मन्त्रिपरिषद् छिट्टै हेरफेर गर्ने बालुवाटारको तयारी, सम्भावित नयाँ मन्त्रीहरुसँग छलफलमा प्रधानमन्त्री ओली !

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् साउन १० गते अगाडि नै परिवर्तन गर्ने गरि तयारी थालेका छन् । 

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार उनले यसका लागि सम्भावित नयाँ मन्त्रीहरुसँग छलफल पनि अगाडि बढाइसकेका छन् । 

यस विषयमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरिसकेको स्रोतको दाबी छ । ‘उहाँहरु सहमतिमा पुगिसक्नु भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका ती सदस्यले भने, ‘नयाँ कोको मन्त्री बन्दैछन् भन्नेबारे चाहिँ उहाँ दुईबाहेक अरु नेताहरुसँग छलफल गर्न बाँकी रहेको छ ।’ उनले यस विषयमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि कुरा गर्न चाहेको बताए । 

तर, अहिलेसम्म कुन कुन मन्त्रालयको जिम्मेवारी हेरफेर गरिन्छ भन्ने खुलाइएको छैन । 

‘अहिले नै बाहिर भन्ने हो भने ती मन्त्रालयका मन्त्रीहरु डिमोरलाइज हुने, कर्मचारीले उनीहरुलाई टेर्न छोड्ने भएकाले यो कुरा बाहिर नल्याइएको हो,’ उनले भने, ‘जुन दिन नयाँ मन्त्रीहरु नियुक्त हुन्छन्, त्यसको अघिल्लो अबेर साँझ मात्र अहिलेका मन्त्रीहरुलाई यो कुरा जानकारी तय भएको छ ।’

उनले सूचना तथा सन्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको जिम्मेवारी हेरफेर हुने पनि बताए । बाँस्कोटालाई पर्यटन मन्त्रालय दिने तयारी ओलीले गरेका छन् । 



ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री ओलीले सम्हालेका छन् । अब त्यो मन्त्रालयमा गोकुल बाँस्कोटालाई लैजाने र सूचना तथा सन्चारमन्त्री तथा सरकारका प्रवक्तामा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईलाई ल्याउने तयारी ओलीले गरेका हुन् । 

स्रोतका अनुसार ओलीले यसबारे भट्टराईसँग सल्लाह पनि गरिसकेका छन् । ‘भट्टराईले पनि ग्रिन सिग्नल दिएका छन्,’ स्रोतको दाबी छ, ‘उनी मन्त्री हुन तयार छन् तर ओलीसामु एउटा सर्त उनले राखेका छन् ।’ भट्टराईले राखेको त्यो सर्त हो– उनी मन्त्री हुने विषयमा प्रचण्ड र माधवकुमार नेपालको पनि सहमति हुनै पर्ने । भट्टराईले सन्चारभन्दा पर्यटनमा नै जान चाहेको पनि स्रोतको दाबी छ । तर, प्रधानमन्त्री ओली बाँस्कोटाको प्रस्तुति मन नपरेका कारण उनलाई सरकारको प्रवक्ताबाट हटाउने निष्कर्षमा पुगिसकेका छन् । 



ओलीले यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतलाई पनि नयाँ मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन् । ‘यस्तो हल्ला चलेको त निकै लामो भइसक्यो,’ बस्नेत निकट एक युवा नेताले भने, ‘हल्लामात्र हो कि भन्ने भइसक्यो त अब । पहिले चाहिँ महेश कमरेडलाई फेरि उद्योगकै जिम्मेवारी दिने कुरा चलेको हो ।’ तर, प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यका अनुसार महेश बस्नेतालाई फेरि मन्त्री बनाउने पक्षमा प्रचण्ड छैनन् ।

पछिल्लो समय पार्टीमा आफ्नो पकड बलियो बनाउँदै लगेका गृहमन्त्री रामबहादुर थापा बादललाई पनि यो मन्त्रिमण्डलबाट बिदा गर्नु पर्ने सर्त प्रचण्डले ओलीसमक्ष राखेका छन् । स्रोतका अनुसार गृहमन्त्री नयाँ ल्याउने कि बादललाई नै निरन्तरता दिने भन्नेमा ओलीले कुनै निर्णय गर्न सकेका छैनन् । लामो समययता मन्त्रिपरिषद्मा फेरबदल ल्याउने भनेपछि चर्चामा आउने भौतिक योजना मन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई यसपटक बिदा गरिने सम्भावना बलियो छ । 

‘उहाँहरुबाट आशा गरिएअनुरुप काम भएको देखिँदैन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘अब पनि मन्त्रीहरु फेरिएन भने यो सरकारले जनताको मन जित्न कहिल्यै सक्ने छैन ।’

  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १९:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया