प्रहरी महानिरीक्षकद्वारा भोजपुर गोलीकाण्डबारे जानकारी

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन्  । बुधबार बिहान बसेको बैठकमा कांंग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला संग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।

उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि सो घटना भएको हो । ‘प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राईलाई पनि गोली लाग्न पुग्यो,’ उनले भने । 

गोली लागेका दुवैजनालाई उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए ।  

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुईजना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ । 

उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । उक्त समूहका अन्य चार–पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार १७:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया