मेरो कप्तानी
[गाैतम गम्भीरकाे ब्लग] व्यक्तिगत स्वार्थका लागि कहिल्यै कुनै निर्णय गरिनँ

एजेन्सी– शाहरुख खानले मलाई पहिलो दिनमै भनेका थिए– यो तपाईंको टिम हो, टिमलाई जस्तो बनाउन मन लाग्छ बनाउनुस्, तपाईं निर्णय लिनुस्, मेरो पूर्ण समर्थन हुनेछ । मैले कोलकाता टिमको सात वर्ष कप्तानी गरेँ । त्यसबीचमा सबै निर्णय म आफैँले गरेँ । ती चाहे सही हुन् वा गलत । 

मैले २०११ को विश्वकपको फाइनलमा ९७ रन बनाएको थिएँ, जसले मेरो करिअरमै टेवा पुर्यायो । मेरो दिमागमा एउटै मात्र कुरा खेलिरहेको थियो– टिमलाई जसरी पनि जिताउनुपर्छ, च्याम्पियन बनाउनुपर्छ । 

आइपिएलको कहानी पनि केही यस्तै छ । कोलकाताको टिम ‘फर्म’मा थिएन । कप्तानीको जिम्मेवारी मलाई दिइयो । मैले सकेजति इमानदार भएर काम गरेँ, निर्णय लिएँ । आफ्नो टिमलाई सधैँ आफूभन्दा प्राथमिकतामा राखेँ । व्यक्तिगत स्वार्थका लागि कहिल्यै कुनै निर्णय गरिनँ । मलाई सधैँ लाग्थ्यो– कप्तान टिमभन्दा ठूलो हुँदैन, कप्तानभन्दा टिम सधैँ ठूलो हो र हुनुपर्छ ।
 
सुरुदेखि नै मेरो सोच थियो– मैले जति पनि निर्णय गर्नेछु, ती निर्णय गर्दा सधैँ टिमलाई नै प्राथमिकतामा राखेर गर्नेछु । टिमको हित हुने निर्णय मात्र लिनेछु । कतिसम्म भने, मैले रन आफ्नो लागि होइन, टिमको लागि बनाउनु पर्छ भन्ने सोच्थेँ । त्यसैले मैले लिएको कुनै त्यस्तो निर्णय छैन, जसमा मैले टिमलाई प्राथमिकतामा नराखेको हुँ । 

मैले टिम इन्डियाबाट पनि ६ खेलमा कप्तानको भूमिका निर्वाह गरेँ, ती सबै खेल हामीले जितेका थियौँ । यसको अलावा मैले रणजित ट्रफी, घरेलु टी–२०, घरेलु वान डे, आइपिएलमा कप्तानी गरेँ । सबैमा राम्रो नै भयो । मेरो कप्तानीमा सिर्फ एकपटक च्याम्पियन्स लिगमा कोलकाताले चेन्नई सुपरकिंग्ससँग हारेको थियो । 

कप्तानी गर्दा आफ्नो व्यक्तिगत स्वार्थबाट सधैँ टाढा रहनुपर्छ । हरेक मान्छेका आफूलाई मन पर्ने, पर्ने मान्छे हुन्छन् । तर, एउटा कप्तानले कोही आफूलाई मन परेकै कारण उसलाई टिममा राख्ने र मन नपरेकै कारण टिममा नराख्ने गर्नुहुँदैन । कप्तानको हैसियतमा हुँदा मैले सधैँ यस्ता किसिमका पूर्वाग्रहबाट टाढा रहने प्रयास गरेँ । र, मैले कहिल्यै कसैलाई त्यो प्रकारले पक्षपात गरिनँ, कसैको पनि करिअर नै खराब होस् भनेर कहिल्यै चिताइनँ । 

कप्तानको जिम्मेवारी सम्हालिरहँदा अर्काे एउटा मुख्य कुरालाई पनि सधैँ ध्यानमा राखेँ । कुनै खेलाडीको व्यक्तिगत जीवन वा बानी–व्यवहारलाई लिएर कसैलाई ‘जज’ गर्नुहुँदैन । मैदानमा हुँदासम्म राम्रो या नराम्रो भन्ने हुन्छ । खेलपश्चात् उनीहरूको व्यक्तिगत जीवनमा दख्खल दिने काम गर्नुहुँदैन ।



२०१२ को आइपिएलको फाइनलमा मैले एक्लै चेन्नई सुपरकिंग्सविरुद्ध ६० प्लस बनाएको थिएँ । त्यो फाइनल हामीले जित्यौँ, मैले म्यान अफ द म्याचको उपाधि पनि जितेँ । तर, त्यो उपाधि मैले देवव्रत दासलाई दिएँ । हुन त उसले ६ मात्र बनाएको थियो, तर उसको त्यही ६ रन म्याच जित्न निकै महत्वपूर्ण भयो । 

यदि उसले ६ रन नबनाएको हुँदो हो त मैले हानेको हाफ सेन्चुरी निरर्थक हुने थियो । मेरो अर्धशतकभन्दा देवव्रतको ६ रन धेरै महत्वपूर्ण थियो । 



हामीमा कस्तो मानसिकता छ भने– १०० रन बनाउने मात्रै हिरो हो, १० रन बनाउने होइन । पाँच विकेट लिने हिरो, एक विकेट लिने कोही होइन । तर, हामी के बुझ्दैनाैँ भने एउटा खेल जित्नका लागि कसैको सय रन जति महत्वपूर्ण हुन्छ, एक रन पनि त्यति नै महत्वपूर्ण हुन्छ । मेरो अनुभवले के भन्छ भने कहिलेकाहीँ कुनै बलरले लिएको पाँच विकेटभन्दा दुई विकेट ज्यादा महत्वपूर्ण साबित भइदिन्छ । कुनै–कुनै खेलमा कसैको एक विकेट वा एक रन पनि निर्णायक हुन सक्छ । 

किंग्स इलेभेन पन्जाबविरुद्ध माहोलीमा खेल्दा मैले ७०–८० रन बनाएको थिएँ । त्यो खेल हामीले जित्यौँ । मैले म्यान अफ द म्याच पाएँ । त्यो म्याचमा पाएको अवार्ड पनि मैले रजत भाटियालाई दिएको थिएँ । त्यो म्याचमा उनले चार ओभर गरेर केवल २० रन मात्र खर्चिएका थिए । 

यसरी गर्दा टिममा अरुले पनि राम्रो मान्छन् । उनीहरुलाई पनि हामी सबैको मिहिनेतले खेल जितिएको हो भन्ने लाग्छ । टिमका सबैलाई आफू पनि कप्तानसरह नै छु भन्ने लाग्दै जान्छ, आफ्नो योगदान पनि कप्तानको जत्तिकै महत्वपूर्ण छ भन्ने भावनाको विकास हुँदै जान्छ । तब टिम राम्रो हुँदै जान्छ । सबैको एक–अर्काप्रतिको ‘बोन्डिङ’ राम्रो हुँदै जान्छ । बोन्डिङ राम्रो हुनु भनेको समग्र टिम राम्रो हुँदै जानु हो । 

खेलाडीबीचको ‘बोन्डिङ’ राम्रो होस् भनेर खेलाडीलाई सँगै राखेर खाना खुवाइन्छ, तर मलाई यी सबै कुरा बकवास लाग्छन् । एउटा टिम कस्तो हुने र टिममा खेलाडीबीच कस्तो किसिमको साझेदारी हुन्छ भन्ने कुरा कप्तानमा भर पर्छ । १५ खेलाडीलाई सँगै खाना खान एउटै ठाउँमा राख्दा के उनीहरूले एक–अर्कासँग राम्ररी कुरा गर्न पाउँछन् त ? तपाईं जति सबैको योगदानको कदर गर्नुहुन्छ, जति राम्रोसँग उनीहरुसँग प्रस्तुत हुनुहुन्छ ‘बोन्डिङ’ त्यति नै राम्रो हुने हो । न त सँगै खाना खाएर राम्रो हुन्छ । 

कसैले राम्रो गर्दा कप्तानले उसलाई ‘क्रेडिट’ दिनुपर्छ । फेरि कसैलाई धेरै कम र कसैलाई धेरै दिने पनि गर्नुहुँदैन । सबैलाई बराबर दिनुपर्छ, निकै सन्तुलित रुपमा प्रस्तुत हुनुपर्छ, सबैसँग ।  

मेरो टिमसँग शाहरुख खानजस्तो स्टारको नाम थियो । म कप्तान हुनुभन्दा पहिला उनले कप्तानलाई यो खेलाडीलाई राख, यसलाई नराख भने कि भनेनन् मलाई थाहा छैन । तर, मैले सात वर्ष कप्तानी गर्दाको अवधिमा उनले कहिल्यै मलाई फोन गरेर यसलाई टिममा राख, उसलाई नराख भनेनन् । उनले ममाथि पूर्ण रूपमा भरोसा गरे । 

मैले उनलाई पहिलो दिनमै भनेको थिएँ, ‘ग्ल्यामर’ले मलाई कत्ति फरक पार्दैन । मेरो लागि कोलकाताको टिम कस्तो खेल्छ भन्ने कुराले मात्र मतलब राख्छ । यस अर्थमा टिम जहाँसम्म पुग्यो, जे–जति प्राप्त गर्न सक्यो त्यसमा शाहरुख खानको पनि ठूलो योगदान छ । उनले मलाई पहिलो दिनमै भनेका थिए– आफ्नो मर्जीले टिम चलाऊ । मैले कसैको दबाबमा नपरी निर्णय लिन सकेर पनि होला, टिमले लगातार १५ म्याच जितेको थियो । विश्वभर हुने कुनै पनि प्रकारको फ्रेन्चाइजमा यस्तो कमै मात्र भएको छ । 

केही समययता म राजनीतिमा आएको छु । म यो चाहन्नँ कि म हरेक मुद्दालाई सोसल मिडियामा सबैसामु प्रस्तुत गरेर आफूलाई राष्ट्रप्रेमी साबित गरूँ । म त यति मात्र चाहन्छु, म जे पनि कुरा निष्पक्ष भएर गर्न सकूँ, र सधैँ मान्छेको हितमा काम गर्न सकूँ ।  

  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १५:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया