१०–११ को उमेरमै क्रिकेटलाई प्यासन बनाइसकेको थिएँ

म जन्मिँदा मेरा बाबा पुरानो दिल्लीमा बिजनेस सेटअपमा व्यस्त हुनुहुन्थ्यो । व्यापारको सुरुवाती चरणमा भएकाले त्यसबेला बाबा निकै व्यस्त हुनुहन्थ्यो । उहाँ धेरै चुनौतीसँग लडिरहनुभएको थियो । 

अनेक चुनौती र कष्टको समय मैले महसुस गर्न नपरोस् भनेर उहाँहरूले मलाई करोलबागमा हुनुभएकी हजुरआमाकहाँ पठाउनुभएको थियो । त्यसैले मेरो बाल्यकालको अधिकांश समय हजुरआमासँगै बित्यो । 

हजुरआमा बस्ने ठाउँवरपर मजस्ता धेरै बच्चा थिए, त्यसैले मलाई पनि त्यो ठाउँ रमाइलो लाग्न थालेको थियो । त्यहीँबाट मेरो खेलजीवन सुरु भएको थियो । 
मलाई अहिले पनि याद छ, मैले पहिलोपटक क्रिकेट खेल्दा मुंग्रो (कपडा धुँदा कपडालाई चुट्न प्रयोग गरिने वस्तु)लाई ब्याट बनाएको थिएँ ।

म ती दिन अहिले पनि राम्रोसँग सम्झन सक्छु, जतिवेला मैले क्रिकेट खेल्न सुरु गरेको थिएँ । सुरुमा गल्ली र त्यसपछि घरनजिकै रहेको पार्कमा क्रिकेट खेल्थेँ । तर, मैले एकेडेमीमा गएर क्रिकेट सिक्न धेरै पछि मात्र पाएँ । एक दिन मलाई आमाले भन्नुभएको थियो– गल्ली, सडकमा गएर क्रिकेट खेल्नुभन्दा कुनै एकेडमी खोज र त्यहीँ गएर सिक्न थाल । 

मेरो गर्मी बिदा चलिरहेको थियो । मेरो घरनजिकै एउटा स्कुल थियो, जहाँ प्लेमेकर्स क्रिकेट एकेडमी चल्थ्यो । म त्यही स्कुलमा भर्ना भएँ र अभ्यास गर्न थालेँ । गर्मी बिदा त सकियो, तर मेरो क्रिकेटप्रतिको सोख अझ धेरै बढेको थियो । मेरो परिवारले पनि मेरो इन्ट्रेस्ट बुझ्यो र मलाई पहिलेभन्दा व्यवस्थित र अलि लामो समयका लागि सिक्ने बन्दोबस्त मिलाइदियो । उहाँहरूले मलाई क्रिकेट अभ्यासका लागि तीन घन्टा समय छुट्याइदिनुभयो । यसरी मेरो क्रिकेट यात्रा सुरु भयो । त्यसवेला म त्यस्तै ११–१२ वर्षको हुँदो हुँ, मैले प्लेमेकर्स क्रिकेट एकेडमीमा गएर क्रिकेट खेल्न सुरु गर्दा । 

आज मैले क्रिकेट खेल्न सकेँ त, त्यो घरपरिवारकै कारणले सकेँ, उहाँहरूले मलाई धेरै सपोर्ट गर्नुहुन्थ्यो । सामान्यतया आफ्नो सन्तानले पढाइभन्दा खेलमा बढी समय दियो भने अभिभावकले कराउँछन्, तर मेरो हकमा कहिल्यै त्यस्तो भएन । उहाँहरूले मलाई कहिल्यै पढाइमा मात्र ध्यान देऊ, खेलसेलमा होइन भन्नुभएन । उल्टै मलाई जति मन लाग्छ खेल भन्नुहुन्थ्यो । बस् खेल्दै गर्दा पढाइचाहिँ नबिग्रियोस् । पढाइ र खेललाई सधैँ सन्तुलनमा राख्नू भन्नुहुन्थ्यो । 



खेलेकै कारण उहाँहरूबाट मैले पिटाइ खानुपरेन । कतिसम्म भने म क्रिकेट खेलेर राति अबेर घर फर्कंदा पनि उहाँहरूले मलाई खासै केही भन्नुहुन्नथ्यो । हो, कहिलेकाहीँ खेल्नमा मात्र ध्यान नदेऊ भनेर कराउनुन्थ्यो । मेरो घरमा पहिल्यैबाट थाहा थियो कि खेलसँगसँगै पढाइ पनि उत्तिकै महत्वपूर्ण छ । 

यो मेरो अहोभाग्य थियो, मैले ‘मोर्डन’ स्कुलमा पढ्न पाएँ । त्यहाँ खेलकुदको राम्रो वातावरण थियो । राम्रो इन्फ्रास्ट्रक्चर थियो । यसै कारणले गर्दा पनि मैले खेललाई अगाडि बढाउन पाएँ । त्यो वेला स्कुलमा खेलकुदको राम्रो वातावरण हुँदैनथ्यो भने सायद आज क्रिकेट मेरो ‘प्यासन’ या ‘प्रोफेसन’ नहुन पनि सक्थ्यो । 



यस्तो पनि होइन कि म स्कुलमा क्रिकेट मात्र खेल्थँे, क्रिकेटका अलावा अरू स्पोटर््स पनि खेल्थेँ । त्यहाँ सबै खेल खेल्नका लागि त्यति नै सुविधा थियो, जति क्रिकेटका लागि थियो । त्यसकारण मैले अरू खेल पनि खेल्न पाएँ । मोर्डन स्कुलमा स्पोटर््स अनिवार्य हुन्थ्यो, जसको फाइदा म आज बुझिरहेको छु । 

१०–११ को हुँदैमा म क्रिकेटमा यति डुबिसकेको थिएँ कि मैले बाल्यकालमा अरू बच्चाले जस्तो चकचक गरिनँ, न त कहिल्यै कसैको पिटाइ नै खाएँ । त्यतिवेला नै क्रिकेटलाई मैले आफ्नो प्यासन बनाइसकेको थिएँ । सानोमा मैले एकाधचोटि बदमासी गरेको थिएँ । मैले एकपटक चुइंगम चपाएर साथीको कपडामा टाँसिदिएको थिएँ । त्यस हर्कत गरेबापत मैले कडा सजायँ पनि  पाएको थिएँ । तर, यस्तो हर्कत सधैँ भने गर्दिनथेँ । सानातिना केही बदमासीलाई नगन्ने हो भने स्कुल र साथीहरूका लागि म सधैँ ‘महत्वपूर्ण’ भएँ । 

मेरो परिवारको होस् या मेरा साथीहरूको वा मेरा टिचर्स र प्रिन्सिपलकै किन नहोस् सबैले मलाई खुलेरै उदार मनले सपोर्ट गरे । उनीहरुको सपोर्ट मलाई होमवर्कदेखि लिएर जाँच दिदाँसम्म मिल्थ्यो । 

अन्डर–१६ खेल्दा मैले पढाइलाई समय दिनै सकिरहेको थिइन । त्यसताका मेरा शिक्षकहरूले मलाई जसरी सपोर्ट गरे, म त्यो कहिल्यै पनि बिर्सन सक्दिनँ । उहाँहरूले मेरा साथीहरूलाई दिनभर स्कुलमा पढाएको सबै कुरा स्कुल सकिएपछि पालैपालो मलाई बताउने जिम्मेवारी दिनुहुन्थ्यो । मेरा साथीहरू पनि मलाई यस्ता कुरामा सधैँ सहयोग गर्थे । 

मलाई शिक्षकहरूले कतिसम्म सपोर्ट गर्नुभयो भने म गेम खेलेर थाकेर क्लासमा आउँदा मलाई उहाँहरू पछाडिको बेन्चमा गएर सुत भन्नुहुन्थ्यो । क्लासमा सबै बच्चाहरू पाठ घोकिरहेका वेला म भने पछाडि गएर सुत्थेँ । यसप्रकारको सहयोग आवश्यक पनि छ । टिचरलाई पनि थाहा हुन्थ्यो, ऊ बिहान ६ बजेदेखि अभ्यास गरेर कक्षा कोठामा आएको हो । कहिलेकाहीँ त पूरै साता यस्तो हुन्थ्यो । म्याच खेलेर स्कुल पुगेपछि मलाई टिचरहरुले ‘कम्फर्टेबेल फिल’ गरेर बस भन्नुहुन्थ्यो । 

  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १८:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया