Tue, 24 Sep, 2019


#farakक्षमता
#farakक्षमता : ‘विष’ पिइपिइ खारिएपछि अमृत
फरकधार / असार २१, २०७६

पुल्चोक । एआर फेसन डिजाइन इन्स्टिच्युट । 



पछिल्लो समय नेपालमा फेसन डिजाइनिङको क्रेज बढ्दो छ । एआर फेसन डिजाइनिङमा पनि निकै भीडभाड छ । फेसन डिजाइन सिक्न युवतीदेखि उमेर केही ढल्केका महिलासम्म त्यहाँ छन् ।

कोही त सिलाइ मेसिनलाई खरर्र चलाउँदै काम सिलाइबुनाइको काम पनि गरिरहेका छन् । 

र, यी सबको बीचमा छन्, एआर । अर्थात्, अमृतरत्न शाक्य । 

यो अमृतकै फेसन डिजाइनिङ सिकाउने इन्स्टिच्युट हो । उनी दैनिक यहाँ आउँछन् र आफूले जानेका कुरा सिकाउन थाल्छन् । अमृतले यो यात्रा रोजेको २०४८ सालदेखि हो । 

तर, अमृतले सहजै यो यात्रा तय गरेका होइनन् ।  

केही दिनअघि एआर इन्स्टिच्युटमा पुग्दा पनि अमृतको हातमा एउटा कलम थियो, ह्वाइटपेपरमा उनी केही लेखिरहेका थिए । अगाडि बसेर झन्डै एक दर्जन महिलाहरु उनको निर्देशन सुनिरहेका थिए । 

लेहङ्गा बनाउन कति नेक काँट्ने, कति बाहुला राख्ने सुनाइसकेपछि अमृतले सुनाउन थाले आफ्नो जीवन यात्रा ।

२०२३ सालमा पाटनको श्रीबहाल टोलमा जन्मिए अमृत ।

‘सुरुमा सबै राम्रो थियो,’ अमृतले सम्झिए, ‘तीन वर्षको हुँदा मलाई टाइफाइड भयो ।’

यही टाइफाइड उनको जीवनलाई अर्कै मोडमा पुर्याउने रोग बनिदियो । ‘टाइफाइड बिग्रियो,’ अमृतले भने, ‘मलाई पोलियो भयो, त्यसपछि म हिँड्न नसक्ने भएँ ।’

त्यति बेला अमृत चार वर्षका थिए । त्यसयता अमृत हिँड्न सकेका छैनन्, तर उनले जुन यात्रा तय गरेका छन्, त्यो सुन्दा कुनै दन्त्यकथा सुनिरहेको जस्तो लाग्न सक्छ । 

खासमा त्यो सानो उमेरमा रोगले अपाङ्गता भएपछि अमृतलाई परिवारले साथ दिनु पर्ने थियो । तर, उनको परिवारले उनलाई साथ दिएन । 

‘अब हिँड्न नसक्ने भएपछि यसलाई खुवाउनु र हुर्काउनुभन्दा त कुकुरलाई खुवाउन ठिक,’ परिवारकै सदस्यले त्यति बेला भनेको कुरा अमृत सम्झिन्छन्, ‘मलाई माया गर्ने कोही भएन, सबैले हेला गरिरहे ।’ यति भनिसक्दा अमृतको आवाज सुक्यो, आँखा रसाउन थाले । 

त्यसको केही वर्षपछि नजिकका दाजुभाइ स्कुल गएको देख्थे अमृत । उनलाई पनि स्कुल जान मन हुन्थ्यो । ‘तर, परिवारले मलाई स्कुल नै पठाएन,’ अमृत विगतमा फर्किए, ‘उहाँहरुले स्कुल जाने कुरा सोच्दा पनि सोच्नु भएन, उल्टै अनेक शब्दहरुले प्रहार गर्नुभयो ।’

अहिले अमृत ती शब्द सम्झन पनि चाहँदैनन् । 

हामी कुराकानी गर्दागर्दै माहोल निःशब्द बन्यो, कोही पनि बोल्न सकेनौँ । केहीबेर रोकिएपछि अमृतले फेरि सानो आवाजमा भने– सबैले मलाई पूर्वजन्मको पाप अहिले देखिएको भन्थे । 

घरको मात्र होइन, अमृतले साथीहरुको पनि साथ पाएनन् । अमृतका साथीहरु प्नि अमृतलाई अनेकथोक भन्थे, सँगै हिँडाउन वा कतै लैजान चाहँदैनथे । 

घरपरिवार, छरछिमेक र साथीभाइ सबैबाट तिरस्कृत थिए, अमृत । ‘सानै थिएँ, केही सोच्न पनि सक्दिनथेँ,’ अमृतले भने । 

यहीबीच अमृतको घरमा अरु छोराछोरीलाई पढाउन एक शिक्षिका ल्याइयो । यो २०३३ सालको कुरा हो । सबैले तिरस्कार गरिरहेको बेला अमृतले ती शिक्षिकाको माया पाए । 

अनि उनको जीवन मोडियो । 

‘म पढ्न चाहने तर नपाइरहेको भएकाले होला, उहाँको आँखामा परेँ,’ अमृतले ती शिक्षिकालाई सम्झिए, एकैछिन रोकिए अनि भने, ‘उहाँ हाम्रो घरमा पढाउन आएपछि मेरो जीवनले नयाँ बाटो समाउन पायो ।’

खासमा ती शिक्षिकाकी दिदी खगेन्द्र नवजीवन अपाङ्ग केन्द्रमा पढाउने रहिछिन् । त्यसैले उनले अमृतको परिवारमा प्रस्ताव राखिन्, ‘अमृतलाई खगेन्द्र नवजीवनमा लैजान्छु म, ऊ त्यहाँ नै बस्छ ।’

यो कुराले अमृतको परिवारमा खुसीयाली छायो । ‘परिवारका लागि म बढार्नु पर्ने कसिङ्गर थिएँ,’ अमृतले १० वर्षको हुँदाको कुरा सम्झिए, ‘परिवारले त सोच्यो होला, हावा आयो उडाएर लग्यो ।’

२०३३ सालमा अमृत पुगे, खगेन्द्र नवजीवन केन्द्र । अनि उनको जीवनले पायो नयाँ जीवन । 

त्यहीँबाट अमृतले एसएलसी दिए । जीवनका अनेक सम्झनायोग्य क्षणहरु बटुले । ‘फेसन डिजाइनिङको कोर्ष पनि मैले त्यहाँ नै गर्न पाएको हुँ,’ उनी भन्छन्, ‘त्यहाँ अरु पनि साथी थिए जो मजस्तै थिए, त्यसले मलाई त्यहाँको माहोल मन पर्यो । संसारलाई बुझ्ने र हेर्ने दृष्टिकोण पनि फराकिलो भयो ।’

कहिले जापानबाट आएको टोलीले दिएको तालिम अमृतले लिए त कहिले अरुहरुले दिएको । तर, एसएलसी सकिएपछि अमृत घर फर्किनु पर्ने भयो । 

‘घरमा चाहिँ पहिलेको माहोला अझै उस्तै थियो,’ अमृतले सम्झिए, ‘त्यति बेला पनि म घरमा आउनु बोझ हुनु हो भन्ने सोच्न थालियो ।’

कतिसम्म भने घरमा उनले पढाइलाई थप अगाडि बढाउँछु भन्दा घरका सदस्यले उनलाई उपमा दिए– पागल ।

घरपरिवारको साथ नपाएपछि अमृतले आफ्ना नजिकका साथीकोमा काम गर्ने योजना बनाए । साथीहरुसँग सल्लाह गरे । खगेन्द्र नवजीवन केन्द्रमा लिएको फेसन डिजाइनिङ, सिलाइबुनाइको कामलाई सदुपयोग गर्ने सोचे । 

अनि सुरु भयो, अमृतको काम । उनले सिलाउन थाले पोशाकहरु । थोरै समयमा नै अमृतले काम गर्ने ठाउँमा राम्रा अर्डर आउन थालिसकेका थिए । ‘फिल्म, अफिस, एयरलाइन्स र अन्य पसलले हामीकहाँ सिलाइको काम दिन थालेका थिए,’ अमृतले भने, ‘काम त भइरहेको थियो । तर, पोलियोका कारण गुमेको मेरो खुट्टाको विषय अझ बढी आउन थाल्यो ।’

काम त थियो, तर सम्मान थिएन । यही सम्मानको कमी भएकाले अमृतले त्यो काम छोडिदिए । ‘सबैले हेप्थे,’ उनले भने, ‘मेरो खुट्टा नहुनुमा मजाक बन्न थालेपछि नरमाइलो महसुस हुन्थ्यो, मैले त्यहाँ काम छोडिदिएँ ।’

अब फेरि घरमै बस्न थाले अमृत । 

अनि फेरि सुरु भयो, परिवारको तिरस्कार । अमृतले यसपटक परिवारलाई भनेका थिए, केही लगानी दिनुस्, म काम गर्छु । 

परिवारले उनलाई जवाफ फर्कायो, ‘यो त बालुवामा पानी हाल्नु सरह हो, हामी केही गर्न सक्दैनौँ ।’

नवजीवनबाट एसएलसी पास गरेर र केही सीप सिकेर फर्किएका अमृतको मन फेरि कुँडिन थाल्यो । 

‘घरमा मलाई पागल, बौलाहाबाहेक अरु केही भन्दैनथे,’ अमृतले फेरि एकपटक अमिलो आवाज गरे, ‘बालुवामा पानी हाल्नु जस्तै ममाथि लगानी गर्नुलाई उनीहरुले लिन थालिसकेका थिए ।’

त्यसपछि अमृतलाई आफ्नै जीवन बोझ लाग्न थाल्यो । घरपरिवारबाट नै साथ नपाएपछि उनी निराश भए । के गर्ने के नगर्ने केही सोच्न सकेनन् । 

‘आफ्नै घरपरिवार त आफूसँग थिएन,’ उनले भने, ‘अरु त कसले पो सहयोग गथ्र्यो होला र ?’

तर, जसरी पनि केही न केही गर्नुपर्छ भन्ने अमृतको मनमा थियो । एक दिन उनले घरमा घुर्की लगाइदिए– मलाई काम गर्न नदिने हो भने म सडकमा जान्छु, मागेर खान थाल्छु । 

यो बाध्यताले जन्माएको अमृतको ‘इमोसनल ब्ल्याकमेलिङ’ थियो । यही जुक्तिले काम पनि गर्यो । उनको परिवारले उनलाई लगानी त होइन, घरकै एउटा कोठा काम गर्नका लागि दिने भयो । 

त्यही कोठामा अमृतले आफ्नो प्रशिक्षण केन्द्र खोले । २०४८ सालमा खोलिएको त्यो प्रशिक्षण केन्द्रको नाम राखे– एआर इन्स्टिच्युट ।

घरले उनलाई कोठा त दिएको थियो तर उनले सिकाउन सक्लान् भनेर सोच्ने कोही भएन । प्रशिक्षण केन्द्र खोलेको पहिलो वर्ष जम्मा एकजना मात्र उनीसँग टेलरिङ तथा डिजाइनिङ सिक्न आइन् । एक वर्ष ती विद्यार्थीलाई सिकाएर अमृतले लिए– ३७ रुपैयाँ । 

त्यसपछि फेरि परिवारले अमृतलाई ‘टर्चर’ दियो । अमृतलाई दिएको कोठा भाडामा दिए केही आम्दानी गर्न सकिने परिवारको निचोड थियो । कोठा खाली गर्नु भन्ने परिवारको कुराले अमृतलाई दुःख त लाग्थ्यो तर उनले आफ्नो आत्मविश्वासलाई गुम्न दिएका थिएनन् । 

उनले परिवारको कुरा मानेनन् । दोस्रो वर्ष उनको प्रशिक्षण केन्द्रमा आउने विद्यार्थीको संख्या बढ्यो । उनलाई सिलाइका लागि कम्तिमा पनि मेसिनको आवश्यकता पर्ने भयो । ‘त्यो पनि घरमा भनेँ,’ उनले सम्झिए, ‘तर, परिवारले त्यसलाई पनि बेवास्ता गर्यो । पहिलेको जस्तै बालुवामा पानी भन्न थाल्यो ।’

तर, उनीकहाँ नै सिक्न आउने एउटा विद्यार्थीको पसलबाट उनले किस्तामा ल्याउन पाए, सिलाइका मेसिन । 

परिवारले अमृतले राम्रो गर्न सक्छ भन्ने सोचेकै थिएनन् । तर, दुई वर्षपछि उनले थालेको कामले निकै राम्रो गर्न थाल्यो । 

‘दुईतीन वर्षपछि विद्यार्थीको चाप बढ्न थालेपछि त मैले घरको कोठा छोडेर नै यो ठाउँमा भाडामा यो स्थान लिएँ,’ अमृत सुनाउँछन्, ‘बीचमा कतिले यसले के सिकाउँछ र भनि पनि रहे, तर ममा विश्वास थियो– आफ्नो कामप्रतिको । त्यसले नै मलाई गाइड गरिरह्यो ।’

अहिले त अमृतकहाँ सिक्न आउने विद्यार्थीको संख्या निकै बढेको छ । कतिले त अमृतसँग समय लिएपछि निकै लामो समय पर्खनु पर्ने पनि हुन्छ ।

यसले अमृतलाई विगत बिर्साइदिएको छ । ‘बरु आफूले सिकाएका विद्यार्थीहरुले गरेको प्रगतिले खुसी बनाउँदो रहेछ,’ उनले भने, ‘अहिले यीनै कुराहरुले खुसी दिन्छ ।’

अब त अमृतको जीवनले एउटा मीठो लय समातिसकेको छ । उनले पैसा राम्रो कमाउन थालेका छन्, नाम बनाउन सकेका छन् । अझ उनलाई लाग्ने खुसीको कुरा त के भने उनले माया गर्ने श्रीमती पाएका छन्, छोरा उच्च अध्ययनका लागि अष्ट्रेलिया पुगेका छन् । 

बरु अमृत अब अर्को ठूलो उद्देश्यमा लागेका छन् । त्यो हो– उनी फेसन डिजाइनिङको कलेज खोल्न चाहन्छन् । र, त्योसँगै आफ्नो नाममा एउटा कोष पनि स्थापना गर्न चाहन्छन् । 

‘मेरो कामले अरुलाई पनि सहयोग पुगोस् भन्ने चाहन्छु,’ उनले भने, ‘अरु कोही अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रशिक्षण निःशुल्क होस् भन्ने पनि चाहन्छु ।’

अमृतले जीवनको ऊर्जाशील समय परिवारबाट साथ पाएनन् । सधैं निराशा र तिरस्कारका कुरा सुन्न परिरह्यो । यी सब उनको जीवनका लागि विष बराबर थियो ।

‘त्यही कुराले मेरो मनमा इख पलाएको हो,’ अमृतले भने, ‘मलाई जसले हेपे, उनीहरुलाई धन्यवाद, म अहिले यो ठाउँमा आउन उनीहरुकै कारणले सकेको हो ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्