सन् २००५ । विराज पाण्डे बुबाका सपनामा आफ्ना सपना मिलाएर बुटवलबाट काठमाडौं छिरेका थिए ।
बुटवलमा उनका बाबुको खाद्यान्न व्यवसाय थियो, त्यसैलाई काठमाडौंमा पनि विस्तार गर्ने योजना थियो विराजको परिवारको ।
खासमा विराजको बाबुको उद्योगले पनि चाउचाउ उत्पादन गथ्र्यो । विराज त्यही चाउचाउको बजारलाई काठमाडौंमा विस्तार गर्ने सोच बनाएर काठमाडौं आए ।
तर, यहाँ आएपछि विराज केही साथीभाइको संगतमा परे, जसले उनको जीवनको बाटो मोडिदियो । उनी त शैक्षिक परामर्शको क्षेत्रमा पो लागे ।
आजभन्दा १४ वर्षअगाडि उनले छानेको यो क्षेत्र अहिले ‘बदनाम’ छ । दैनिक शैक्षिक परामर्श उपलब्ध गराउने कम्पनीहरुले गरिरहेका बदमासीका समाचार बाहिर आइरहेका हुन्छन् ।
विकसित देशहरुमा शैक्षिक परामर्शदाताको माग बढ्दो छ, नेपालमा भएका शैक्षिक परामर्शका संस्थाहरुले दैनिक गलत काम गरिरहेका ‘गसिप’ त्यही क्षेत्रमा पनि सुनिन सक्छन् ।
आखिर किन ?
‘हाम्रो यो क्षेत्र बदनाम हुनुका कारण श्रृङ्खलाबद्ध घटना छन् भन्ने मैले निक्र्योल निकालेको छु,’ एजुकेसन पार्कका प्रबन्ध निर्देशकसमेत रहेका विराज पाण्डे भन्छन्, ‘यो क्षेत्रमा भएका साथीहरुकै कारण यसमा धेरै समस्या देखिन थालेका हुन् । साथीहरु संयम भएर काम गर्न नसक्दा पनि यी समस्या देखिएका हुन् ।’
विराजले निकालेको निष्कर्ष हो– अहिले नेपालको शैक्षिक परामर्श क्षेत्रमा गलत मानिसहरु छिरिरहेका छन् ।
विराजको कुरा किन पनि सही हो भने पछिल्लो समय शैक्षिक परामर्शदाताहरु विद्यार्थीलाई जसरी पनि विदेश पठाउने होडबाजीमा लागेका छन् । अहिले नेपाली विद्यार्थीका लागि सबैभन्दा गोल्डेन डेस्टिनेसन भएको छ– अष्ट्रेलिया ।
‘अष्ट्रेलियामा भेटमा विद्यार्थी पठाउने प्रतिस्पर्धा नेपालमा चल्न थाल्यो,’ विराजले भने, ‘यसले गर्दा नेपालको मार्केट फोहोर भएको छ, अब यसलाई क्लिन गर्नुपर्छ ।’
त्यसो त अष्ट्रेलियामात्र होइन, नेपालबाट पढ्नका लागि एशियाली मुलुक जापान जाने विद्यार्थीको संख्या पनि निकै छ । तर, त्यहाँ पनि त्यहाँका विश्वविद्यालयमा जाने भन्दा विद्यार्थीहरु भाषा पढ्न जानेहरुको संख्या बढी छ ।
यो सबको कारण हो, नेपालमा भएका अधिकांश शैक्षिक परामर्शदाताहरु गलत तरिकाबाट अगाडि बढिरहनु ।
‘यो उद्योगमा करिअरका रुपमा भन्दा पनि छिटो पैसा कमाउने सोचेर आउनेहरुको बाहुल्यता बढेको छ,’ विराजले भने, ‘दायित्व लिएर यो क्षेत्रमा आउनेहरु कम भएकाले यस्तो समस्या बढिरहेको हो । सर्टटर्म पैसाका लागि आउने मानिसका कारण यो क्षेत्र अहिले निकै प्रदुषित भएको छ ।’
एकातिर यो क्षेत्रमा गलत काम गर्ने परामर्शदाताहरु बढिरहेका छन् ।
तर, अर्कोतिर विराजकै एजुकेसन पार्क चाहिँ द पायोनियर अवार्डमा मनोनित भएको छ । शिक्षाको क्षेत्रमा यो अवार्डलाई निकै महत्वपूर्ण मानिन्छ । यति धेरै समस्या भएको नेपाली शैक्षिक परामर्शदातामध्ये राम्रोमा कसरी छानियो त एजुकेसन पार्क ?
‘हामी खासमा करिअर काउन्सिलिङ गर्छौ,’ विराजले भने, ‘हामीले कतिपय विद्यार्थीलाई त नेपालमा नै पढ्नु भन्ने सल्लाह पनि दिइरहेका छौँ । हामीले अष्ट्रेलिया, युके, युएस वा अरु देशमा विद्यार्थी पठाउनै परेको खण्डमा पनि राम्रा शैक्षिक विश्वविद्यालयमा पठाइरहेका छौँ ।’
एजुकेसन पार्क औंलामा गन्न सकिने थोरै परामर्शदाता कम्पनीमध्ये एक हो, जसले विद्यार्थीलाई करिअर काउन्सिलिङ गरिरहेको छ । यो क्षेत्रका अधिकांश कम्पनीहरु त विद्यार्थीलाई फेक डकुमेन्ट्स पनि बनाउन सहयोग गर्ने खालका छन् ।
‘विद्यार्थीलाई लङ टर्म करिअरबारे सोच्ने कुरा यो क्षेत्रमा धेरै साथीहरुले सल्लाह दिइरहनु भएको छैन,’ विराजले भने, ‘यहाँका विद्यार्थी र अभिभावकलाई पनि यी कुराहरुमा कुनै चासो छैन, धेरैलाई त जसरी हुन्छ, अष्ट्रेलिया जान पाए पुग्छ ।’
त्यसैले विदेशका कलेज तथा विश्वविद्यालयमा पढ्न जान चाहनेले रिसर्च गर्नुपर्ने र दीर्घकालीन सोचका साथ अगाडि बढ्नु पर्ने मान्यतामा अडिग छन्, विराज ।
‘अहिले विद्यार्थीहरु दुई प्रकारका छन्,’ विराज भन्छन्, ‘तर, राम्रा जमातका विद्यार्थी अत्यन्त कम छन् ।’
विराजले यसरी वर्गीकरण गरेका विद्यार्थीमा पहिलो नम्बरमा पर्छन्, जो पहिले नै आफू के पढ्ने, कहाँ पढ्ने, किन पढ्ने भन्ने अध्ययन गरेर, त्यही अनुसार बुझ्न शैक्षिक परामर्शदाताकहाँ पुग्छन् । र, दोस्रो नम्बरमा ती विद्यार्थीहरु पर्छन्, जो अष्ट्रेलिया जान पाए पुग्छ भन्ने सोच्छन् ।
‘पहिलो नम्बरमा विद्यार्थी १० प्रतिशतभन्दा पनि कम छन्,’ विराज भन्छन्, ‘दोस्रो नम्बरका विद्यार्थी ९० प्रतिशतभन्दा धेरै छन्, यसले पनि यो क्षेत्रलाई दिन दुई गुणा, रात चौगुणा गलत इन्स्टिक्न्टमा गाइड गरिरहेको हुनसक्छ । यीमध्ये केहीलाई राम्रो काउन्सिलिङ गर्दा ट्र्याकमा त आउँछन् तर कतिपय आफ्नै अडानमा हुन्छन् ।’
सँगसँगै परामर्शदाता कम्पनीहरुले पनि दुरदर्शी सोच नबनाएकाले अनेक समस्या आउने गरेको विराजको निक्र्योल छ ।
अर्कोतिर एउटा कोर्षमा पढ्न गएको विद्यार्थी बारम्बार कलेज परिवर्तन गरिरहेको हुन्छ, तर ऊ नेपालमा फर्किएर आउन चाहँदैन ।
१४ वर्षभन्दा बढी यही क्षेत्रमा काम गरेको अनुभवले विराजलाई के भन्छ त ?
