कांग्रेस–राजपा कार्यगत एकता मात्र कि पार्टी एकताकै तयारी ?

काठमाडौं– संविधान संशोधन गर्ने सर्तमा ओली सरकारलाई समर्थन दिएको मधेसको बलियो शक्ति राजपाले संशोधन नभएपछि समर्थन फिर्ता लियो । अहिले आएर संविधान संशोधन तथा समसामयिक गतिविधिलाई केन्द्रमा राख्दै राजपाले नेपाली कांग्रेससँग कार्यगत एकता गरेको छ । सत्ता–प्रतिपक्ष ध्रुवीकरण बढ्दै गएका बेला भएको कांग्रेस–राजपा कार्यगत एकतालाई यी दुईबीच पार्टी एकताको संकेतका रुपमा विश्लेषण गर्न थालिएको छ । तर, के साँच्चै यी दुई दल एकताको दिशामा अघि बढ्दै छन् त ? 

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच २०७४ असोज ३० गते पार्टी एकता भयो । दशकअघि कांग्रेस छाडेर मधेसवादी राजनीतिमा लागेका लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छेदार एकतामार्फत पुरानै पार्टीमा फर्किए । कतिपयले गच्छेदारले क्षेत्रीय राजनीतिबाट माथि उठेर राष्ट्रिय राजनीति रोजेको विश्लेषण गरे । पार्टी कमजोर बन्दै गएकाले गच्छेदारले ‘सेफल्यान्डिङ’का लागि कांग्रेसमा विलय गराए भन्ने पनि चर्चा भयो । 

गच्छेदार मात्र होइन, मधेसको बलियो शक्ति उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमले डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता गरेर देशभर फैलने नीति लियो । उसो त, उपेन्द्र यादवले ४ वर्षअघि नै अशोक राईको संघीय समाजवादी पार्टीसँग एकता गरेर सांकेतिक रुपमा आफूलाई मधेसबाहिर विस्तार गरिसकेका थिए । 

पछिल्लो समय जाति/क्षेत्र केन्द्रित राजनीतिको क्रेज घटेको छ । त्यसैले पनि होला, २०६३–६४ को मधेस आन्दोलनबाट उदाएका क्षेत्रीय दलहरु अब राष्ट्रिय रुपमा विस्तारित हुन खोजेका देखिन्छन् । 

लामो समयदेखि संविधान संशोधनको मुद्दा लिएर मधेसवादी दलहरू एकस्वरमा कराइरहेछन् । तर, संविधान संशोधन भने भएको छैन । यो मुद्दालाई निष्कर्षमा पुर्याउन पनि यतिखेर उनीहरुलाई बलियो राष्ट्रिय दलको साथ चाहिएको छ । यस्तोमा सबैभन्दा बलियो साथ दिन सक्ने भनेको कांग्रेसले नै हो । 

यसै पनि मधेसवादी दलहरू कम्युनिस्टलाई भन्दा कांग्रेसलाई विश्वास गर्ने विश्लेषकहरू बताउँछन् । उसो त, धेरैजसो मधेसवादी नेता कांग्रेसकै उत्पादन हुन् ।राजेन्द्र महतो, महन्थ ठाकुर, विजयकुमार गच्छेदार, शरदसिंह भण्डारी, राजकिशोर यादवलगायत नेताहरूको राजनीतिक पृष्ठभूमि कांग्रेस नै हो । उपेन्द्र यादव भने कम्युनिस्ट पृष्ठभूमिका हुन् । 



यतिखेर कांग्रेसले पनि मधेसवादी दलको साथ खोजेको हुनुपर्छ । मधेसलाई कांग्रेसको पकडक्षेत्र मानिन्छ, तर पछिल्ला निर्वाचनहरुमा कांग्रेसले मधेसमा अपेक्षित नतिजा ल्याउन सकिरहेको छैन । यस्तोमा मधेसमा आफ्नो गुमेको साख फर्काउन कांग्रेसलाई बलियो मधेस केन्द्रित शक्तिको साथ आवश्यक छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको एकतापछि अलमलिएको राजपालाई आफूमा समाहित गर्न सके मधेसको जनाधार फर्काउन उसलाई ठूलै सहयोग मिल्नेछ । 

पछिल्लो समय राजपा सत्तारूढ नेकपाबाहेक अन्य कुनै पार्टीसँग ध्रुवीकृत हुन खोजेको देखिन्छ । कांग्रेससँग कार्यगत एकता गरेको राजपा समाजवादी पार्टी नेपालसँग पनि संवाद गरिरहेको छ । 



समाजवादी पार्टी बन्नुअघि नयाँ शक्ति, संघीय समाजवादी फोरम र राजपाबीच पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको थियो । त्यतिखेर राजपासँग वार्ताको ढोका खुला राखेर नयाँ शक्ति र फोरमले पार्टी एकता गरे । समाजवादी स्रोतका अनुसार समाजवादी र राजपाबीच पार्टी एकताबारे अहिले पनि कुराकानी भइरहेको छ । 

राजपाले कांग्रेससँग कार्यगत एकता गरेपछि सरकारविरुद्ध शक्तिशाली प्रतिपक्ष खडा भएको छ । त्यसो त, सरकारमै बसेर पनि समाजवादी पार्टी प्रतिपक्षी भूमिकामा छ । यी दलबीच आंशिक वा पूर्ण एकता हुँदा संविधान संशोधनको अभिष्ट पूरा हुने आधार बलियो हुन्छ, र गैरवाम ध्रुवीकरण बलियो हुन्छ । कांग्रेसका लागि मधेसमा जनाधार फर्काउने र राजपा, समाजवादीका लागि आफ्नो मुद्दा स्थापित गरेर वर्चश्व बढाउने आधार बन्छ ।  

कांग्रेस नेताहरू लोकतन्त्र पक्षधर पार्टीहरूसँग एकता गरेर आगामी निर्वाचनमा गुमेको साख फर्काउने योजनामा पार्टी रहेको बताउँछन् । लोकतान्त्रिक पार्टीहरू एक भए लोकतन्त्र बलियो हुने कांग्रेसको बुझाइ छ । वामपन्थी दलले लोकतन्त्रबाट विचलित हुने गरी गरेको ध्रुवीकरणपछि नै कांग्रेसको नेतृत्वमा लोकतन्त्र पक्षधर पार्टीहरू समाहित हुनुपर्ने अवस्था आएको कांग्रेसका एक केन्द्रीय नेताले फरकधारलाई बताएका छन् । 

राजपा अध्यक्ष मण्डलका सदस्य रोजेन्द्र महतो भने कांग्रेससँग पार्टी एकताको सम्भावनालाई नकार्छन् । कांग्रेससँग सरकारका विरुद्ध कार्यगत एकता भएको, तर पार्टी एकता नहुने उनी बताउँछन् । 

फरकधारसँगको कुराकानीमा उनले भनेका छन्, ‘केपी शर्मा ओली सरकारविरुद्ध कार्यगत एकता मात्रै भएको हो । पार्टी एकता हुँदैन ।’ 

समाजवादी पार्टीसँग भने एकता गर्न सकिने महतो बताउँछन् । त्यसका लागि छलफल भइरहेको बताउँदै उनी भन्छन्, ‘हाम्रा एजेन्डामा उहाँहरू (समाजवादी) सहमत हुनुहुन्छ भने एकता गर्न सकिन्छ ।’ 

राजपाका अर्का नेता राजकिशोर यादव पनि कांग्रेससँग पार्टी एकता नहुने बताउँछन् । ‘पार्टी एकता हुँदैन । आधार पनि छैन,’ यादव भन्छन्, ‘सदनभित्र मुद्दाको आधारमा हामीले कार्यगत एकता गरेका हौँ ।’

मधेस मामिला विज्ञ काशिन्द्रप्रसाद यादव पनि कांग्रेस र राजपाबीच तत्काल पार्टी एकता नहुने विश्लेषण गर्छन् । सबै दलले अस्तित्व खोजिरहेका बेला राजपाले कांग्रेस र समाजवादीसँग आगामी चुनावसम्म एकता गर्ने यादवको विश्लेषण छ । 

‘राजपा लोकतन्त्र र पृष्ठभूमिको सवालमा कांग्रेससँग नजिक छ,’ विश्लेषक यादव भन्छन्, ‘राजपाले एजेन्डा रूपान्तरण गर्न सकेको छैन । मधेससँग उसको भावनात्मक सम्बन्ध छ । भानानात्मक रूपमा मधेससँग उभिएका कारण कांग्रेसैसँग अहिल्यै पार्टी एकता गर्न भने सक्दैन ।’ 

तर, समाजवादी पार्टीसँग एकता नभए आगामी निर्वाचनसम्म राजपा–कांग्रेस एकता हुन सक्ने यादवको विश्लेषण छ । ‘अस्तित्वको संकटबाट गुज्रिरहेका दलहरूलाई भोटको राजनीतिमा भूमिका खेल्नुपर्ने हुन्छ,’ यादव भन्छन्, ‘समाजवादीसँग एकीकरण भएन भने कांग्रेससँग आगामी चुनावसम्म पार्टी एकता गर्न सक्छन् । तत्कालै त कांग्रेस–राजपा एकीकरण हुँदैन ।’

  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार १९:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया