सोमालियाको होटलमा आतंककारी हमला, २६ को मृत्यु, ५६ घाइते

मोगादिसु– दक्षिणी सोमालियाको एक होटलमा आतंकवादी संगठन अल सबाबले गरेको हमलामा १० विदेशीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । आत्मघाती विस्फोट तथा बन्दुक हमलामा परी ५६ भन्दा बढी घाइते भएका छन् । 

मृत्यु हुनेमा केन्याका ३, क्यानडाका १, बेलायतका १, अमेरिकाका २ र तान्जानियाका ३ नागरिक छन् । २ चिनियाँ नागरिक घाइते छन् । 

सोमालियाका सुरक्षा अधिकारी मोहम्मद अब्दिबेलीले हमलामा ४ बन्दुकधारी सामेल भएको अनुमान गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् । 

ज्यान गुमाउनेमा साेमाली मूलकी क्यानडेली पत्रकार तथा प्रतिष्ठित सामाजिक कार्यकर्ता हाेलन नलया, उनका पति र एक स्थानीय पत्रकार  पनि रहेका प्रत्यक्षदर्शीले बताएका छन् । सोमाली पत्रकार संघ एसजेएसले पनि पत्रकारको मृत्यु भएको पुष्टि गरेको छ । 

रिपोर्टअनुसार, आगामी क्षेत्रीय निर्वाचनका सन्दर्भमा होटलमा थुप्रै नेता तथा कारोबारीको जमघट थियो ।  

अधिकारीहरुले बताएअनुसार आत्मघाती हमलाकारीले किसमायो सहरको लोकप्रिय होटल मेदिनामा शुक्रबार विस्फोटक पदार्थले भरिएको गाडी घुसाएका थिए । त्यसलगत्तै, केही बन्दुकधारी अन्धाधुन्ध गोली चलाउँदै होटलमा छिरेका थिए । 



अलकायदानिकट आतंकवादी समूह अल सबाबले हमलाको जिम्मेवारी लिएको छ । यो समूहले यसअघि पनि थुप्रै आतंकवादी हमला गराइसकेको छ । 



  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १९:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया