के गर्दै छन् विद्यार्थी संगठन ?

काठमाडाैं– त्रिभुवन विश्वविद्यालयले आन्तरिक कारण देखाउँदै स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन पटक–पटक मिति तोकेर पनि गरेन । यसअघि त्रिविले गत वैशाखका लागि निर्वाचनको मिति तोकेको थियो । 

सोहीअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी, अनेरास्ववियु र नयाँ शक्ति तथा संघीय समाजवादी फोरमका विद्यार्थी संगठनहरू निर्वाचनको तयारीमा थिए । तर, तोकिएको मितिमा निर्वाचन भएन । आफूहरू निर्वाचनको तयारीमा रहे पनि सरकारले निर्वाचन गराउन नसकेको आरोप विद्यार्थी संगठनहरूको छ । 

पूर्वनयाँ शक्ति र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भएर समाजवादी पार्टी बनेसँगै यसमा विभिन्न भ्रातृसंगठन पनि एक हुने क्रम जारी छ । पूर्वनयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले आफू पार्टीकै काममा व्यस्त रहेको बताए । 

विद्यार्थी संगठन एकताकै लागि व्यस्त भएको अध्यक्ष गौतमले फरकधारलाई जानकारी दिए । यसबाहेक त्रिविको भ्रष्टाचार काण्डबारे १२ विद्यार्थी संगठनमा कुरा उठेको उनले बताए । 

उनले भने, ‘त्रिविमा सर्टिफिकेट किनबेच भएको घटना बाहिर आयो । यो सबैका लागि लज्जाको विषय हो । विश्वविद्यालयको यस्तो कुकृत्य रोक्न हामीले खबरदारी गरेका छौँ । मुलुकमा बढ्दै गएको भ्रष्टारविरुद्ध पनि आवाज उठाउँदै आएका छौँ ।’

अध्यक्ष गौतमले त्रिवि र सरकारको कमजोरीका कारण स्ववियु निर्वाचन नभएको जानकारी दिए । 



विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ) पनि आन्तरिक कारणले अलमलमा छ । फागुनमा नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । महरको नेतृत्वमा रहेको नेविसंघको म्याद यसअघि गत भदौ २ मा नै सकिएको थियो । म्याद सकिएको एक वर्ष हुनै लाग्दा पनि नेविसंघ समितिविहीन छ ।

कांग्रेसले चौथोपटकसम्म म्याद थप गरेर गत १० माघसम्म महाधिवेशन गर्न भन्दै समय दिएको थियो । नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब बढेपछि महरले राजीनामा दिएका थिए । तर, पाँच महिना बितिसक्दा पनि तदर्थ समिति बनेको छैन । 



बरू कांग्रेसका नेता विमलेन्द्र निधिले नेविसंघ खारेजको प्रस्ताव ल्याएका थिए । उनको प्रस्तावमा नेता रामचन्द्र पौडेलले समेत सहमति जनाएका थिए । 

कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाले भने केन्द्रीय समितिको बैठकमा म्याद थपेरै महाधिवेशन गर्न दिनुपर्ने धारणा राखेका थिए । 

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले अहिले नेविसंघ सरकारविरुद्ध खबरदारी गरिरहेको बताए ।

भारतबाट ल्याइएका तरकारीका विषादी प्रयोग भएको विषयलाई लिएर नेविसंघले सरकारलाई दबाब दिन विषादीमुक्त तरकारी दिएको थियो । त्यसको नेतृत्व महामन्त्री काफ्लेले गरेका थिए । 

नेविसंघ के गरिरहेको छ भन्ने हाम्रो प्रश्नमा काफ्ले भन्छन्, ‘समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ । तरकारीमा विषादी आन्दोलन नेपाल विद्यार्थी संघकै आन्दोलनमार्फत सफल हुन सकेको छ ।’  

विगतदेखि शिक्षा, लोकतन्त्र र राष्ट्रियतासम्बन्धी आवाज नेपाल विद्यार्थी संघले उठाउँदै आएको र अहिले पनि सोही काम गरेको महामन्त्री काफ्लेको भनाइ छ ।  

स्ववियु निर्वाचनको प्रसंगमा बोल्दै काफ्लेले सरकारका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेको बताए । पञ्चायत र ज्ञानेन्द्र सरकारले समेत स्ववियु निर्वाचन गराएको स्मरण गराउँदै उनले दुईतिहाइको लोकतान्त्रिक सरकारले निर्वाचन गराउन नसक्नु विडम्बना भएको बताए । 

मंगलबार फरकधारसँग कुरा गर्दै काफ्लेले भने, ‘हिजो पञ्चायतले गरेको निर्वाचन, आज दुईतिहाइ लोकतान्त्रिक सरकारले गरिरहेको छैन । स्ववियु निर्वाचन हुन नसक्नुको मुख्य दोषी यो सरकार हो । नेपाल विद्यार्थी संघ निर्वाचन होस भन्ने चाहन्छ ।’
 
‘हिजो माओवादी द्वन्द्वमा नेपाली कांग्रेस सत्तामा हुँदा बमबारुद पड्किँदै गर्दा  ज्ञानेन्द्रको शासनकालमा स्ववियु निर्वाचन भएको छ’ उनले भने ।  
 
सत्तारूढ नेकपाका विद्यार्थी संगठन पनि पार्टीकै काममा व्यस्त छन् । यसबाहेक उक्त संगठनले क्याम्पसहरूमा विद्यार्थीका समस्या समाधान पनि गर्दै आएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता इन्द्र भुसालले दाबी गरे । 

उनले स्ववियु निर्वाचन हुन नसक्नुको मुख्य दोषी नेविसंघ रहेको आरोप लगाए । उनले भने, ‘नेपाल विद्यार्थी संघ आफैँ विघटनको अवस्थामा छ । नेविसंघकै रवैयाले निर्वाचन हुन नसकेको हो ।’ 

सत्तापक्षका विद्यार्थी संगठनले विपक्षी र विपक्षीले सत्तापक्षका विद्यार्थी संगठनलाई आरोप लगाउनु पुरानै रोग हो । 

भुसालले थपे, ‘त्रिविले स्वतन्त्र विद्यार्थीको निर्वाचन गर्ने भनेर भनेर पटक–पटक निर्णय गर्यो । आफ्नै निर्णय त्रिविले कार्यान्वयन गर्न सकेन । हामीले निर्वाचन छिटो गराउनुपर्छ भनेर माग गर्दै आएका छौँ ।’ 

मुलुक परिवर्तनमा विभिन्न कालखण्डमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका विद्यार्थी संगठन अहिले सत्ता र शक्तिको पछाडि लाग्दा उनीहरूले बाटो विराएको राजनीतिक विश्लेषण तथा त्रिविका प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । 
 
उनले विद्यार्थी राजनीति बिग्रँदै गएको पनि बताए । उनले भने, ‘विद्यार्थी राजनीति बिग्रँदै गएको देखिन्छ । जुनवेला राजनीतिक दलहरू प्रतिबन्धित थिए, त्यतिवेला प्रतिबन्धित पक्षहरूको राजनीति गर्ने मुख्य आधार नै विद्यार्थी नेता थिए । त्यो वेला राजनीतिक दलहरू विद्यार्थीका नजिक पुग्थे । राजनीतिक शक्तिहरूमा भन्दा विद्यार्थीमाथि कम दमन हुन्थ्यो । चाहे कम्युनिस्ट हुन्, चाहे कांग्रेस ।’

विद्यार्थी संगठनको परिवर्तित भूमिकाबारे विश्लेषण गर्दै पोख्रेलले पञ्चायतकालमा विद्यार्थी नै सरकारको स्थायी प्रतिपक्ष भएको बताए । 

अहिले शिक्षा सुधारको नाममा विश्वविद्यालयमा बसेर विद्यार्थी संगठनले राजनीति मात्रै गरेको उनले बताए । उनले थपे, ‘शैक्षिक सुधार गर्ने, शैक्षिक नीतिगत सुधार हुने एजेन्डा लिएर अगाडि बढ्ने नगर्दा विद्यार्थी संगठन विद्यार्थीमाझ स्थापित हुन सकेनन् ।’ 

  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १६:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया