्ठको मत २० हजार १८९ आएको थियो । पछिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो । तर धेरै मतान्तरमा तेस्रो भएको रास्वपाले १ हजार ४२४ मत ल्याएको थियो । त्यो बेला रास्वपाका उम्मेदवार हरिबहादुर खत्री क्षेत्री थिए । चौँथो ठूलो दलको रूपमा राप्रपा थियो ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यस पटक कांग्रेस, एमाले, नेकपाबिचको मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री पुनको ‘इन्ट्री’ ले यस क्षेत्रलाई निक्कै चासोका साथ हेरिएको छ । पुनको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ पनि हुन् ।
श्रेष्ठ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएका थिए । उनी दोस्रो पटक उम्मेदवार बनेका हुन् । बेनी बजार निवासी श्रेष्ठ विद्यार्थी अवस्था देखि राजनीतिमा सक्रिय भई दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र हालै सम्पन्न भएको पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) अर्का प्रमुख प्रतिस्पर्धी हुन् । यस पटक पार्टीले सांगठनिक मूल्यांकन र स्थानीय आवश्यकताका आधारमा भण्डारीलाई चुनावी मैदानमा उतारेको हो । पछिल्लो चुनावी जनमतको आधारमा तेस्रो भएको दल र कुनै चुनावी उपस्थिति नजनाएको हर्क साम्पाङको दलको आडमा त्रिभुज चुनाव चिन्हले महावीर पुनलाई जित्न सहज भने छैन ।
उनले दलको मत भन्दा हजारौँ मत व्यक्तिगत रूपमा पाउन सके भने मात्र जित्न सक्ने देखिन्छ । हुन त हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीदेखि रवी लामिछानेको दल रास्वपाले पनि समर्थन गरेपछि पुनको जित हुन सक्ने आकलन पनि जारी छ । तर, उनको काम गर्दै छोड्ने प्रवृतिले भने यस चुनावमा धक्का लाग्न सक्छ ।
पुनको जीवन हेर्दा उनले एउटै काम निरन्तर गरेको कमै पाइँदैन । चितवनमा २०४१ सालताका खैरहनी हाई स्कुलमा विज्ञान र गणितका शिक्षक पुनको सपना थियो । प्राविधिक विषय पढाइ गर्ने कलेज तथा विश्वविद्यालय खोल्ने । पुनको त्यो सपना त्यो बेला तुहियो, जुन बेला उनलाई चितवनका एक सिडिओले मुखमुखै लागेको भन्दै सात दिन थुनेपछि ।

थुनाबाट निस्केपछि उनले प्राविधिक पढाइ हुने कलेज तथा विश्वविद्यालयको सपना मात्रै त्यागेनन्, चितवनै त्यागे । सन् १९९८ मा मनाइएको नेपालको प्रथम भ्रमण वर्षको दौरानमा उनी पर्यटन क्षेत्रमा क्रान्ति गर्न हुत्तिएका थिए । पुनले गाउँमा मःमः बनाए । हाते कागज बनाए । लघु जलविद्युत् बनाए । ताररहित इन्टरनेट सुरु गरे । तर, तारको इन्टरनेट सुविधा नपुगेका देशका अन्य भागमा पनि उनले त्यो सेवा चलाएनन्, अचानक छोडेर हिँडे ।
मन्त्री हुँदा आफैँले सरकारसँग गरेको सात बुँदे सम्झौता भुलिएको आरोप खेपिरहेका पुन अहिले स्वतन्त्र उम्मेदवारका रूपमा फेरि चुनावी मैदानमा छन् । एउटै मुद्दामा लामो समय टिक्न नसक्ने स्वभाव उनकै आत्मकथाले सङ्केत गरे पनि उनी इमानदार र कम बोल्ने नेताका रूपमा चिनिन्छन् ।
सेवामार्फत पहिचान बनाएका पुनका लागि यो चुनाव केवल सांसद बन्ने प्रतिस्पर्धा मात्रै होइन, आफ्नो विश्वसनीयता र निरन्तरताको परीक्षा पनि हो । काँग्रेस–एमालेको बलियो पकड रहेको म्याग्दीमा स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएका पुनले ती दललाई सबक त सिकाउनेछन्, सिकाउनेछन्, आफैँ प्रश्नको कठघरामा पनि उभिएका छन् । इतिहास रच्ने कि आलोचनामा सीमित हुने, महावीरको राजनीतिक यात्राको निर्णायक घडी २१ फागुनपछि स्पष्ट हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।