तेस्रो पटक टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली दोस्रो वार्मअप खेलमा बिहीबार क्यानडाको सामना गर्दै छ । पहिलो अभ्यास खेलमा भने नेपालले मंगलबार युएईसँग प्रतिस्पर्धा गरेको थियो, जहाँ उसले ७ विकेटको सानदार जित हासिल गर्यो ।
टी–२० विश्वकपअघि बलियो राष्ट्रसँग अभ्यास खेल्न नपाएको नेपालका लागि भोलिको खेल पनि महत्त्वपूर्ण छ । बिहीबार क्यानडासँग पनि सानदार जित हासिल गर्दै नेपाल बलियो मनोबलका साथ वानखेडेमा उत्रिने सोचमा हुनेछ । तर, क्यानडा पनि नेपालको बलियो प्रतिस्पर्धी हो ।
चेन्नईमा रहेको नेपालले बिहीबार अभ्यास खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेदेखि एमए चिदम्बरम स्टेडियम, चेपौकमा सुरु हुँदै छ । दोस्रो वार्मअप खेलमा पनि नेपाल उत्कृष्ट प्रदर्शनको तयारीमा छ । यो खेलपछि नेपाल सिधै ८ फेब्रुअरीमा बलियो राष्ट्र इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
चेन्नईमै भएको पहिलो अभ्यास खेलमा क्यानडा इटालीसँग १० रनले पराजित भएको थियो । त्यसैले पनि उसका लागि नेपालसँगको दोस्रो अभ्यास खेल महत्त्वपूर्ण छ । पछिल्लो प्रदर्शनलाई हेर्दा बिहीबारको खेल नेपालले जित्ने सम्भावना बढी छ । तर, हालसम्मको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको नतिजालाई नियाल्ने हो भने नेपालभन्दा क्यानडाअघि छ ।
यी दुई टोली अहिलेसम्म तीन पटक आमनेसामने भएका छन्, जहाँ क्यानडा दुई तथा नेपाल एक खेलमा विजयी भएको छ । नेपाल र क्यानडाबीच पहिलो भेट सन् २०२२ मा टी–२० विश्वकप छनोट एमा भएको थियो । उक्त खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । यी दुई टोली दोस्रो र तेस्रो पटक क्यानडामा भएको टी–२० क्रिकोणात्मक सिरिजमा एक अर्काबीच भएका थिए ।
जहाँ क्यानडा पहिलो खेलमा १४ रन तथा दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । त्यस्तै, सन् २०२४ को टी–२० विश्वकपको आर्मअप खेलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त अभ्यास खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । समग्रमा हेर्दा टी–२० क्रिकेटमा नेपालभन्दा क्यानडाअघि छ ।
बिहीबार हुने दोस्रो अभ्यास खेलमा राष्ट्रिय टिमका केही खेलाडीले राम्रो प्रभाव पार्न सक्छन्, जसमा सबैभन्दा पहिलो नाम आउँदा मिडल अर्डर ब्याटर आरिफ शेखको । उनी पछिल्लो केही समयदेखि उत्कृष्ट लयमा छन् । मंगलबार युएईविरुद्धकोे खेलमा पनि आरिफले अविजित ६१ रनको पारी खेलेका थिए । लयमा रहेका उनी क्यानडासँग थप सानदार खेल देखाउन सक्छन् ।
त्यस्तै, स्टार सन्दीप लामिछाने पनि गजबको फर्ममा छन् । उनले पहिलो अभ्यास खेलमा पनि महत्त्वपूर्ण २ विकेट लिएका थिए । सन्दीप लगातार विकेटका साथै उत्कृष्ट इकोनमीमा बलिङ गरिरहेका छन् । राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि क्यानडासँगको खेलमा राम्रो छाप छोड्न सक्छन् । युएईविरुद्धको अभ्यास खेलमा उनले नटआउट ५० रनको महत्त्वपूर्ण पारी खेलका थिए ।
समग्रमा नेपाल आफ्नो दुवै वार्मअप खेलमा सानदार प्रदर्शन गर्दै विश्वकपको मञ्चमा उत्रिने तयारीमा छ । ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुने तालिका छ । अघिल्लो विश्वकपमा जित विहीन बनेको नेपाल यसपालि भने सुपर आठको लक्ष्यमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।