नेकपाको स्कुल विभागमा रस्साकस्सी, कसले मार्ला बाजी ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता अन्तिम चरणमा पुगेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएपछि एकता अन्तिम चरणमा पुगेको हो । 

पूर्वसहमतिअनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाउने भएको छ । गत वर्ष जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमाले मिलेर पार्टी एकता भएको थियो । 

नेकपामा अब स्कुल विभागको टुंगो लाग्न बाँकी छ । इन्चार्ज र सह–इन्चार्जसँगै विभाग प्रमुखको टुंगो लगाउने तयारीमा सचिवालय थियो । तर, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले विभाग प्रमुखको दाबी गरेपछि सो पदलाई थाती राख्दै इन्चार्ज र सह–इन्चार्जको मात्रै टुंगो लगाइएको हो । 

वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश र झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिने सहमति भएको छ । त्यस्तै, वामदेव गौतमले संगठन विभागको जिम्मेवारी पाएका छन् । ईश्वर पोखरेलले संगठन र स्कुल विभागमध्ये एक दाबी गर्दै आएका थिए । 

गौतमलाई संगठन विभागको जिम्मेवारी दिएपछि पोखरेलले स्कुल विभाग दाबी गरेका हुन् । तर, स्कुल विभागमा पनि नारायणकाजीले दाबी गरेपछि सहमति हुन नसकको हो । मंगलबार बैठक बसेर यसको टुंगो लगाइने नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फरकधारलाई जानकारी दिए । 

पौडेलले भने, ‘स्कुल विभाग प्रमुखको टुंगो भोलि लाग्छ । यसका लागि आज पनि छलफल भइरहेको छ ।’ विभागको टुंगो लागेसँगै पार्टी एकता टुंगिएको नेता पौडेलले बताए । 



त्यस्तै, अर्का स्थायी कमिटी सदस्य वेदुराम भुसालले स्कुल विभागको जिम्मेवारीमा ईश्वर पोखरेल र नारायकाजी श्रेष्ठबीच कुरा नमिले तेस्रो व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे । 

सोमबार फरकधारसँग कुरा गर्दै भुसालले भने, ‘सहमतिमा जसले जिम्मेवारी लिँदा पनि हुन्छ । यी दुईमा रस्साकस्सी हो भने तेस्रो व्यक्तिलाई स्कुल विभाग दिए हुन्छ । उहाँहरूले नै लिनुपर्छ भन्ने के छ र ?’ 



स्कुल विभागको विषयमा बाहिर हल्ला भएजस्तो पार्टीमा कुनै विवाद नभएको पनि उनले दाबी गरे । भुसालले घुमाउरो तरिकाले स्कुल विभाग पूर्वएमाले नै पाउनुपर्ने बताएका छन् । 

उनले भने, ‘स्कुल विभागको विषयलाई लिएर बाहिर जसरी कुरा आएको छ, त्यो सत्य होइन । पार्टीभित्र धेरै विवाद छैन । उहाँहरूले चाहना राखेको कुरा ठीक हो । मिलाउन नसक्ने गरी महाभारतै भएको भन्ने चर्चा छ, त्यस्तो होइन ।’ 

नारायणकाजी श्रेष्ठले चुनावमा पराजित भएकाहरूलाई पार्टीभित्रकोे जिम्मेवारीमा पहिलो प्राथमिकतामा पर्नुपर्ने दाबी गर्दै आएका छन् । गौतमले जिम्मेवारी पाइसकेको अवस्थामा अब आफूले पनि रोजेको विभाग पाउनुपर्ने दाबी श्रेष्ठको रहेको उनीनिकट एक व्यक्तिले फरकधारलाई जानकारी दिए । 

पोखरेलभन्दा आफू मर्यादामा पनि एक तहमाथि नै रहेको र पोखरेल उपप्रधान र रक्षामन्त्रीसमेत रहेको अवस्थामा स्कुल विभाग पनि उनैलाई दिनु न्यायसंगत नहुने श्रेष्ठको तर्क छ । 

अध्यक्ष ओलीनिकट स्रोतले भने स्कुल विभागको जिम्मा ईश्वर पोखरेलले नै पाउने दाबी गरे । श्रेष्ठ पार्टीको प्रवक्ता भइसकेको र एकै व्यक्तिलाई दुई पद दिन नमिल्ने भएकले पनि उनीभन्दा पोखरेलले नै सो विभाग पाउने उनले बताए । 


  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार १५:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया