काठमाडौं– १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालका समीर श्रेष्ठले स्वर्णपदक जितेका छन । शुक्रबार सम्पन्न उक्त च्याम्पियनसिपमा भारतका दिनेश दोस्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेस्रो भए।
पहिलो दिन भएको ६ वटा प्रतिस्पर्धामा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । पुरुष ६५ केजीमा समीरले स्वर्ण र प्रज्ज्वलमानले कांस्य पाएका थिए ।
त्यस्तै, पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे भने माल्दिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामूर्ति दोस्रो भएका थिए । पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए भने भारतका दीपु पहिलो र अफगानिस्तानका मोहम्मद कसिम हुसैन तेस्रो भए ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत प्राप्त गरे भने अफगानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेस्रो भएर क्रमशः स्वर्ण र कांस्य पाए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको प्रतियोगिताअन्तर्गत महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हासिल गर्यो । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते । भारतकी निशा भोयरले स्वर्ण जितिन् । पुरुष फिटनेस फिजिकमा नेपालका राजु राईले रजत पाए भने अफगानिस्तानका हमिदुल्लाह खुसदिलले स्वर्ण र सलिम शाह अन्वरीले कांस्य पाए ।
प्रतियोगिता सम्पन्न भएपछि विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।