दक्षिणपन्थी दलमा फर्कियो ग्रिसको सत्ता, न्यु डेमोक्रेसीलाई बहुमत

एथेन्स– ग्रिसको सत्ता फेरि दक्षिणपन्थी (सेन्टर–राइट) दल न्यु डेमोक्रेसीको हातमा जाँदै छ । भर्खरै सम्पन्न आम निर्वाचनबाट विपक्षी दल न्यु डेमोक्रेसी बहुमतसहित सत्तामा पुग्ने देखिएको हो । 

सबै जिल्लाको मतपरिणाम नआउँदै प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्ना प्रतिद्वन्द्वी किरियाकोस मित्सोताकिससँग हार स्विकारेका छन् । 

८८ प्रतिशत जिल्लाको मतपरिणाम आउँदा मित्सोताकिसको दल न्यु डेमोक्रेसीले ३९.८ प्रतिशत मत पाएको छ । प्रधानमन्त्री सिप्रासको सत्तारुढ वामपन्थी दल सिरिजा ३१.६ प्रतिशत भोट पाएर दोस्रो स्थानमा पुगेको छ । 

अहिलेको प्रक्षेपणले विपक्षी दल न्यु डेमोक्रेसीलाई स्पष्ट बहुमत मिल्ने देखाएको छ । किनकि, ग्रिसमा विजेता दलले संसद्मा ५० थप सिट पाउने व्यवस्था छ । 

न्यु डेमाेक्रेसीका नेता मित्सोताकिसले परिवर्तनका लागि आफूलाई बलियो म्यान्डेट दिइएको बताएका छन् । ‘देशले फेरि गर्वका साथ शिर उठाएको छ,’ राजधानी एथेन्समा विजयोत्सव मनाउन भेला भएका समर्थकमाझ उनले भने । हजारौँ समर्थकको भिडलाई सम्बोधन गर्दै उनले ‘विभाजित भएर बस्न ग्रिकहरु निकै कम भएकाले’ आफू सबैको साझा राष्ट्रपति बन्ने बताए । 

सन् २००८ ताका चरम आर्थिक मन्दी व्यहोरेको ग्रिस अझै त्यसको असरबाट मुक्त हुन सकेको छैन । नव–विजेता दल न्यु डेमोक्रेसीले करहरु घटाउने र सेवाहरुलाई निजीकरण गर्ने वाचा गरेको छ । पछिल्लो दशक विभिन्न अन्तर्राष्ट्रिय अनुदानका कार्यक्रमहरुमाथि गुजारा गर्दै आएको ग्रिसले विस्तारै अर्थतन्त्रमा सुधार गर्दै गत अगस्टमा आफूलाई अब कुनै सहयोग नचाहिने घोषणा गरेको थियो । 



चुलिँदै गएको युवा बेरोजगारीका बीच न्यु डेमोक्रेसीले रोजगारीको आश्वासनमा १८ देखि २४ वर्षका युवाको व्यापक समर्थन बटुलेको थियो । 

सन् २०१२ को मेमा भएको निर्वाचनमा न्यु डेमोक्रेसी सबैभन्दा ठूलो दल बनेको थियो । तर, उसले सरकार बनाउन भने सकेको थिएन ।



कुनै पनि दलले सरकार बनाउन नसकेपछि अर्को महिना फेरि निर्वाचन गरियो । यसपटक न्यु डेमोक्रेसी अझ धेरै सिट पाएर ठूलो दल बन्यो, र वामपन्थीसहित विभिन्न दलको सहयोगमा न्यु डेमोक्रेसीका तत्कालीन नेता एन्टोनिस समरस गठबन्धन सरकारका प्रधानमन्त्री भए ।

सन् २०१४ मा संसद्ले नयाँ राष्ट्रपति चुन्न नसकेपछि संसद् भंग गरियो, र जनवरी २०१५ मा संसदीय निर्वाचन भयो । यो निर्वाचनबाट अहिलेको सत्तारुढ दल सिरिजा पहिलो पार्टी बन्यो । न्यु डेमोक्रेसीको हातबाट सत्ता फुत्कियो ।

साढे ४ वर्षपछि दक्षिणपन्थी दल न्यु डेमोक्रेसी बहुमतका साथ सत्तामा फर्किएको छ ।


  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार ९:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया