सरकारले निजी विद्यालयको शुल्कमा अनुगमन गर्नुपर्छ : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एक रुपता ल्याउनुपर्ने बताएका छन् । ३७औँ बिपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको माग गर्ने पक्षधरले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि यसले निम्त्याएको शैक्षिक अराजकता र नेवि संघको भूमिका’ विषयक शैक्षिक बहसमा उनले शिक्षाको नाममा ब्रह्मलुट गर्न नपाइने बताए ।

‘निजी विद्यालयले राज्यको राजस्व संकलनमा ठूलो योगदान दिएको छ, तर योगदानको नाममा ब्रह्मलुट गर्न पाइँदैन, सरकारले निजी विद्यालयको शुल्कमा अनुगमन गर्नुपर्छ’, उनले भने । गुणस्तर शिक्षामा सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो ।     

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सरकारी विद्यालयमा सरकारको ठूलो लगानी भए पनि निजी विद्यालयको दाँजोमा किन राम्रो शिक्षा दिन सकेनन् भन्ने बारेमा खोजी हुनुपर्ने बताए । समयानुसार पाठ्यक्रम परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । 

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले शिक्षा क्षेत्रमा नियमन नहुँदा चर्को शुल्क वृद्धि हुँदै गएको उल्लेख गरे । ‘उद्यम गर्ने र नियमन गर्ने व्यक्ति एउटै हुँदा शिक्षा क्षेत्रमा शैक्षिक अराजकता हुँदै गएको छ,’ उनले भने ।

शिक्षाविद् डा. सुरेन्द्र केसीले विश्वविद्यालय पठनपाठन गर्ने थलोभन्दा राजनीतिक गर्ने थलो हुँदै गएको उल्लेख गरे । ‘पढाइका लागि नेपाली युवाले विदेशमा खर्बौं रुपैयाँ लगानी गरेका छन्, यसले नेपालको शिक्षालाई कमजोर बनाउँदै गएको छ’, उनले भने । उनले शिक्षा बुझेको व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी नबनाउँदा नेपालको शिक्षा क्षेत्र खस्कँदै गएको उल्लेख गरे ।



राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले नेपालको शिक्षा क्षेत्र क्रमशः विकास हुँदै गएको बताए । ‘शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी हुन नसक्दा सोचेजस्तो विकास हुन नसकेको हो’, उनले भने । नेपालमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा विद्यार्थी विदेश पढ्न जान बाध्य हुनुपरेको उनको भनाइ थियो । 

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी विद्यालयको उपस्थिति सहरी क्षेत्रमा भएकाले सहरी र गाउँका विद्यालयबीचको दूरी कम गरी समान शिक्षा प्रदान गर्न नेवि संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए । 



‘सरकार नै निजी विद्यालय खोल्न उद्यत रहेको छ’, उनले भने । कालो धनलाई सेतो बनाउन शिक्षा क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो । 

  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १६:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया