काठमाडौं– सुनील पोखरेल । नेपाली रङ्गमन्च इतिहासमा स्वर्णीम काललाई सम्झने हो भने सुनील पोखरेलको नाम छुट्दैन ।
तर, यो नाम रङ्गमन्चको स्टेजमा नदेखिएको अब त तीन वर्ष भइसकेको छ ।
योबीच सुनील आफैंले जीवनमा अप्स एन्ड डाउन्स भोगेको स्वीकार्छन् । जीवनमा ‘नाटक’ भोगेका छन् ।
तर, सुनील रङ्गमन्चको पर्फमेन्सलाई नाटक भन्न रुचाउन्नन् । विडम्बना ! सुनील र मेरो यो प्रसङ्गको कुराकानी यही शब्दबाट सुरु भयो ।
शंकर लामिछानेको कथा ‘आत्माको मीमांसा’माथि आधारित यो नाटक मन्चन हुँदै छ भन्ने थाहा पाएपछि सुनील पोखरेलको मोबाइलमा फोन गरेँ ।
‘हेलो,’ उताबाट जवाफ आयो, केही घन्टीपछि ।
आफ्नो परिचय दिएपछि मैले भनेँ, ‘तपाईं नयाँ नाटक गर्दै हुनुहुन्छ रे नि !’
‘नाटक गर्दै होइन, खेल्दै छु,’ सुनीलले भने, ‘के गरौँ ?’
मैले यही विषयमा कुरा गर्न समय मागेँ । समय मिल्यो पनि । हामीले मन्डला थिएटरमा भेट्यौँ, जहाँ यो नाटक १० साउनदेखि मन्चन हुँदै छ र मन्चमा देखिँदै छन्, सुनील पोखरेल । रिहर्सल चलिरहेको थियो, सुनील पोखरेलबाहेक त्यहाँ भएका अधिकांश कलाकार सैनिक पोशाकमा थिए ।
भेट हुनेवित्तिकै सुनील पोखरेल र म थोरै छेउ लाग्यौँ । थिएटरको ढोकैमा राखिएको थियो, एउटा बेन्च । सुनील पोखरेलसँग खाजा खाँदै त्यही बेन्चमा बसेर कुराकानी गर्ने निधो भयो ।
‘अहिले म धेरै ठिक भइसकेको छु,’ विनाप्रसङ्ग सुनीलले भने, ‘एक्सरसाइज गरेँ, अब पहिलेजस्तो जतिबेलै झ्यापमा हुन्नँ ।’
कालो चियाको कप हातमा लिएर हामी अब नाटकभित्र छिर्ने भयौँ ।
‘म नाटकमा त सधैं थिएँ, सिकाउने, निर्देशन गर्ने काम गरिरहेकै थिएँ,’ सुनीलले भने, ‘अब मन्चमा उक्लिँदै छु ।’
जुन दिन सुनीलले फेरि नाटकको मन्चमा जाने निर्णय गरे, त्यही दिन नेपाली रंगमन्चका लागि एउटा खुसी जन्मियो– आरोहण गुरुकुलको ब्यानरमा यो नाटकमाथि काम हुँदै छ ।
‘त्यसमाथि यसलाई प्रवीण खतिवडाले निर्देशन गर्दैछन्,’ सुनीलले चियाको चुस्की लिए, एकैछिन सोच अनि भने, ‘फेरि यो शंकर लामिछानेको कथामा आधारित नाटक हो ।’
शंकर, सुनील र प्रवीणको यो संगम कस्तो होला त ? त्यसका लागि नाटक मन्चन हुने दिन पर्खिनु पर्ने छ ।
तर, शंकरसँग सुनीलको सामिप्यता भएको चाहिँ धेरै वर्षअघि देखिको हो । हो, शंकरका शब्दहरुसँग, शंकरका भावहरुसँग र पुस्तकहरुसँग ।
शंकर लामिछानेको देहान्त भएको एक दुई वर्ष मात्र भएको थियो, उनका कृति सुनीलका हातमा पर्न थाले । त्यसपछि शंकरका कृतिले सुनीललाई लोभ्याउन थाले, उनले शंकरका शब्दमा जीवन देखे ।
‘मैले शंकर लामिछानेलाई पहिलो पटक कृतिका रुपमा गौँथलीको गुँडमा नै पढेको हुँ जस्तो लाग्छ,’ सुनील ०३६ सालतिर फर्किए, ‘शंकरले धेरै विधामा कलम चलाए, विज्ञान कथादेखि लिएर जीवन दर्शनसम्म । मलाई चाहिँ सबैभन्दा मन परेको पाटो उनको लेखन शैली हो ।’
तर, यही शैलीले सुनीललाई नाटकमा तानेको चाहिँ होइन ।
यसको त फरक कथा छ ।
नाटकका निर्देशक प्रवीण खतिवडालाई एक पटक हेरे सुनीलले, मतिर फर्किए अनि फेरि प्रवीणलाई सोधे– यो खासमा कसरी प्रस्ताव भएको थियो ?
प्रवीण मन्डला थिएटरको माथिल्लो तलामा बाहिरी वरन्डामा बसिरहेका थिए । उनले यसको बेलिविस्तार त्यहाँबाट नै सुनीललाई लगाए ।
सुनीलले त प्रवीणका नाटक खेलौँ भन्ने धेरै प्रस्ताव टार्दै आएका रहेछन् !
एक दिन सुनीलको मुड बदलियो । उनले एउटा फिल्ममा काम गर्ने भएकाले तिहार अगाडि नै सकिने भए गरौँ भन्ने उत्तर प्रवीणलाई दिए ।
त्यसपछि सुरु भयो, यो नाटकको काम ।
अब सुनीललाई अर्कै संसारमा छिरेको जस्तो आभास भएको छ । उनले भने, ‘बीचमा ऊर्जा नै थिएन, अब म आफू पनि फिट भएको छु, मजा मानिरहेको छु ।’
के यसको अर्थ उनी मन लागेर रिहर्सलमा ध्यान दिइरहेका छन् त ?
यो प्रश्न खस्न पाएको थिएन, सुनीलले मुखैमा पुर्याएको चियाको कप फेरि तल बेन्चमा राखे अनि भने, ‘म अहिले त नियमित आइरहेको छु, नाटक खेल्ने वा रिहर्सल गर्ने समयमा म सधैं नियमित नै हुन्छु ।’
यति भनिसकेर सुनील मज्जाले हाँसे ।
अब सुनीलको चिया ब्रेक सकिएको थियो । उनी छिटो मन्चमा जान चाहन्थे । त्यहीबीचमा मैले सोधेँ, ‘कत्तिको आशावादी हुनुहुन्छ त ?’
कुनै समय बजारमा हल्ला थियो, सुनील पोखरेल निराशावादी भएका छन्, जीवनदेखि निराश छन् ।
तर, यो नाटकको प्रसङ्ग थियो ।
उनले यसको उत्तर सहजै दिए, ‘आफ्नो काम दर्शक भएर हेर्न मिल्दैन, निर्देशकले त राम्रो भइरहेको छ भनेका छन् ।’
अनि अन्तिममा एउटा शब्द थपे, ‘हेरौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।