अस्ट्रेलियामा भुटानीले गुन्जाए नेपाली भाका

सिड्नी– अस्ट्रेलियन भुट्निज सोसाइटी अफ नर्दन तास्मानिया (एबिएसएनटी) को आयोजना र क्रियटिभ जर्नी फाउन्डेसनको प्रस्तुतिमा अस्ट्रेलियाको लन्चेस्टनमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपालबाट निर्देशक तथा लेखक प्रकाश आङदेम्बे पुगेका थिए । तेस्रो देश पुनर्वास भएका नेपालीभाषी भुटानीहरुले बर्सेनि सांस्कृतिक, साहित्यिक तथा खेलकुदका कार्यक्रम गर्दै आएका छन् । बर्सेनि फरक–फरक सहरमा हुने कार्यक्रम यसपटक तास्मानियाको लन्चेस्टनमा आयोजना गरियो । कार्यक्रममा विभिन्न राज्यका खेलाडी, कालाकार, लेखकलगायतको सहभागिता रह्यो । उक्त कार्यक्रममा स्थानीय क्रिएटिभ जर्नीलगायत ब्यान्डले दर्जनौँ नेपाली गीत र नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि प्रकाश आङदेम्बेले आफ्ना रचना वाचन गरेर तेस्रो देश पुनर्वास भएका नेपालीभाषी भुटानीहरुलाई विगततर्फ डोर्याए । उनका रचना सुनेर आफ्नो विगतको स्मरण गर्दै नेपालीभाषी भुटानीहरु निकै भावुक बने । पूर्वको मोरङ र झापामा रहँदा नेपालीभाषी भुटानीहरुसँग प्रकाशले लामो संगत गरेका थिए । 

नेपालीभाषी भुटानीको जनजीवनलाई अत्यन्तै नजिकबाट छामेका प्रकाशले उनीहरुकै जीनवकथा र तेस्रो देश पुनर्वासका कथालाई समेटेर ‘देश खोज्दै जाँदा’ नामक फिचर फिल्म नै निर्माण गरेका छन् । कार्यक्रममा बोल्दै प्रकाशले भने, ‘नेपालीभाषी भुटानीहरु तेस्रो देश पुनर्वाससँगै संसारको विभिन्न भागमा नयाँ नेपाली समाज स्थापित भएको छ ।’ 

कार्यक्रममा आयोजक संस्थाका सदस्य पवित्रा साँवाले ‘आफूहरु राजनीतिक रुपले जुनसुकै देशको नागरिक भए पनि भाषिक र आत्मिक रुपले नेपाली भएको’ बताए ।  अस्ट्रेलियाको तास्मानिया नेपाली भाषा बोल्नेको संख्याका हिसाबले दास्रो ठूलो राज्य हो । 





  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १६:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया