अनुपम खेरलाई किन मिलिरहेको छैन हिन्दी फिल्म ?

एजेन्सी– बलिउडमा कुनै समय निकै राम्रो अभिनयका कारण चर्चामा थिए, अनुपम खेर । पद्म भुषणसमेत पाएका यी अभिनेताले पाँच सयभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । 

बलिउडदेखि हलिउडसम्मका फिल्ममा काम गरेका यी अभिनेता अहिले चाहिँ ‘खाली’ छन् । उनलाई पछिल्लो समय बलिउडका फिल्महरुको अफर आउन छाडेको छ । 

उनको पछिल्लो फिल्म वन डे जस्टिस डेलिभर्ड शुक्रबार रिलिज भयो । यसमा उनी न्यायाधीशको भूमिकामा छन् । फिल्ममा इशा गुप्ता लिड रोलमा छिन् । 

पछिल्लो समय अनुपमले राजनीतिमा पनि निकै चासो देखाएका छन् । उनले भारतीय जनता पार्टीको खुलेर समर्थन गरेका छन् । 

र, यही राजनीतिक आस्थाका कारण आफूलाई बलिउडबाट अलग्याउन खोजिएको उनी स्वयं मान्छन् । अनुपमले बिबिसीको हिन्दी संस्करणसँग कुरा गर्दै भनेका छन्, ‘खासमा मलाई धेरै भए काम दिने छैनन् । म ९९.९ प्रतिशत मानिसहरुबीच लोकप्रिय छु, ०.०१ प्रतिशत मानिसहरुले मलाई हेप्दैमा केही हुँदैन ।’

यतिमात्र होइन, अनुपमले भनेका छन्, ‘म यहाँ काम नगर्दा पनि केही फरक पर्दैन, म त हलिउडका १० प्रभावशाली नामको सूचीमा परिसकेको छु ।’



केही अघि भारतमा भएको लोकसभा निर्वाचनअघि अनुपम खेर ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’मा देखिएका थिए । यो फिल्म पूर्वप्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा नै बनाइएको थियो । यो फिल्ममा काम गरेपछि अनुपमको झन् बढी आलोचना गर्न थालियो । तर, उनी स्वयं चाहिँ यस्ता फिल्म राजनीतिक अजेन्डामा आधारित भएको मान्न तयार छैनन् । 

बलिउड फिल्मी उद्योगमा ३५ वर्ष पूरा गरिसकेका ६५ वर्षका अनुपम खेरले राम्रा फिल्महरुमा पनि काम गरेका छन् । अहिले अमेरिकी सिरिजमा काम गरिरहेका अनुपम बलिउडका फिल्मको अफर नआउनुलाई आफ्नो करिअरमा आएको छोटो छुट्टी मान्छन् ।



  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार ११:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया