भिड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषको विशेष तयारी

काठमाडौं– यस वर्ष साउन महिनामा पशुपति आउने भक्तजनको भिड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महिना सुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड बढ्न थालेकाले लाम व्यवस्थापनमा जोड दिइएको हो । 

सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी सुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले जानकारी दिए । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ । 
 
साउन महिनाको पनि सोमबार पशुपतिमा धेरै दर्शनार्थी पुग्छन् । प्रायः सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भिड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

तीर्थयात्रीको भिड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ । तिलगंगाबाट विद्युतीय शवदाह गृहअघिको सडक–चार शिवालय हुँदै मूल मन्दिरको दक्षिण ढोकातर्फ, जयबागेश्वरीबाट भुवनेश्वरी–वरुणधारा हुँदै दक्षिण ढोकातर्फ, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकातर्फ र मित्रपार्कबाट उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम मूल ढोकातर्फबाट मन्दिर छिर्ने गरी व्यवस्था मिलाइएको उपनिर्देशक ढुंगानाले बताए ।
 
यस वर्ष साउन ६, १३, २० र २७ गरी चार वटा सोमबार परेका छन् । साउनको सोमबार विशेषगरी महिलाले अटल सौभाग्य एवं पारिवारिक सुख र शान्तिको कामना गर्दै व्रत बस्ने र शिवालयमा पूजा आराधना गर्छन् । बोल बम, (साउनको विशेष पूजा)का लागि विश्वभरका वैदिक सनातन धर्मावलम्बी पशुपतिमा आउँछन् । 
 
पशुपतिनाथलाई ज्योतिर्लिंगको पनि ज्योतिर्लिंगका रुपमा पुजिने भएकाले पनि विश्वको जुनसुकै कुनामा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्छन् । 
     
आज साउनको पहिलो दिन भएकाले बिहानैदेखि बढी संख्यामा भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनमा आएका छन् । आज साउने संक्रान्तिसमेत भएकाले पनि दर्शनार्थीको पशुपतिनाथ मन्दिरमा भिड बढेको हो । 





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १७:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया