१२ वर्षपछि ब्राजिलले उचाल्याे कोपा अमेरिकाको उपाधि

काठमाडौं– ४६औँ कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । दक्षिण अमेरिकी राष्ट्रहरुको पुरानो र प्रतिष्ठत फुटबल प्रतियोगिता कोपा अमेरिकाको आज राति रियो द जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा आयोजक ब्राजिलले पेरुलाई ३–१ ले पन्छाउँदै उपाधि हात पार्यो ।

१२ वर्षपछि ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको हो । ब्राजिलका लागि सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । पेरुका तर्फबाट एक गोल पाउलो गुइरेरोले फर्काए ।

१५औँ मिनेटमै सोरेसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा पेरुले गोल फर्काएपछि भने खेल प्रतिस्पर्धात्मक देखियो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गरेका थिए । तर, पहिलो हाफमै ब्राजिलले दोस्रो गोल गर्दै अग्रता बनायो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गरे ।

७०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै जिसस बाहिरिएपछि ब्राजिल १० खेलाडीमा खुम्चियो । तथापि, उसको लय भने खासै बिग्रिएन । ९०औँ मिनेटमा ब्राजिलले तस्रो गोल गर्यो । पेनाल्टीबाट रिचार्लिसनले गरेको गोलसँगै ब्राजिल ३–१ ले विजयी भयो । 

कोपा अमेरिकामा ब्राजिलको यो नवौँ जित हो । यसअघि, सन् २००७ मा ब्राजिलले आफ्नो आठौँ जित दर्ज गरेको थियो । कोपा अमेरिकामा ब्राजिल उरुग्वे र अर्जेन्टिनापछि तेस्रो सर्वाधिक उपाधि विजेता राष्ट्र हो । कोपा अमेरिकाको ४६ सिजन सकिँदा उरुग्वेले १५ पटक र अर्जेन्टिनाले १४ पटक उपाधि उचालेका छन् । यसअघिका दुई सिजन भने लगातार चिलीले जितेको थियो । 





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार ७:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया