किन बढ्दै छ सवारी दुर्घटना ?

काठमाडौँ- देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार सात सय ८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३ सय६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।  

दुर्घटनामा चार हजार ३ सय ७६ जना गम्भीर घाइते तथा १० हजार ३ सय ६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ । आव २०७४/७५ मा नौ हजार ९ सय ८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३ सय १८ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा भने आव २०७४/७५ को भन्दा बढी व्यक्तिको  सवारी दुर्घटना परी मृत्यु भएको थियो । 

आव २०७३/७४ मा १० हजार १ सय ७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३ सय ८४ जनाको ज्यान गएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जिप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ । 

काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको संख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ९४ जनाको मृत्यु भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर २५४ पुगेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ८२ जनाको ज्यान गएको थियो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताउँछन् । महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ । 

किन हुन्छ दुर्घटना ? 



 लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताए । श्रेष्ठले तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताए । 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । 



यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा ११ लाखको हाराहारीमा साना-ठूला सवारीसाधन सञ्चालनमा छन् । 

  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १५:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया