आर शाला लाइभः स्मृतिहरुमा हराउँदै गुन्जिए विक्रम गुरुङ
फरकधार / ११ साउन, २०७६

काठमाडौं– विक्रम गुरुङ । अहिलेको पुस्ताका लागि गीतसंगीतमा सुनिएको नाम नहुन सक्छ । तर, गुरुङका केही गीतले नेपाली संगीतको बजारमा जुन तहल्का मच्चाएका छन्, त्यस्तो विरलै हुन्छ । 



किनकि विक्रमको नामै नसुनेका अहिलेको पुस्ताले पनि उनले रचेका गीत गुनगुनाइरहेका हुन्छन् । ‘भुँलुभुँलु लाग्यो मलाई....,’ विक्रमले लेखेका हुन् भन्ने धेरैलाई थाहा नहोला, तर यसलाई अरुण थापाले आफ्नो स्वर दिए र सबैको जिब्रोमा टपक्क टिपेर राखिदिए ।

अरुण थापाले भौतिक शरीर छोडेर गएको अब २० वर्ष भइसकेको छ तर उनले स्वर दिएका गीतहरु अहिले पनि समयसमयमा गुन्जिरहन्छन् । 



शुक्रबार साँझ नेपालयको आर शालामा पनि उनले गाएका गीत गुन्जिए । तर, यसपटक फरक के थियो भने यी गीतमा स्वर गीतका रचनाकार विक्रम गुरुङले दिएका थिए । 



पलेँटी श्रृङ्खलामा गुरुङले सबैभन्दा पहिले सम्झिए, अरुणलाई नै । ‘अस्ति सोमबारका दिन अरुणको बिसौँ पुण्यतिथी थियो,’ उनको स्वर थोरै काँपेको सुनियो, ‘आजको पलेँटी म अरुण र मेरो पहिलो गीत कतै टाढा तिमीबाट पुगेँ भने बाट गर्न चाहन्छु ।’

त्यसपछि उनका ओठहरु चलायमान भए, हार्मोनियममा औंलाहरु ।

विक्रम देहरादूनमा जन्मिए, हुर्किए । पछि २१–२२ वर्षको हुँदा उनी पोखरा आए । 

त्यही पोखराले भेटाइदियो, अरुण र विक्रमको । 

‘अरुणसँगको भेटपछि हामी दुवैलाई हौसला भयो, हाम्रो भेटले हामी दुवैलाई ट्रिगर गर्यो,’ पहिलो गीत गाइसकेपछि विक्रमले भने, ‘यो गीत हामीले चार पाँच महिना सँगै अभ्यास गरेपछि रेकर्ड गराएका थियौँ ।’

दार्जिलिङ, पोखरा, काठमाडौं हुँदै विक्रम हङकङ पुगे । जीवन डोर्याउन यति लामो ‘सफर’ गरेका विक्रमले पोखराका ती दिन सम्झिए, अरुण र अन्य साथीसंगतीको विषयमा पनि कुरा राखे । 

नोस्टाल्जियाले सायद विक्रमलाई छपक्कै छोपेको थियो, गायक आभासका प्रश्नहरुमा उनी विगतमा पुग्थे र आफ्नो मनमा गाँठो परेका सम्झनाका पोयोहरु फुकाएपछि उनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । 

‘यो पहिलो गीत पनि अरुणले संयोगले रेकर्ड गर्न पाएको हो,’ विक्रमले सम्झिए, ‘रेडियो नेपालमा उसले स्वर परीक्षा पास गरिसकेको थियो, तर गीत रेकर्ड गर्न समय मिलेको थिएन । अर्को एकजना गायक बिरामी भएपछि उसकै समयमा अरुणले यो गीत रेकर्ड गराइहाले ।’

सम्झनाको गहिराइमा पुगेका विक्रमले शुक्रबार साँझ आर शालामा आधा दर्जनभन्दा धेरै गीत गाए, आधा समय अरुण थापासँगको सहकार्यको चर्चामा पनि बिताए ।

कार्यक्रममा दोस्रो गीतका रुपमा विक्रमले ‘आँखाको निद खाेसी लाने...’ प्रस्तुत गरे । दर्शकदीर्घामा थिए, उनका ‘दोस्त’ सरुभक्त । 

विक्रम साथीभाइको प्रसङ्ग सम्झन्थे र फर्किन्थे आफ्नो गीतमा । 

दोस्रो गीत गाइसकेपछि विक्रमले फेरि सम्झिए, पोखराको प्रसङ्ग । 

त्यति बेला विक्रम पोखराको रत्नचोकमा बस्थे । यो त्यस्तै ३४ सालको कुरा हो । विक्रमसँग आफ्नै गितार थिएन । साथीसँग ‘पैँचो’ मागे । 

‘एकदिन त्यही गितार समाएर कोठामा बसेको थिएँ,’ विक्रमले भने, ‘एउटा लाइन फुर्यो, दोस्रो लाइन फुर्यो । त्यसपछि म रोकिएँ ।’

त्यो गीतमा रोकिएका थिए, विक्रम । तर, उनका पाइला अगाडि सरे । 

‘म अरुणको कोठामा पुगेँ,’ उनले भने, ‘अरुणको घरमा नै हामीले यो गीत सकायौँ ।’ 

यहीबीच विक्रमले जोडिदिए– म र अरुण एकअर्कालाई तँ तँ भन्थ्यौँ । त्यसअघि सानो स्वरमा बोलिरहेको जस्तो लागेको थियो, विक्रम । तर, जब उनले तँ तँ भन्ने शब्द भने, आर शालामा हाँसो गुन्जियो । 

त्यही हाँसोमा विक्रमले थपे, ‘यो गीत रेकर्ड गर्दा म पनि अरुणसँगै काठमाडौंमा थिएँ ।’

सम्झनाका तरेलीहरुमा विक्रम कहिँ पनि रोकिएनन् । उनको सम्झना यति सपाट थियो, मानौँ भर्खरै स्त्री लगाएको एउटा सर्ट ह्याङ्गरमा झुन्ड्याइएको छ । विक्रममा पनि ती सम्झनाहरु खात बनेर झुन्डिएका जस्तै थिए । तर, लामो समय हङकङमा बिताएकाले पछुतो मानेका विक्रमले सुरुवातमै भनेका थिए, ‘मेरो सम्झना त्यति सफा छैन ।’

त्यही सम्झनामध्येको अरुणको एउटा सम्झना थियो, आफूहरुलाई मुनामदन वाचन गरेर सुनाउने शिक्षकको । 

यो विक्रमको स्कुले जीवनको कुरा हो । विक्रमले सम्झिए, ‘म, सरुभक्त एउटै स्कुलमा पढ्थ्यौँ, हामीलाई एकजना सर शान्ति सुब्बाले साँझ पख मुनामदन वाचन गरेर सुनाउनुहुन्थ्यो । यसले नै मलाई साहित्यमा रुचि जगाएको हो, साहित्यमा लगाव बढाएको हो ।’

विक्रमले कार्यक्रममा सम्झनाको पोयो फुकाउँदा रसाएका आँखा केही पटक पुछे पनि । 

कार्यक्रमको अन्तिममा विक्रमले ‘भुँलुभुँलु लाग्यो मलाई...’ गाए । र, सम्झनाका स्वर्णीम दिनहरुमा नै अल्झन मन लाग्दालाग्दै पनि अरुणका अन्तिम दिनबारे सम्झिए, ‘अरुणलाई अन्तिम अवस्थामा मैले देखेको थिएँ, भेटेको थिएँ, त्यो म कहिल्यै बिर्सन सक्दिनँ ।’

 

  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १२:८:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया