काठमाडौं– राष्ट्रिय सभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो ।
यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ । दुवै सदनबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ ।
यसअघि सांसद अनिता देवकोटा, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशजंग रायमाझीले प्रस्तुत गरेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।
बैठकले अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौँ) विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही असार २४ गते मंगलबार ४ बजे बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।