तरकारीमा विषादी प्रकरण
मन्त्री यादवलाई आफ्नै पार्टीका गजुरेलको प्रश्न– आफू ठीक ढंगले चल्न नसक्ने कर्मचारीलाई दोष दिने ?

काठमाडौं– सरकार र यसका मन्त्रीहरू देशको विकास हुन नसक्नुको मुख्य दोष कर्मचारीलाई दिन्छन् । काम राम्रो भए आफू जस लिने, नराम्रो भएको खण्डमा अर्कालाई दोष लगाउने यो पुरानै परम्परा हो ।

स्थायी सरकारको संज्ञा पाएको कर्म प्रशासनमा सुधार भए मात्रै मुलुकमा विकासको लहर आउनेमा धेरैको विश्वास छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै वेला मुलुक विकासको बाधक कर्मचारी भएको बताएका थिए । नेता तथा मन्त्रीहरू कुनै काम सफलतापूर्वक सम्पन्न भए त्यसको अपनत्व आफूले लिने र असफल भए कर्मचारीमाथि दोष थुपार्ने गर्छन् । 

सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पत्रकार सम्मेलन गरेर नै सचिवहरूमाथि आरोप लगाए । उनले नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरू जिम्मेवार आरोप लगाए । 

पत्रकार सम्मेलनमै मन्त्री यादवले सचिवहरूको भर पर्दा आफू डुबेको बताए । यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने वेला मलाई गुमराहमा राखे ।’

भारतबाट आयात गरिने फलफूल तथा तरकारीमा विषादी प्रयोग भएको र परीक्षण नगरी नेपाल भित्र्याइएको भन्दै यसको सर्वत्र विरोध भएको छ । मन्त्रिपरिषद्को बैठक नै बसेर तरकारी तथा फलफूलमा भएको विषादीको परीक्षण नगर्ने निर्णय गरेपछि सरकारको चर्को आलोचना भएको छ । 
 
यसअघि सरकारले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरी नेपाल प्रवेश नगराउने निर्णय गरेको थियो । सोलगत्तै भारतबाट तरकारी तथा फलफूल लिएर आउने ट्रक लामो समय सीमानाकामा रोकिएका थिए । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण विवादमा सरकार तटस्थ बस्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विषादी परीक्षणका सम्बन्धमा तटस्थ बस्ने निर्णय गरेको हो ।



मन्त्री र नेताले गरेको गलत कामको ढाकछोप नगर्दा सचिवहरूमाथि यस्तो लारोप लाग्ने गरेको नेपाल सरकारका एक सचिवले बताए । ‘काम बिगार्ने मन्त्री र नेता हुन् । उहाँहरूले गरेको कामको जिम्मेवारी हामीले कसरी लिने ?’ फरकधारसँग कुरा गर्दै ती सचिवले भने, ‘गलत कामको जिम्मेवारी हामी लिन सक्दैनौँ । हामीमाथि लगाइएका आरोप गलत हुन् ।’

यस सम्बन्धमा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले कर्मचारीको पक्षमा बोलेका छन् । उनले फरकधारसँग कुरा गर्दै कोही कसैले पनि कर्मचारीमाथि सार्वजनिक रूपमा बोल्न नहुने बताए । उनले भने, ‘आन्तरिक रूपमा छलफल गर्ने एउटा कुरा हो, सार्वजनिक रूपमा सचिवहरूमाथि बोल्नु त्यो नैतिक हुँदैन ।’ 



आफ्नै पार्टीबाट मन्त्री भएका यादवले बोल्दा ढंग नपुर्याएको गजुरेलको टिप्पणी छ । ‘विभिन्न कमजोरी भएका छन् । नैतिक रूपमा म जिम्मेवारी लिन्छु’ भनेर भन्नुपथ्र्यो,’ गजुरेलले भने, ‘नाम तोक्न हुँदैनथ्यो । उहाँ (आपूर्तिमन्त्री)ले नाम तोकेर यी–यी सचिवले भन्ने, एउटा सचिवले अर्को सचिवलाई दोष दिने गर्नु राम्रो होइन ।’

गजुरेलले मुलुकको विकास नहुनुमा नेताहरू नै दोषी रहेको बताए । उनले नेताहरू ठीक ढंगले चल्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘पक्ष–प्रतिपक्ष ठीक ढंगले चल्नुपर्यो । मन्त्री, सांसद्, प्रधानमन्त्री ठिक ढंगले चल्नुपर्यो । आफैँ ठीक ढंगले काम नगर्ने अनि कर्मचारीलाई दोष दिएर उम्किन खोज्नु गलत भएको उनको भनाइ थियो । 

राजनीतिक नेतृत्वका कारण कर्मचारीको साख गिर्दै गएको पूर्वसचिव श्रीकान्त रेग्मी बताउँछन् । मन्त्रीले कर्मचारीलाई जसरी परिचालित गर्यो कर्मचारी त्यसैगरी परिचालिने हुने बताउँदै उनले अहिले फलफूल तथा तरकारीमा देखिएको विषादी विवादको मुख्य दोष कर्मचारी नभएर मन्त्री भएको बताए । 

उनले भने, ‘राजनीतिक नेतृत्वलाई सहयोग पुर्याउने कर्मचारी हुन् । मन्त्रीको कार्यसम्पादनमा कर्मचारीले सहयोग पुर्याउने हो । मन्त्रीले कर्मचारीतन्त्रलाई जसरी परिचालित गर्न चाह्यो त्यसरी नै परिचालित हुन्छ ।’

निजामतीका मूल्यमान्यतालाई आत्मसात् गर्दै कर्मचारीले आफ्नो घेरा नाघ्न नहुने रेग्मीले फरकधारसँगको कुराकानीमा बताए । निजामती कर्मचारीमा विवाद आइरहने भएकाले कर्मचारीले ऐन, नियम, र प्रक्रियामा काम गर्नुपर्ने रेग्मीको सुझाब छ । 

उनले भने, ‘निजामती कर्मचारीका लागि ऐन, नियम छ । कर्मचारीले विभिन्न निकायसँग सतर्क भएर, ऐन, नियम र प्रक्रियाको ख्याल गरेर काम गर्नुपर्ने हुन्छ ।’

देश बनाउने भिजन नेताहरूमा नभएका कारण त्यसको दोष कर्मचारीलाई थुपार्ने गरेको रेग्मीको टिप्पणी छ । व्यक्तिगत स्वर्थका लागि मात्रै कार्यसम्पादन गर्ने नेताहरूले कर्मचारीतन्त्रले देश बिगार्यो भन्नु गलत सोच भएको बताए । 

उनले भने, ‘नेतृत्वमा मुलुक बनाउने भिजन भएन । सबैजसो नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई दृष्टिगत गरेर कार्य सम्पादन गर्दै आएको सञ्चारमाध्ययमबाट छरपष्ट भएको छ । दृष्टिकोण नेतृत्वले दिनुपर्छ । नेतृत्वले भिजन र दृष्टिकोण दिनुपर्यो । त्यसपछि कर्मचारीतन्त्रलाई हाक्न सक्ने खुबी पनि हुनुपर्यो ।’ 

कुशल, सुयोग्य, इमान्दार नेतृत्व राजनीतिले पाउन नसकेकोप्रति दुःख व्यक्त गर्दै रेग्मीले सोही कारण मुलुकको विकास नभएको बताए । उनले मुलुको अवस्था जस्ताको तस्तै रहनु दुर्भाग्यपूर्ण भएको बताए । 

  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार १६:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया