Mon, 22 Jul, 2019


शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको उपचारका क्रममा मृत्यु
फरकधार / असार २५, २०७६

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बालविद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।



‘यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो,’ प्रहरी निरीक्षक भट्टले भने, ‘त्यो वेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।’

प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मंगलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । ‘शव भारतबाट आइसकेपछि परीक्षणलगायत प्रक्रिया अघि बढ्छ,’, भट्टले भने, ‘पीडित पक्षको जाहेरीका आधारमा कारबाही अघि बढ्छ ।’

प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ । मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । 

कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्