जापानमा जनवरी २० देखि भएको भारी हिमपातका कारण देशभरमा ३५ जनाको मृत्यु हुनुको साथै ३५८ जना घाइते भएका देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार जानकारी दिएको छ ।
निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरीलगायतका धेरै प्रान्तहरूमा हताहती भएको जापानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी रिपोर्ट गरेका छन् ।
जापानको समुद्री तटमा रहेको निगाता प्रान्तमा बुधबारसम्म १२ जनाको मृत्यु भएको छ । अग्नि अधिकारीहरूका अनुसार धेरै मृत्यु हिउँ हटाउने कार्यको क्रममा भएका बताइएको छ । चिसोका कारण अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम जारी रहेको छ ।
जापानको मौसम विज्ञान निकायका अनुसार हिउँदे चिसोको चापको निरन्तरता कारण मुख्यतया उत्तरी र पश्चिमी जापानको समुद्रमा भारी हिमपात भएको छ ।
सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार आओमोरी प्रान्तका केही भागमा हिउँ ४.३ मिटरभन्दा बढी जमेको छ भने निगाताका केही क्षेत्रमा करिब तीन मिटर हिउँ जमेको छ । क्योदो न्यूजका अनुसार खराब मौसमले १४ आवासीय भवनहरूमा पनि क्षति पुर्याएको छ ।
जापानका अधिकांश क्षेत्रमा तापक्रम बढेसँगै अधिकारीहरूले बासिन्दाहरूलाई हिमपहिरो, छतबाट खस्ने हिउँ र यातायात अवरोधबाट सतर्क रहन चेतावनी दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।