घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रंगशालामा आज लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याटिक गरिन् । खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएकामा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन् ।
नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन संघर्ष गरिरहेको थियो । खेलको ६७ औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले गोल गरेपछि बङ्गलादेश फाइनलमा पुग्न सफल भयो ।
लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले आज नै सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो ।
प्रतियोगितामा दुई जित र एक हार बेर्होरेको भारत ६ अंक जोडेर फाइनल पुगेको हो । लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दुई खेलमा हार र एकमा जित निकालेको नेपालले तीन अंक जोड्दा भुटानले कुनै पनि अंक जोड्न सकेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।