‘नेपाल फर्किएर आउन नचाहनुको एउटै कारण स्वतन्त्रता हो जस्तो लाग्छ,’ केही दिनअघि एउटा कफी सपमा भएको भेटमा ‘तितो कफी’को मीठो स्वाद लिँदै विराजले भने, ‘त्यहाँ व्यक्तिगत स्वतन्त्रता छ, त्यहाँ फिनान्सियल स्वतन्त्रता छ, र कामप्रतिको सम्मान छ । नेपालमा यस्तो हुन सकेको छैन ।’
तर, के यही कारणले नेपालबाट बाहिर गएका विद्यार्थीलाई नेपालमा फर्काउने नै होइन त ?
विराजले त नेपाली विद्यार्थीलाई फर्काउने योजना पनि बनाइसकेका छन् । ‘कम होम क्याम्पेन नामको अभियान नै पनि सुरु गर्दैछौँ,’ विराजले भने, ‘खासमा हामीले विद्यार्थी बाहिर पठाउने भनेको चाहिँ ब्रेन गेनका लागि हो । त्यहाँ पाएको शिक्षाले नेपालमा केही गर्न सकिन्छ भन्ने प्रमाण हामीले देखिसकेका छौँ ।’
विराजलाई विदेशमा अध्ययन गर्न गएका विद्यार्थीलाई नेपाल फर्काउने वातावरण बनाउनु पर्ने मुख्य जिम्मेवारी चाहिँ सरकारको भएको जस्तो लाग्छ । तर, यसो भन्दैमा उनी आफ्नो ठाउँबाट काम गर्न पनि छोड्दैनन् । ‘कम होम क्याम्पेन नेपालमा केही गर्नुपर्छ भन्ने सन्देश पुर्याउनकै लागि सुरु गर्न लागिएको अभियान हो,’ विराजले भने, ‘म पूरै यो क्षेत्रको जिम्मेवारी लिन त सक्दिनँ तर आफ्नो ठाउँबाट जति सक्छु, त्यति काम गर्नुपर्छ भन्ने दायित्वबोध चाहिँ मलाई छ ।’
त्यही दायित्वबोधका कारण विराज यो क्षेत्रमा अलग उभिएका छन् । बदनाम हुँदै गएको यो क्षेत्रमा उनले फरक पहिचान बनाएका छन्, एजुकेसन पार्कले अलग काम गरिरहेको छ । त्यसैले विराज र उनको कम्पनीलाई कतिपयले संज्ञा पनि दिन्छन्– दलदलमा कमल । याे संज्ञाकाे एउटै कारण हाे– उनले जिम्मेवार भएर काम गरेका छन्, गलत कुरालाई प्रश्रय दिएका छैनन् ।
खासमा एजुकेसन पार्क के कारणले यति फरक भएर उभिएको छ त ?
‘झट्ट सुन्दा पत्यार नगर्न सकिन्छ,’ विराजले भने, ‘हाम्रो कम्पनीबाट विदेश अध्ययन गर्न जानेहरु अधिकांश मास्टर्स कोर्समा जानु भएको छ । हामी त प्लस टु सकेका विद्यार्थीलाई ब्याचलर्स नेपालमा नै पढ्नुस् न भन्ने काउन्सिलिङ गरिरहेका छौँ ।’
यो महत्वपूर्ण किन पनि छ भने प्लस टु सक्नेवित्तिकै विद्यार्थी विदेश अध्ययनका लागि जाँदा उसले शिक्षामा धेरै ध्यान दिन सक्दैन, अरु पाटाहरुले उसको जीवनलाई थिच्दै लैजान्छन् ।
र, यस्ता विद्यार्थीलाई दीर्घकालिन रुपमा फलदायी हुने गरि काउन्सिलिङ गर्ने जिम्मेवारी आफूहरुको भएको विराजको निष्कर्ष छ ।
त्यसैले उनले एजुकेसन पार्कलाई त्यही बाटोमा डोर्याएका छन्, जो जिम्मेवार शैक्षिक परमार्शदाताका कम्पनीका रुपमा अझ सशक्त भएर उभिइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।