प्रहरी समायोजनका लागि अन्तिम अवस्थामा : महानिरीक्षक खनाल

काठमाडौं– प्रहरी कर्मचारीलाई संघ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक खनालले संघीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प्रदेशमा खटाएर अभ्यास गरिरहेको जानकारी दिए ।

प्रहरी समायोजनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘हामी अहिलेदेखि नै अभ्यास गरिरहेका छौँ ।’ उनले कुन प्रदेशमा कति प्रहरी कर्मचारी चाहिन्छ भनेरसमेत खाका तयार पारिसकेको जानकारी गराए । सरकारले ल्याएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ । 

गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको आजको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक विषय मिल्नेबित्तिकै सबै काम टुंगिनेसमेत बताए । छलफलमा समितिका सदस्य जनार्दन शर्मा, पम्फा भुसाल, अमरेशकुमार सिंहलगायतले भनाइ राखेका थिए । 
बैठकमा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा र ग्रेडवृद्धि गर्न नसकिने धारणा राख्दै पदका विषयमा स्पष्ट निर्णय भएमा सहज हुने उल्लेख गरे ।

बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिंगो प्रारुप तयार गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दैै प्रदेश प्रहरी संगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि प्रदेश प्रहरी ऐन बन्नुपर्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १५:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया