के साँच्चिकै विप्लव समूहसँग वार्ता चलिरहेको छ ?

काठमाडौं– पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग सरकारले वार्ताको तयारी थालेका समाचार बाहिरिएका छन् । 

विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि सरकारी टोली र विप्लव समूहका उच्चस्तरीय नेताबीच छलफल भएको समाचार आइरहेका छन् । 

सरकारको तर्फबाट यस्ता छलफलमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले पनि समन्वय गरेका समाचार बाहिरिएका छन् । 

त्यसो हो भने, वार्ता कहाँ पुग्यो त ? 

‘मलाई त यो विषयमा केही थाहा नै छैन,’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘बाहिर समाचार आइरहेका छन्, कसरी र किन आइरहेका छन् भन्ने पनि थाहा छैन ।’

फरक धारसँग बिहिबार कुराकानी गर्दै पौडेलले भने, ‘हिंसात्मक गतिविधि गरिरहेको समूहसँग वार्ता गरेर मूलधारको राजनीतिमा ल्याउने कुरा त राम्रो हो, तर यो वार्ता कसरी अगाडि बढिरहेको छ, के भइरहेको छ भन्ने मलाई नै थाहा छैन । यो विषयमा म अनभिज्ञ छु ।’



विप्लवसँग वार्तालाई अगाडि बढाइरहेका भनिएका नेपाल कम्युनिस्ट पार्टीका नेता सोमप्रसाद पाण्डेसँग भने यस विषयमा कुराकानी गर्दा सम्पर्क हुन सकेन । 

 



के वार्ता चलिरहेको हो त ?

विप्लव समूह र नेपाल कम्युनिस्ट पार्टीका नेताबीच पहिलो पटक भक्तपुर र काभ्रेको सीमानजिक एउटा होटलमा भेट भएको समाचार बाहिरियो ।

त्यसपछिका समाचारहरुमा नेपालगन्जमा यी दुई समूहबीच वार्ताको तयारीका लागि भेटघाट भएको बताइयो । तर, वार्तामा भएका भनिएका कुनै पनि नेताले यसलाई मानेका छैनन् । 

फरक धारसँगको सम्पर्कमा आएका विप्लव समूहका एक नेताले पनि वार्ताको कुरालाई ‘हचुवा अनुमान’को संज्ञा दिए । ‘हामी वार्तामा जाने सोचमा नै अहिले छैनौँ,’ उनले भने, ‘तर, यहाँ हाम्रा नेताहरुले पदको बार्गेनिङ गरिएको कुरालाई विशेष प्राथमिकता दिइएको छ, र पदमा पुग्न हामी तयार भएको कुरा फैलाइएको छ ।’

 

एउटा अनुमानः विप्लव समूहमा समस्या भएपछि वार्ताका लागि अगाडि बढे

यसअघि ९ चैतमा सरकारका प्रवक्ता तथा सूचना तथा सन्चारमन्त्री गोकुल बाँस्कोटाले भनेका थिए, ‘सरकार संवादका लागि सधैं तयार छ, तर हतियार बोकिरहेका समूहसँग वार्ता हुँदैन ।’

अहिले विप्लव समूहले हतियार बिसाएको छैन । बरु विभिन्न ठाउँमा विप्लव समूहका नेता तथा कार्यकर्ताले मानिसहरुलाई थर्काएको, चन्दा आतंक बढाएको समाचार बाहिर आइरहेका छन् । यस्तो अवस्थामा विप्लव समूहले तत्काल आफूलाई वार्ताका लागि तयार नपारेको प्रष्ट हुन्छ । 

तर, बाहिर अनुमान के आएका छन् भने पछिल्लो समय विप्लव समूहलाई छोड्ने नेताहरुको संख्या बढेको छ । त्यसैले उनीहरु मूलधारमा आउन चाहन्छन्, नेपाल कम्युनिस्ट पार्टीसँग नै एकता पनि गर्न चाहन्छन् । 

‘माओवादी र एमालेको एकीकरणपछि पार्टी जुन अवस्थामा पुगेको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘विप्लव समूहसँग पनि एकीकरण गर्ने हो भने एउटा कम्युनिस्ट पार्टी रहने छैन, चोइटिएर निकै धेरै बन्नेछन् । नेतृत्वले पहिले यो एकतालाई टुङ्ग्याउनु पर्छ, असन्तुष्टहरुको आवाज सुन्न सक्नुपर्छ ।’

  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार ९:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया