३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

चितवन-२ : रविको ‘ह्याट्रिक’ सम्भावना कति ?

चितवन-२ बाट रवि लामिछाने तेस्रो पटक चुनावी मैदानमा छन् । यसअघि पहिलो प्रयासमा ६ महिनामै बलियो पार्टी बनाएर संसदमा उभ्याएका रविले यो पटक आक्रामक रूपमा पार्टीलाई देशभर चर्चामा पुर्याएका छन् । रवि नेतृत्वको रास्वपाले कूल १६४ स्थानमा प्रत्यक्षतर्फ उम्मेदवार मात्रै उठाएको छैन, रविको साथमा चर्चित पात्र काठमाडाैं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालने) पनि छन् ।

तथापि कांग्रेस, माओवादी हुँदै रास्वपासम्म आइपुग्दा ठूलै तरंग उठाउने चितवन–२ यस पटक भने आश्चर्यजनक रूपमा मौन छ । झापा ५, सर्लाही– ४ देखि विभिन्न निर्वाचन क्षेत्र राष्ट्रिय बहसको केन्द्र बनिरहँदा रविको क्षेत्र भने सुनसान देखिएको हो ।



आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन हुन एक महिना मात्रै बाँकी हुँदा पनि यसपटक चितवन– २ सुनसान जस्तै छ । चितवन २ चर्चामा नहुनुको एउटा कारण रास्वपाका सभापति रवि लामिछाने घरदैलोमा नउत्रिनु पनि हो । निर्वाचन नजिकिदै जाँदा अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्र पुगेर भोट माग्दै गर्दा रवि भने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

लामिछाने अन्तिम पटक ५ माघमा जनकपुरधाममा आयोजित पार्टीको चुनाव अभियान घोषणासभामा देखिएका थिए । उनले निर्वाचन कार्यतालिका अनुसार ६ माघमा सम्पन्न मनोनयन दर्तासमेत वारेसमार्फत गरेका थिए । चितवन– २ बाटै पुनः चुनाव लड्ने निर्णय गरेका लामिछाने मनोनयन दर्ता भएको १६ दिन बित्दासमेत आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छैनन् ।



बालेनेको राजनीतिक सक्रियता बढेसँगै रवि छायाँमा परेको चर्चा भइरहँदा उनको सचिवालयले भने सभापति बिरामी भएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको थियो । जनकपुरको सभामा जाँदा खुट्टामा लागेको चोट ठिक नभएपछि उनलाई १३ माघमा अस्पताल भर्ना नै गर्नुपरेको सचिवालयले जनाएको थियो ।

रवि घरदैलोमै नउत्रिँदा अनेक अड्कलबाजी भइरहँदा अन्ततः उनी बोलेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनले उपचार पश्चात् सार्वजनिक जीवनमा फर्किएको जनाएका हुन् । त्यतिमात्रै होइन, उनले अपदस्त ओली सरकारप्रति आक्रोश व्यक्त गर्दै आफूले सिंहदरबार बदली छाड्ने पनि बताएका छन् ।

‘अपदस्त दुईतिहाइको सरकारले जबर्जस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरू धाउँदा धाउँदा  थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ,’  रविले भनेका छन्, ‘म सिंहदरबार पुग्न होइन सिंहदरबार बदल्न माग्दैछु घण्टीमा भोट ।’

रवि आफू चुनाव लड्ने चितवन–२ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा चितवन क्षेत्र नं. २ मा समेटिएका छन् । चितवन क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् ।



चुनावमा बहुमत ल्याउने ध्येय बोकेको पार्टीका मुख्य कमाण्डर नै अचानक ‘गुमनाम’ जस्तै हुँदा चासो र चिन्ता उत्पन्न हुनु स्वभाविक पनि थियो । चितवनबाट संसदीय यात्रा तय गरेका सभापति लामिछानेले यस पटक पनि चितवनलाई नै रोजेका छन् । रास्वपाकै गढ बनेको चितवन–२ बाट उम्मेदवारी दर्ता गरेसँगै उनी तेस्रो पटक चुनावी मैदानमा होमिएका छन् । यसअघि ४ मंसिर २०७९ को निर्वाचनमा रविले कांग्रेस र एमालेका प्रभावशाली नेतालाई फराकिलो मतान्तरले हराएका थिए ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए । लामिछानेले कांग्रेस र एमालेको जम्मा मतभन्दा झण्डै दोब्बर मत ल्याएर चुनाव जितेका थिए ।

तर, नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको सांसद पद गुमेको थियो । सोही कारण १२ वैशाख २०८० मा उपचुनाव भएको थियो ।

दोश्रो पटक उक्त उपचुनावमा रविले मतसंख्या अझ बढाएर जितेका थिए । उनले ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए । तर, स्थानीय कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउँदा तेस्रो भएका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत ल्याएका थिए ।

विवादपछि पुनः नागरिकता पाएपछिको ५ महिनामा भएको निर्वाचनमा रवि झन् हावी हुन पुगेका थिए । दोस्रोपटक निर्वाचित भएपछि पनि उनी उपप्रधानमन्त्री र गृहमन्त्री बने । तर, रविमाथि सहकारी ठगी प्रकरणको मुद्दा लागेपछि सांसद पद निलम्बनमा पर्न पुगेको थियो । हुन त चितवन–२ मुख्यत एमालेको प्रभाव भएको क्षेत्र हो । यहाँबाट २०७० र २०७४ सालमा दुवै पटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदिएको छ । परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन् । रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए । त्यो कार्यक्रमबाट उनले अनियमितताविरुद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए ।

चितवन–२ का मतदाताले रविलाई मनपराउनुको अर्को मुख्य कारण उनी चितवनमा हिरासतमा पर्दाको घटना पनि हो । २०७६ साउनमा रविकै सहकर्मी पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो । उनी त्यो बेला नै टिभी कार्यक्रममार्फत् लोकप्रिय थिए ।

उनको समर्थनमा चितवनमा हरेक दिनजस्तो प्रदर्शन भएको थियो । रविलाई अन्याय भयो, उनलाई फसाइँदैछ भनेर त्यो बेला नै धेरै चितवनवासी प्रदर्शनमा ओर्लिएका थिए । उनी हिरासतबाट छुट्दा नारायणी नदी किनारमा ठूलो संख्यामा समर्थक भेला भएका थिए । हिरासतमुक्त भएपछि नारायणी नदी किनारमा भेला भएको जनसागरले नै उनको मनमा सुशुप्त राजनीतिक आकांक्षामा सलाई कोरेको थियो ।

त्यही बेलादेखि रविसँग चितवनवासीको र चितवनसँग रविको साइनो प्रगाढ भएको हो । सुशासनको लोकप्रिय नारा र भाषण दिएर संसदको चौथो शक्तिको रुपमा उदाएको रास्वपा आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अझ सशक्त भएर मैदानमा उत्रने तयारीमा जुटेको छ ।

उनले आम निर्वाचन र उपनिर्वाचनमा जस्तै फेरि एकपटक लोकप्रिय मत ल्याउन सक्लान् भन्ने प्रश्न पनि उब्जिएको छ । चितवन–२ मा लामिछानेले तेस्रोपटक उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले नयाँ उम्मेदवारलाई मौका दिएका छन् ।

कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मीना खरेललाई उम्मेदवार बनाएको छ । भरतपुर महानगरपालिका वडा नं. ४ घर भएकी खरेल जिल्लामा परिचित छिन् । रवि हावी भएको चितवन २ मा यसपटक कांग्रेसले नयाँ प्रयोग गरेको छ । सक्रिय राजनीति गरेको भन्दा सामाजिक अभियन्ताका रूपमा काम गरिरहेकी खरेललाई रवि विरुद्ध उतारेको छ । कांग्रेसकै अन्य उम्मेदवार हुँदा असहयोग हुन सक्ने अवस्था रहे पनि खरेलका नाममा भने कांग्रेसभित्र एकता छ ।

सहकारी ठगीजस्तो गम्भीर मुद्दा रविले खेप्दा कांग्रेसले यसपटक सामाजिक काम, सडकको सहारामा समर्पित मीनालाई अगाडि सारेको हो । राजनीतिकभन्दा सामाजिक र मानवीय हिसाबले पनि यसपटक नयाँ अनुहार अगाडि सारेकाले जिल्ला र क्षेत्रले मीनालाई अनुमोदन गर्ने आकलन पनि हुन थालेको छ ।

अर्कोतर्फ एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेदवार बनेका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका घिमिरे जनवादी गायक पनि हुन् । अनेरास्ववियूको राजनीति गरेका घिमिरे आफ्नो क्षेत्रका युवाहरूलाई परेको बेलामा सहयोग गर्न उद्दत हुन्छन् । चितवन क्षेत्र नं. २ बाट यसअघि उम्मेदवार बनेका कृष्णभक्त पोखरेल र रामप्रसाद न्यौपाने उम्मेदवार बन्न तयार नभएपछि एमालेले युवा नेता घिमिरेलाई निर्वाचनमा उठाएको हो ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । संसदीय निर्वाचनमा पहिलोपटक सामेल भए पनि स्थानीय तहको निर्वाचनमा भने उनले अनुभव लिइसकेका छन् । इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा चुनावी मैदानमा उत्रिँदा हार ब्यहोरेका थिए ।

तर, यसपटक संसदीय निर्वाचनमार्फत दुई पटकसम्म गृहमन्त्री बनेका रास्वपा सभापति लामिछाने विभिन्न समस्यामा जेलिइरहेको हुँदा उनको राजनीतिक यात्रा अन्योल रहेको फाइदा आफूले लिनसक्नेमा उनी विश्वस्त छन् । यसरी चितवन– २ को चुनावी माहोललाई विश्लेषण गर्दा ‘हेभीवेट’ भिडिन्त हुने आकलन गरिएको छ ।

सो क्षेत्रमा उनीसँगै रवि लामिछाने, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङ प्रतिस्पर्धामा छन् । तर एमाले र राप्रपाका उम्मेदवारको पनि त्यस्तो चर्चा छैन । भुइँ मान्छे र समाजसेवी छवि बनाएकी मीना रविका लागि कडा प्रतिस्पर्धी उम्मेदवार बन्दै गएको चर्चा सुरु भएको छ ।

तर, नयाँ दलको रूपमा रास्वपालाई चौथो शक्तिमा स्थापित गरे पनि रवि विवाद मुक्त भने छैनन् । अहिले पनि उनी विरुद्ध पाँचवटा जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि चलिरहेका छन् । सहकारीको रकम अपचलन अभियोगमा संसदीय छानबिन समितिले दोषी ठहर गरेयता उनी विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन् । बाहिर बसेर मुद्दा लड्न पाउने छुटमा रवि यसपटक फेरि चितवन २ बाटै उम्मेदवार बनेका हुन् ।

लामिछानेको जीत सहज भएपनि प्रश्नहरूको सामना भने धेरै गर्नुपर्नेछ । यसकारण अहिले पनि रविका लागि यो क्षेत्र सबैभन्दा सुरक्षित मानिए पनि चुनौती रहेको देखिन्छ । जवाफ भने चितवन–२ का जनताले दिने नै छन् ।

  • प्रकाशित मिति : २२ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया