कहिल्यै पार नलाग्ने भो राजधानीको फोहोर

काठमाडौं– वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मीको भनाइ छ ।  

फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक–चोकमा फोहर थुप्री प्रदूषण फैलन थालेको छ । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीनवटै सुरक्षा निकायको समेत सक्रियता रहेको  थियो । सो अवसरमा समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ अभियानलाई अझ रचनात्मक रुपमा अघि बढाइनुपर्नेमा जोड दिएका थिए । 

रुद्रमती सफाइ अभियानको २७८औँ हप्तामा रुद्रपनेकु झोलुंगे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँ–बायाँ किनारमा सफाइ गरियो । सफाइका क्रममा नदी किनारमा जम्मा भएको दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौं महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत स्थानीयवासीको सहभागिता थियो । 

वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मीले जानकारी दिए । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 
  
आलोकनगर सफाइको १२१ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं। ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित यूएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ ।  

चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गंगाहलबाट बालाजु चोकसम्म १०२औँ हप्ताको सफाइ गरियो । यस क्षेत्रको चक्रपथमा धेरै फोहर जम्मा भएको भेटिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए । 

करिब २०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरियो । सफाइमा सांसद रामवीर मानन्धर पनि सहभागी थिए । 



मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्था सहित टोलवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मीले जानकारी दिए । 

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यकालगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् ।



  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १४:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया