काठमाडौं– राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी आफ्ना मन्तव्यको शैलीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । बुधबार पनि राष्ट्रिय सभामा उनले मन्तव्य राख्दा वरपरका सांसद् मुसुमुसु हाँसिरहेका थिए । गम्भीर विषयमा रामनारायण बिडारीले आफ्नै शैलीमा तीन विषयमा कुरा राखे ।
वर्षाको विषयमा उनले कुराकानी उठान गरे । पानी हिजो पनि परेको र आज पनि परेको र पर्नु पर्ने भन्दै उनले भने विषय निकाले ।
तर, तत्काल उनी विदेशमा युवा गएको विषयमा गयो । श्रम बेच्न युवा विदेशमा गएको र कुलतमा फसेका युवा नेपालमा नै रहेको उनले बताए । त्यसपछि उनले भने, ‘सरकारलाई यो कुरा थाहा छ कि छैन ? थाहा भएको भए के गरिरहेको छ त ?’
उनले अनि मदिराको विषय निकाले । भने, ‘रक्सी, जहाँ पनि खान पाइने ? मन्दिरको छेउमा बसेर पनि खान पाइने ? जहाँ पनि रक्सी खान पाइने संसारको कुन देशमा हो भन्दा हाम्रो देशमा नै हो ।’
अनि उनले सोधे, ‘विवाह गर्न २० वर्ष हुन पर्ने, रक्सी खान ८ वर्ष भए हुने ? यस्तो नियम कसले बनायो ?’
उनले मदिराका कारण महिला हिंसा, घरेलु हिंसा तथा संगठनिक अपराध भएको बताए ।
उनले भने, ‘एउटा पसलमा रक्सी पसल, अर्कोे सटरमा औषधि पसल ?’ किन यस्तो गरेको सरकार भन्दै उनले नै भने, ‘कर उठाउन हो सरकार ?’
उनले प्रत्येक वडामा जँड्याहाहरुको लिस्ट बनाएर कसले कति किन्छ भन्ने सूची बनाउन पर्ने पनि बताए । अनि सरकारलाई सुझाव दिए– रक्सी जोन बनाए हुन्छ सरकारले । रक्सी खान चाहनेले त्यहाँ जान नाम लेखाउन पर्ने उनको तर्क थियो । घरेलू हिंसा, राष्ट्रिय अपराध हटाउने हो भने यो कदम सुरु गर्ने उनले बताए ।
उनले जुवा तास, इलेक्ट्रोनिक खेलहरुले पनि नेपालमा युवामा समस्या बढाउँदै गएकोमा जोड दिए ।
त्यसपछि उनले एउटा देश सभ्य हो कि होइन भन्ने थाहा पाउन सार्वजनिक बाटो हेर्नु पर्ने उनले बताए । ‘पूर्वपश्चिम राजमार्गमा बढेमानका गाडी हिँड्छन्,’ उनले भने, ‘त्यहाँ पशु हिँड्ने बाटो खोइ ? सरकारले यो गाई हिँड्ने बाटो त्यो भैंसी हिँड्ने बाटो भनेर छुट्ट्याउन पर्ने भयो ।’
उनले राजधानीकै सडकमा पनि पैदलयात्रीका लागि बाटो नभएको गुनासो गरे । नेताहरुले विदेश भ्रमणमा गएर हेरेर आएकाले पनि यसमा विशेष चासो दिनु पर्नेमा जोड दिए ।
उनले सरकारले पैदलयात्री र साइकल यात्राका लागि नयाँ बाटो बनाउनु पर्नेमा पनि जोड दिए ।
उनले पहिलेका सरकारले नगरेका र अहिलेको सरकार यसलाई तत्काल थालनी गरोस् भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए ।
उनले सरकार र मन्त्रीहरुले यो विषयमा सदनलाई जानकारी गराउनु पर्ने पनि माग राखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।