सिड्नी–
अरुलाई पछ्याउँदै दास मात्र हिँड्छ
आफ्नो स्व–चेतनाले खास मात्र हिँड्छ
आगोको बाटो सही म स्वयं हिँड्छु
अरुको काँध चढेर त लास मात्र हिँड्छ ।
लेखक तथा निर्देशक प्रकाश आङदेम्बेले यो रुबाई वाचन गर्दा अस्ट्रेलियाको युनिभर्सिटी अफ तास्मानियाको थिएटर तालीले गुन्जायमान भयो । नेपालीभाषी सृजनशील भुटानी युवाको संस्था क्रिएटिभ जर्नी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका आङदेम्बेले दर्जनौं गजल तथा रुबाई वाचन गरे ।
‘नेपालीपन र मन हाम्रो पहिचान हो,’ सिर्जना वाचनकै बीच आङदेम्बेले भने, ‘संसारमा जहाँ पुगे पनि हाम्रो परिचय नेपाली हो । हामीले कुल र मूल बिर्सन हुँदैन ।’
कार्यक्रममा गजल मुसयरा सिड्नीका संयोजक जितेन्द्र मल्लले आधा दर्जनभन्दा बढी गजल सुनाए ।
सोही कार्यक्रममा साहित्यकार दुर्गाप्रसाद रिमालको रुबाई कृति ‘समयको आयु’ लोकार्पण गरियो । विमोचित कृतिबाट रिमालले आधा दर्जन रुबाई वाचन गरे ।
कवि पवित्रा साँवाले केही कविता वाचन गरिन् । स्थानीय नेपाली र नेपालीभाषी कलाकार मित्र गुरुङ, अन्जु प्रधान, विशाल राई, सुस्मिता प्रधान, माया क्षेत्री, विनोद लामिछाने, यादव मगर लगायतले लोक संगीत तथा नृत्य प्रस्तुत गरे ।
कार्यक्रमलाई युनिभर्सिटी अफ तास्मानियाले सहयोग गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।