नेपाली लोकसंगीतका विभिन्न वाद्यावादन सामग्रीहरु विस्तारै ओझेलमा परिरहेका छन् । युवा पुस्ता ड्रमसेट र गितारमा भुलिरहेका छन् ।
तर, यही पुस्ताका हुन्, प्रिन्स नेपाली जसलाई औधी मन पर्छ सारङ्गीको धुन । त्यसो त त्यही धुनले उनी अहिले जिविकोपार्जन गरिरहेका छन् । सारङ्गी रेटेरै जीवन धानिरहेका प्रिन्स उनको परिवारका चौथौं पुस्ताका व्यक्ति हुन् जसले सारङ्गीलाई नै आफ्नो प्रोफेसन बनाइरहेका छन् ।
केही दिनअघि कीर्तिपुरको एउटा क्याफेमा भेट्दा उज्यालो अनुहार बनाएर प्रिन्सले भनेका थिए– मलाई त लक्की मान्न सक्नुहुन्छ, जीवनमा सहज तरिकाले नै अगाडि बढ्यो र यो सारङ्गीको धुनमा म भुल्दा पनि त्यस्तो अप्ठ्यारो भएन, सहज तरिकाले नै अगाडि नै बढ्यो ।
यसअघि मैले कृपा अनप्लग्डमा पर्फम गर्ने दुई जना संगीतकारलाई भेटिसकेको थिएँ– शम्भु बानियाँ र सन्जीव बराइली ।
प्रिन्स त्यही कृपा अनप्लग्डमा सारङ्गीको धुन पैँचो दिने अर्का संगीतकार हुन् । अब कृपा अनप्लग्डले तेस्रो श्रृङ्खलाको तयारी गरिरहेको छ ।
क्याफेमा हामीले औपचारिक कुराकानी सुरु गर्नुअघि दुई कप कफी मगायौँ । कफी कप टेबलमा आइसकेको थियो, त्यसबाट मीठो सुगन्ध फैलिइरहेको थियो ।
एक सिप कफी पिएपछि प्रिन्सले आफ्नो पुस्ताबारे चर्चा गर्न थाले, ‘हामी कीर्तिपुरमा बस्न थालेको सय वर्षभन्दा बढी भयो अरे ।’ त्यसपछि मुसुक्क हाँसे प्रिन्स अनि अगाडि बढे, ‘मेरो हजुरबाको बा पनि सारङ्गी बजाउनुहुन्थ्यो रे, हजुरबा र बाले बजाएको त म आफैंले देखेँ, सुनेँ ।’
घरमा सारङ्गीको माहोला भएकाले २४ वर्षे प्रिन्सले सानैमा सारङ्गीका तारहरुमा बेरिए । ‘घरमा सबैजना सारङ्गी बजाउनुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘म प्रत्येक विहान ब्यूँझदा सारङ्गीको धुनसँगै ब्यूँझन्थेँ ।’
कफीको कप हातमा समातेर उचालेका थिए, प्रिन्सले । तर, त्यो सिप उनले लिएनन् । फेरि कफी कपलाई टेबलमा राखे । अनि भने, ‘म सानोमा बिहान उठ्दा घरमा कोही सारङ्गी बजाइरहनु भएको हुन्थ्यो, कोही गाइरहनु भएको हुन्थ्यो ।’
यति भनिसकेर प्रिन्सले कफी पिए ।
हामीले कुराकानी क्याफेको एउटा कुनामा बसेर गरेका थियौँ । विस्तारै क्याफे भरिँदै गयो । हामीले ठाउँ फेर्यौँ ।
फेरि बाल्यकालमा फर्किए, प्रिन्स । ‘सात वर्षको हुँदा त म आफैं सारङ्गी बजाउने भइसकेको थिएँ,’ उनले भने, ‘मलाई सारङ्गी बजाउन आउने भएकाले नै स्कुलमा पनि मलाई साथी र शिक्षकहरुले कुनै कार्यक्रम हुँदा बजाउन लगाउनुहुन्थ्यो ।’
पुस्पसदन स्कुलमा पढ्थे, प्रिन्स । अन्तरस्कुल प्रतियोगिताहरुमा पनि उनी स्कुलबाट छानिन थाले, साङ्गीतिक कार्यक्रमहरुका लागि ।
‘हामीले धेरै यस्ता प्रतियोगिताहरु जितेका थियौँ,’ उनले भने, ‘घरमा पनि साङ्गीतिक माहोल भएकाले र स्कुलमा पनि त्यो माहोलका लागि प्रोत्साहन पाएकाले मैले झन्झन् राम्रो गर्दै थिएँ ।’
पढाइमा ठिकै र संगीतमा राम्रो गरिरहेका प्रिन्सलाई परिवारले अझ राम्रो स्कुल पढाउने मन बनायो । उनी ग्यालेक्सीमा पढ्न थाले । ‘ग्यालेक्सीमा झन् स्पेसिफिक टिचरहरु हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यहाँ मैले झन् गहिराइमा संगीतलाई बुझ्न पाएँ ।’
सानैमा संगीतको गहिराइमा पुग्ने कुरालाई ध्यानमा राखेकाले हुनुपर्छ, प्रिन्सले ६ कक्षामा हुँदा नै साथीहरु बटुलेर ब्यान्ड बनाए । यतिबेला फेरि उनी पुष्पसदन फर्किसकेका थिए । घरनजिकैको स्कुल भएकाले उनीसँग समय पनि बच्न थालेको थियो ।
‘केही नातेदार र साथीहरु मिलेर इन्स्ट्रुमेन्टल ब्यान्ड बनाएका थियौँ, हामी सबै पुष्पसदनमा नै पढ्थ्यौँ,’ उनले त्यो ब्यान्डको नाम राखेका थिए– सक्षम ।
सक्षममा भएका सबैले मादल, सारङ्गी, ढोलकलगायत नेपाली बाजाहरु बजाउँथे । यसले सारङ्गीमा प्रिन्सलाई अझ पोख्त बनाउँदै लगिरह्यो ।
तर, अहिले त प्रिन्सले आफूलाई सारङ्गीमा मात्र सिमित गरिरहेका छैनन् । सँगसँगै पियानो पनि सिकिरहेका छन्, गितार बजाउन थालिसकेका छन् । ‘एउटा संगीतकारका लागि धेरैभन्दा धेरै बाजाको ज्ञान हुनु आवश्यक छ,’ उनले भने, ‘म त अब यही क्षेत्रमा लाग्ने निर्णयमा पुगिसकेको छु, यसमा नै केही गर्नुछ ।’
त्यसो त प्रिन्सले अहिलेसम्म दुई सयभन्दा धेरै गीतमा सारङ्गीको धुन मिसाइसकेका छन्, चर्चित गायक विपुल क्षेत्री, आनी छोइङलागयतसँग काम गरिसकेका छन् ।
‘सारङ्गीको प्रभाव अब विस्तारै बढ्दो छ,’ उनले भने, ‘तर, यो अझै पनि नेपालमा मात्र सिमित छ, म त सारङ्गीको धुनलाई विश्व बजारमा पुर्याउन चाहन्छु, त्यसका लागि प्रयासरत पनि छु ।’
क्याफेमा कफीको अन्तिम सिप लिँदै प्रिन्सले भने, ‘सारङ्गी धुनले विश्व संगीतलाई पक्कै लोभ्याउने छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।