मेराे संगीत: साइकल बेचेर काठमाडाैं आएँ, बाकाे प्रेरणाले संगीतमा लागेँ

म नवलपरासीको कावासोतीमा जन्मिएँ, हुर्किएँ । म जन्मिँदा त हाम्रो घरमा टिभी पनि थिएन । गाउँमा पनि धेरैकोमा थिएन । केही पछि टिभी आए, तर त्यसमा एउटा मात्र च्यानल आउँथ्यो, नेपाल टेलिभिजन । 

टिभी नभए पनि रेडियो चाहिँ सबैका घरमा हुन्थ्यो । हाम्रो घरमा पनि थियो । बाले किन्नुभएको त्यो रेडियो जतिबेला पनि बासँगै हुन्थ्यो । बाले नै त्यसलाई प्रयोग गर्नुहुन्थ्यो । मेरो बाबा रेडियोको पारखी हुनुहुन्थ्यो, गीत र समाचार सुन्न छोड्नुहुन्थेन । खेतमा काम गर्न जाँदा पनि उहाँ रेडियो सँगै लिएर जानुहुन्थ्यो ।

मैले पनि बाकै सिको गरेँ । ममा पनि रेडियो सुन्ने बानी बस्यो ।

पछि कस्तोसम्म भयो भने स्कुलबाट फर्किएपछि मलाई रेडियो चाहिनै थाल्यो । म रेडियो सुन्दै गृहकार्य गर्थेँ । कुनै दिन बाले रेडियो आफैंसँग लैजानु भएको रहेछ भने म निराश हुन्थेँ । अनि बा आउँदासम्म कुरेरै बस्थेँ ।

कहिलेकांही ब्याट्री नहुँदा पनि म रेडियो सुन्न पाउँदिनथेँ । ब्याट्रीबाट मात्र हाम्रो रेडियो चल्थ्यो, ब्याट्री सकिने समयमा रेडियोको स्वर निकै धीमा आउँथ्यो ।  

स्कुलबाट फर्किएपछि रेडियो सुन्ने बानी त मेरो नशा नै हुन थाल्यो, एक प्रकारको एडिक्सन । कुनै दिन रेडियो पाइनँ भने ठूलै कुरा छुटाएको छु जस्तो आभास हुन थाल्थ्यो । फेरि घरमा मैले जति रेडियो सुने पनि कसैले कराउनु भएन, सबैले त्यसलाई सहज रुपमा नै लिनुभयो । यही भएर पनि मैले रेडियो सुन्नबाट खासै धेरै वन्चित हुन परेन । 



रेडियो सुन्दै गर्दा त्यसमा बज्ने गीतहरु म गुनगुनाउँथे । बाले पनि मलाई भन्नुहुन्थ्यो– तेरो स्वर राम्रो छ । 

अहिले मलाई महसुस भएको छ, मेरो स्वरलाई राम्रो भनिदिएर बाले मलाई प्रेरणा दिनु भएको थियो । त्यसैले पनि संगीतमा मलाई ल्याउने पहिलो श्रेय मेरा बालाई नै जान्छ ।



रेडियो नेपालमा त्यति बेला नारायण गोपाल, गोपाल योन्जन, भक्तराज आचार्य, तारा देवीलगायतका गीत बज्थे, म तिनै गीत सुनेर हुर्किएँ । तीमध्ये कतिपय गीत त मलाई कन्ठ नै थिए ।

घरमा रेडियो सुन्दा गाउने कुराले मेरो गायन यात्रा सुरु भयो । पछि स्कुलमा हुने सानातिना कार्यक्रममा पनि गाउन थालेँ । स्कुलमा कक्षामा र कार्यक्रममा गाउँदा मेरा साथीहरु र गुरुहरु मेरो प्रशंसा गर्थे ।  त्यसले गर्दा मलाई झन्झन् गायनप्रति रुचि बढ्दै गयो ।

अब म गाउँमा हुने कार्यक्रमहरुमा पनि गीत गाउन थाल्ने भएँ । त्यहाँ पनि मलाई राम्रो हौसाइन्थ्यो, सबैले मेरो स्वरको प्रशंसा गरिरहेका हुन्थे । 

घरमा बाआमा, दिदीदाइहरुको प्रशंसा सुनेर म साँच्चिकै हौसिएको थिएँ ।

२०५५ सालमा मैले एसएलसी दिएँ । एसएलसी दिएपछि मलाई संगीतमा नै पढ्ने मन भयो । काठमाडौंमा संगीत पढ्न पाइन्छ रे भन्ने पनि सुनेँ । मैले काठमाडौंमा नै आएर संगीत पढ्ने मन बनाएँ । 

तर, परिवारमा यो कुरा मानिएन । मलाई काठमाडौंमा पढाउने आर्थिक अवस्था परिवारको थिएन ।

हो, घरमा खान लाउनकै समस्या त थिएन तर मलाई काठमाडौंमा राखेर पढाउने क्षमता पनि उहाँहरुको थिएन । घरमा आयआर्जनको स्रोत भनेको दाइ मात्र हुनुहुन्थ्यो । उहाँ चिनी मिलमा काम गर्नुहुन्थ्यो । तर, उहाँको आम्दानीले घर खर्च चलाउन नै धौधौ भइरहेको थियो ।

घरको यो सब समस्या मलाई थाहा थियो । फेरि मेरो बुबा दमले थलिनु भएको थियो । उहाँलाई औषधि किन्ने काम म गर्थेँ । यसको अर्थ के भने मलाई घरमा के समस्या परिरहेको छ भन्ने थाहा थियो । यस्तो अवस्थामा म उहाँहरुलाई निकै दबाब दिएर काठमाडौं पढ्न जान्छु भन्न सक्दिनथेँ ।

तर, सपना त मैले काठमाडौंमा पढ्ने बनाइसकेको थिएँ ।

मैले आफ्नो सपनालाई मुख्य प्राथमिकतामा राखेँ, एक दिन घरबाट भाग्ने निर्णय गरेँ । 

त्यति बेला मैले स्थानीय कलेजमा भर्ना गरिसकेको थिएँ । पढ्न थालेको पनि तीन चार महिना भइसकेको थियो । तर, मैले त्यो सब छोडेर काठमाडौंमा नै जाने निर्णय गरेँ । अनि त्यही कलेज जानका लागि दाइले किनिदिनु भएको साइकल बेच्ने र काठमाडौं जाने सोच बनाएँ । 

मैले त्यो साइकल १६ सयमा बेचेँ । मसँग त्यति बेला गोजीमा २–४ सय पनि थियो । म त्यो पैसा लिएर काठमाडौंका लागि गाडी चढेँ । गाडीमा बल्ल मैले सोचेँ– काठमाडौंमा गएर कहाँ बस्ने होला ? कोसँग बस्ने होला ? 

यी कुनै पनि कुराको ठेगान मलाई थिएन ।

२०५६ सालमा घरमा कसैलाई नभनी म काठमाडौं आएँ । 

काठमाडौं मेरालागि सपनाको सहर थियो । तर, यो सहर मेरालागि पूरै नौलो पनि थियो । यहाँ कहाँ जाने, कोसँग जाने र कसरी जाने भन्ने पनि मलाई थाहा थिएन ।

तर, मैले आफ्नो सपनालाई पछ्याउन छोडिनँ । मैले संगीत नै सिक्छु भनेर सरगम संगीत पाठशालामा पुगेँ र भर्ना गरेँ ।

म त्यति बेला बसपार्कमा एउटा होटलमा अरु मानिसहरुसँग कोठा सेयर गरेर बसेको थिएँ । केही दिनमा मसँग भएको पैसा सकियो । त्यसपछि सुरु भयो मेरो बिचल्ली पनि । 

अनि त मैले पनि फेरि बुबाआमा र घरलाई सम्झिन थालेँ । बाको रोगी शरीर, दाइहरुको दुःख सबै सम्झन थालेँ । अनि सोचेँ– म भागेर आएकाले घरमा कति पीडा भएको होला ? यो कुराले मेरो मनमा डेरा जमायो । त्यसपछि म झन् गल्न थालेँ । 

मनमा अनेक प्रश्नहरु सम्झिन थालेँ । 

ती प्रश्नमध्ये मैले निकै टड्कारो रुपमा सम्झिएको एउटा प्रश्न थियो– म किन यस्तो स्वार्थी भएको हूँला ? 

हो, म त्यति बेला स्वार्थी नै भएको थिएँ, आफ्ना लागि भनेर घरका सबैलाई छोडेर आएको थिएँ, मेरा सपनालाई मात्र मैले भ्यालु दिएको थिएँ ।

काठमाडौंमा आएको १५ दिन जति भएको थियो, घरमा कसैलाई पनि नभनी आएको कुराले मलाई पीडा हुन थाल्यो । अनि मैले एउटा पत्र लेखेँ घरमा । त्यो चिठीमा मैले लेखेको थिएँ– म त सपनाको डोरी समाएर काठमाडौं आएको छु, म यहाँ ठिकै छु, चिन्ता नगर्नू । 

म केही समय संगीत सिक्न जान्थैँ । अरु खाली समय यत्तिकै बसपार्कमा टहलिएर बिताउँथे । त्यस्तै क्रममा एक दिन बसपार्कमा भेट हुनुभयो, वासुदेव मैनाली । उहाँ कैलालीबाट काठमाडौंमा काम खोज्न आउनु भएको रहेछ । उहाँसँग मेरा धेरै कुरा मिले । हामी दुईले एकअर्कालाई गीत गाएर पनि सुनायौँ । 

उहाँले भन्नुभयो– तपाईंको स्वर पनि राम्रो रहेछ, तपाईंले पक्कै राम्रो गर्नुहुन्छ । 

त्यति बेलासम्म हामी दुईले एकअर्कालाई आआफ्ना कुरा सुनाएका थियौँ, मैले आफ्ना दुःख र काठमाडौं आउँदाको कुरा सुनाएको थिएँ । 

मेरा सबै कुरा सुनिसकेपछि उहाँले प्रस्ताव राख्नुभयो – हिँड्नुस् मसँग बस्न जाऔँ न त । उहाँ आफ्नी मित दिदीको डेरामा बस्नुहुँदो रहेछ, जोरपाटीमा । मलाई थाहा थियो, त्यसरी म उहाँको कोठामा जानु त हुँदैनथ्यो तर म यति ठूलो समस्याको अवस्थामा थिएँ कि म त्यहाँ नजानुको विकल्प नै थिएन । 

म उहाँको मित दिदीको कोठामा गएँ । उहाँकी मित दिदी एउटा छाला कारखानामा काम गर्नु हुँदो रहेछ । उहाँहरुको अवस्था पनि त्यति बेला खासै सहज थिएन । 

दुई दिन त्यहाँ बसेपछि म अन्यत्र बस्ने योजनामा लाग्न थालेँ । 

कैलालीका ती साथीलाई मैले धेरै समयसम्म खोजिरहेँ, तर उहाँसँग सम्पर्क नै हुन सकेन । आजभोलि पनि कहिलेकांही उहाँलाई सम्झन्छु, तर उहाँसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन । 

त्यसो त त्यो समयमा बनेका अरु धेरै साथीहरुसँग पनि मेरो अहिले सम्पर्क छैन । कहिलेकाहीं सोच्दा यस्ता कुराहरुले दुखी बनाउँछ । तर, जीवनको रितै यस्तो रहेछ !

मैले पठाएको चिठी घरमा पुगेछ । त्यो चिठीमा मैले आफ्नो पढ्ने सरगम संगीत पाठशालाको फोन नम्बर पठाएको थिएँ । केही दिनपछि त्यहाँ मेरो फोन आयो । दाइले गर्नुभएको रहेछ । 

उहाँले फोनमा पोखराबाट दिदीभिनाजु पनि काठमाडौं आएको बताउनु भयो । दाइले मलाई दिदीभिनाजुसँग बस् भन्नुभयो । म केही दिनपछि दिदीभिनाजुको कोठामा पुगेँ, त्यहाँ नै बस्न थालेँ । 

केही पछि दाइ काठमाडौं आउनु भयो । मलाई कोठाको बन्दोबस्त गरिदिनु भयो । त्यति बेला दाइले भन्नुभएको थियो– तैंले घरमा सरसल्लाह गरेरै आएको भए पनि हुन्थ्यो, यसरी भागेर आउँदा उता घरमा सबैलाई तनाव भयो ।

अब त मलाई काठमाडौंमा पढ्नका लागि दाइले नै सहयोग गर्न थाल्नुभयो । म ललित कलामा संगीत पढ्न थालेँ ।

२०५७ सालको दशैंमा म घरमा जाँदा बुबा निकै सिकिस्त हुनुभएको रहेछ । उहाँले मलाई त्यति बेला गाली गर्नु भएन, बरु आफ्नो सपना पछ्याउन प्रेरणा दिनुभयो ।

त्यसको दुई महिनापछि उहाँलाई अस्पताल भर्ना गर्नु पर्ने भयो । बा अस्पतालमा हुनुहुन्छ भन्ने थाहा पाएपछि म काठमाडौंमा बस्न सकिनँ, घर गएँ । केही दिनमा अवस्था अलिक सुधार भएपछि बालाई डिस्चार्ज गरेर घर ल्याइयो । 

तर, त्यसको केही दिनमा उहाँ फेरि सिकिस्त हुनुभयो । म घर गएँ । घर गएको दुई दिनपछि बा बित्नुभयो । उहाँले हामीलाई छाडेर जानु भयो । 

तर, बाले दिनु भएको साथ र सहयोग, उत्प्रेरणा र सपना पछ्याउनु पर्छ भन्ने निर्देशन अहिले पनि मेरो मनमा छ, बाले त भौतिक रुपमा हामीलाई छोडेर जानु भयो तर उहाँले मलाई सिकाएको विश्वास र आफ्ना सपना पछ्याउनु पर्छ भन्ने दृढताले अहिले पनि मसँग छ । सम्झनामा बा सधैंसधैं मसँग हुनुहुन्छ । 

योबीचमा मैले धेरै संघर्ष गरेँ, संगीत सिक्न भारतसम्म पुगेँ । नेपालको गान्धर्व संगीत विद्यालयमा पनि संगीत सिक्न पुगेँ । 

तर, यो सबमा र आज म संगीतमा जहाँ छु, सबैमा बाको विशेष भूमिका छ । उहाँले प्रेरणा र योगदान छ । 

गत वर्ष कवि निरा शर्मा मकहाँ आउनुभयो र आफूले लेखेको एउटा गीतमा संगीत भर्न अनुरोध गर्नुभयो । तर, मैले निराजीको कविता ‘बा’ पहिले नै सामाजिक सन्जालमा पढेको थिएँ । त्यो कवितामा मैले मेरा बालाई पाएको थिएँ । कविता पढ्दा मलाई लागेको थियो– निराजीले यो मेरै लागि लेख्नु भएको हो ।

अनि मैले नै निराजीलाई त्यो कवितामा पहिले संगीत भरौँ न भन्ने प्रस्ताव गरेँ । उहाँले मान्नुभयो । मैले आफ्नो बालाई जुन कवितामा झल्झल्ती देख्छु, त्यसमा संगीत भर्न सक्ने अहिलेको हरि लम्साल मलाई बाले नै बनाउनु भएको हो । 

 

  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १३:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया