काठमाडौं– बिहिबार रातिदेखि परेको वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । काठमाडौंको मूलपानीमा पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देशभर ११ जनाको मृत्यु भएको छ ।
निरन्तर वर्षाका कारण काठमाडौंमा कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, भक्तपुर, सानेपालगायतका ठाउँमा सवारी चलाउन समेत मिलेको छैन ।
बाटोमा पानी जमेपछि र नदी तथा खोलानालामा पानीको बहाव बढेर सडकमा पसेपछि पैदलयात्रीहरुलाई समेत अप्ठ्यारोमा परेको छ । कतिपय ठाउँमा घरहरु भित्र पानी पसेको छ ।
शनिबार पनि निरन्तर वर्षा हुने सम्भावना भएकाले प्रहरीले काठमाडौंबासीलाई अलर्टमा रहन अनुरोध गरेको छ ।
बाग्मती तथा विष्णुमती नदीमा पानीको सतह बढेको छ, अन्य साना खोल्साहरुमा पानीको सतह बढेकाले वरपरका बस्तीमा पानी पसेको छ । यसले गर्दा तटीय क्षेत्रमा बस्ने बासिन्दा त्रसित बनेका छन् ।
प्रहरीले यस्तो अवस्थामा सुरक्षित स्थानमा जान त्यस क्षेत्रका मानिसहरुलाई अनुरोध गरेको छ । काठमाडौं महानगरीय प्रहरीका अनुसार विभिन्न ठाउँमा प्रहरी परिचालन पनि गरिएको छ । नदीको छेउछाउमा बस्नेहरुलाई सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले पानी जमेको बाटोमा सवारी साधन नचलाएर वैकल्पिक बाटोहरु प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।