कर्मचारीको दुर्व्यवहार पहिल्याउन दुई महिनासम्म अपांग भेषमा सरकारी कार्यालय डुले मेयर

मेक्सिको– मोक्सिकोको कुयाटेमोक सहरका अधिकारीहरुबाट अपांगता भएका सेवाग्राहीमाथि दुर्व्यवहार हुने गरेका गुनासा मेयरसामु पुगे । यस्ता थुप्रै गुनासा आएपछि मेयर कार्लोस टेनाले यसबारे आफैँ निरीक्षण गरेर आवश्यक कदम उठाउने निधो गरे । निरीक्षणका लागि उनले अनौठो तरिका अपनाए । 

मेयर कार्लोस दुई महिनासम्म अपांग भेषमा विभिन्न कार्यालय डुले । ६० दिनमा उनले सहरका हर विभाग चहारे । यस दौरान उनी आफैँ अपमानित भए, कैयौँपटक दुर्व्यवहारमा परे । 

दुई महिनापछि कार्लोसले सबै अधिकारीलाई बोलाएर उनीहरुको कार्यशैलीको निन्दा गरे । आइन्दा अपांगता भएकाहरुसँग सम्मानजनक व्यवहार गर्ने वाचा गराएर पठाए । 

अपांग स्वरुपमा विभागहरु घुम्दा उनी कहिले कालो चस्मा लगाउँथे, कहिले ह्याट पहिरिन्थे, कहिले कानमा ब्यान्डेज बाँधेर घुम्थे । कहिले कुनै कामको बहानामा थाेत्राे स्वेटर लगाएर जान्थे । कतिपटक त उनले कर्मचारीसँग खाना पनि मागे । 

अधिकांश अधिकारीले उनीमाथि भेदभाव गरे । थोरैले मात्र इमानदारीसाथ काम गरे । 

सबैजसो सरकारी कार्यालयको भ्रमणपछि कार्लोस आफ्नै कार्यालय गए । त्यहाँ मानिसहरु भन्दै थिए, ‘मेयर छैनन्, आज काम हुँदैन ।’



ह्विलचेयरमा गएका मेयर कार्लोस सिटी काउन्सिलका सचिवलाई भेट्न गए । सचिवले मेयर आधा घन्टापछि आउने भन्दै पर्खन भने । जब कि, उनको काम गर्न मेयरसम्म पुग्नै पर्दैनथ्यो । उनले बुझे कि त्यहाँका कर्मचारीहरु यस्तै बहाना बनाएर सेवाग्राहीलाई झुलाउँदा रहेछन् । 

कर्मचारीहरुको बहानाका बीच मेयर कार्लोस ह्विलचेयरबाट उठे । मेयरलाई चिनेर सबै कर्मचारी अत्तालिए । सबै विभागका अधिकारीलाई बोलाएर उनले चेतावनी दिए– आइन्दा सेवाग्राहीमाथि यस्तो व्यवहार भए नतिजा गम्भीर हुनेछ । 



निरीक्षणको उद्देश्यबारे मेयर कार्लोस भन्छन्, 'मेरो एक्सपेरिमेन्टको उद्देश्य आम मानिसले दैनिक भोग्ने गरेका मुस्किलहरुको अनुभव गर्नु थियो । मलाई थाहा थिएन, जनताको गुनासामाथि भरोसा गरौँ कि आफ्ना सहकर्मीहरुमाथि । म लामो समयदेखि अपांगता भएकाहरुलाई उनीहरुको हक दिलाउने लागेको छु । आशा गर्छु, आइन्दा उनीहरुले गुनासो गर्नुपर्नेछैन ।'

  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार २०:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया