आइसिसी विश्वकप ‘टिम अफ द टुर्नामेन्ट’ : कप्तान केन विलियम्सन, ओडिआई विश्व नम्बर १ विराट कोहली टिममा परेनन्

लन्डन– इंग्ल्यान्डमा विश्वकप २०१९ सम्पन्न भएको भोलिपल्ट आइसिसीले आफ्नो विश्वकप टिम चयन गरेको छ । हरेक विश्वकपपछि विश्वकप अवधिभर सबैभन्दा राम्रो प्रदर्शन गर्ने ११ खेलाडी सम्मिलित ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गर्ने चलन छ । 

आइसिसीले आफ्नो टिममा न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई कप्तान चुनेको छ । विलियम्सन नेतृत्वको टिममा सबैभन्दा धेरै ४ खेलाडी इंग्ल्यान्डका छन् । प्लेइङ–११ मा न्युजिल्यान्डका २, भारतका २, अस्ट्रेलियाका २ र बंगलादेशका १ खेलाडी छन् । १२औँ खेलाडीका रुपमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले टिममा ठाउँ पाएका छन् । 

हिजो सम्पन्न फाइनल खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित ५० ओभरको खेलमा दुवै टिमले समान २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पनि दुवै टिमले समान १५ बनाएपछि धेरै बाउन्ड्री (चौका र छक्का) प्रहार गरेको आधारमा इंग्ल्यान्डलाई विजेता घोषणा गरिएको थियो । 

विश्वकपमा ५ शतकसहित सर्वाधिक ६४८ रन बनाएका भारतका रोहित शर्मा आइसिसीको ‘टिम अफ द टुर्नामेन्ट’को शीर्षस्थानमा छन् । चोटका कारण केही खेल गुमाउनुका बाबजुद ११५.३६ स्ट्राइक रेटमा ४४३ रन बनाएका इंग्ल्यान्डका जेसन रोय दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा कप्तान विलियम्सन छन् । विलियम्सनले यो विश्वकपमा ५७८ रन जोड्दै कप्तानका रुपमा एकै विश्वकपमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए । 

चौथो नम्बरमा बंगलादेशका सकिब उल हसन छन् । उनी यो टिममा पर्ने एक्ला स्पिनर हुन् । टिममा ४ फास्ट बलर छन् । 



आइसिसीको एवदिवसीय वरीयतामा शीर्षस्थानमा रहेका भारतका कप्तान विराट कोहली भने यो टिममा परेनन् । यो विश्कपमा विराटले लगातार ५ अर्धशतक हान्दै ४४२ रन बनाएका थिए । तर, उनलाई शतकीय सफलता भने मिलेको थिएन । 



  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १९:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया