मिसाइल प्रक्षेपण दक्षिण कोरियालाई चेतावनी : किम

एजेन्सी– उत्तर कोरियाले बिहीबार बिहान समुन्द्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । सो प्रक्षेपण दक्षिण कोरियालाई चेतावनीस्वरुप गरिएको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् ।  

उत्तरले दक्षिण कोरियालाई उच्च प्रविधिका हतियार आयात र अमेरिकासँगको संयुक्त सैन्य अभ्यास बन्द गर्न चेतावनी दिँदै आएको छ । त्यसैको चेतावनीस्वरुप उक्त मिसाइल प्रक्षेपण गरेको शुक्रबार त्यहाँको सञ्चारमाध्यम केसीएनएमा उल्लेख गरिएको छ । 

दक्षिण कोरियाले जनाएअनुसार उत्तर कोरियाले बिहीबार छोटो दूरीका दुईवटा विस्फोटक मिसाइल ४३० किमीको दूरीमा पूर्वी समुन्द्र (सी अफ जापान)मा खसालेको छ । सो मिसाइल प्रक्षेपण अमेरिका र उत्तर कोरियाली नेताबीच निःशस्त्रीकरणका विषयमा सहमति भएपछिको पहिलो हो । 

नेता किमले दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । दक्षिणले एकातिर शान्तिको वकालत गरेको, तर अर्कोतिर अत्याधुनिक हतियारको आयात र संयुक्त सैन्य अभ्यासको तयारी गरेको उनको आरोप छ ।   

अमेरिकी सेनाले हरेक वर्ष दक्षिण कोरियाली सेनासँग मिलेर युद्धअभ्यास गरिरहेकोमा उत्तर कोरिया आक्रोशित बनेको छ । हाल दक्षिण कोरियामा करिब ३० हजार सेना अभ्यासरत छन् ।





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १६:५८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया