Mon, 23 Sep, 2019


[कथा] द क्राइङ कम्पनी
फरकधार / साउन ११, २०७६
साङ्केतिक तस्वीर ।

टेबलमा कालो फोन सेट बज्न थाल्यो ।



रिसेप्सनिस्टले तत्काल मुख पुछ्न थाली । तीनपटक घन्टी बजेपछि फोन उठाई र सुँक्कसुँक्क गर्दै भनी– हेलो ।

सुँक्कसुँक्क गर्दै उसले फोन उठाएको यो पहिलोपटक होइन । खासमा उसको काम नै यसरी फोन उठाउनु हो । सुँक्कसुँक्क गर्दै फोन नउठाएकाले यो कम्पनीले यसअघि नै अरू तीनजना रिसेप्सनिस्ट फायर गरिसकेको थियो । नयाँ रिसेप्सनिस्ट जागिर गुमाउन चाहन्नथी । उसले याे फाेन नउठाएर अरु कसैले उठाएकाे हुन्थ्याे भने पनि उसले पनि सुँक्कसुँक्क गर्नै पर्ने थियाे ।

कम्पनीको म्यानेजर हुँ म । मैले रिसेप्सनिस्टले कसरी फोन उठाउँछे भन्ने याद गरेकाे थिएँ आज । कस्टमरलाई रिझाउन सके मात्र व्यापारमा प्रगति हुन्छ भन्ने मलाई थाहा भइसकेको थियो । कस्टमरलाई इम्प्रेस गर्न सबैभन्दा पहिले फोनमा प्रभावकारी रूपमा रुन सक्नु पथ्र्यो ।

त्यसैले मैले रिसेप्सनिस्टलाई अर्डर दिएको थिएँ– रोएको जस्ताे आवाज सुनिने गरेर मात्र फाेन उठाउनु । 

दुई वर्षपहिले कम्पनी सुरु गर्दा केही साथीहरू हाँसेका थिए । केहीले भने राम्रो कन्सेप्ट भन्दै तारिफ गरे । एक–दुईले आफ्ना भाइभतिजालाई जागिर लगाइदिन अनुरोध पनि नगरेका होइनन् । केहीले त मलाई सोझै भनेनन्, नेतालाई फोन गर्न लगाए । सबैलाई हुन्छ भनेँ मैले । आखिर मलाई मानिस चाहिएको थियो, उनीहरूलाई जागिर चाहिएको थियो । तर, कति त कामको प्रकृति बुझिसकेपछि दोस्रो दिन अफिस आएनन् ।

सहरमा संवेदना हराएको थियो । प्रत्येक साताजसो भेटिने ६० वर्ष पार गरिसकेका दाइहरू मलाई भन्थेँ– अब त रुने मान्छेको कमी नै भइसक्यो, मानिसहरूको मन तथा मुटु ढुंगाको भइसकेको छ यहाँ ।

उनीहरूका यस्ता कुरा सुन्दा–सुन्दा ममा नयाँ कम्पनी स्थापना गर्ने कन्सेप्ट आयो । यो एउटा यस्तो समय थियो, जतिवेला म जागिर खोजिरहेको थिएँ । केही साथी भनिरहेका थिए– जागिर नखानू, आफ्नै केही व्यवसाय गर्नू ।

व्यवसाय के गर्ने भन्ने लामो समयको विचार, विमर्श र निकटका साथीभाइसँगको सम्पर्कपछि जन्मियो– द क्राइङ कम्पनी ।

कम्पनीले एउटा मात्र क्षेत्रमा काम गर्ने उद्देश्य लिएको थियो– रुने । कम्पनी रजिस्ट्रारकाे कार्यालयमा गएर कम्पनी दर्ता गर्दा त्यहाँका कर्मचारी पनि कामको प्रकृति सुनेर हाँसे । रुने कम्पनी दर्ता गर्दा मानिसहरू हाँसेको चित्त बुझेन मलाई ।

अर्कातिर मनमा द्विविधा पनि बढ्यो, कतै कम्पनी नचल्ने त होइन ?

चुक्ता पुँजी पाँच लाख राखेर मैले कम्पनी सुरु गरेँ । पत्रिकामा भ्याकेन्सी छपाएँ । सहरबाट संवेदना मात्र हराएको थिएन, बेरोजगारीको समस्या पनि बढेको थियो । जागिरका लागि दर्जनौँले निवेदन दिए ।

प्रारम्भिक समय भएकाले सुरुमा २० जनालाई छानेँ । एक साता लामो ओरिएन्टेसन दिएँ । सबैलाई सचेत बनाइसकेको थिएँ– हाम्रो काम रुनु हो ।

कम्पनीको सेटअप सकिएपछि पत्रिकामा अर्को विज्ञापन छापियो– तपाईंको आफन्तको मृत्युमा रुने मानिस चाहिएको छ ? हामीलाई सम्झनुहोस् ।

त्यसको भोलिपल्टै फोन बज्यो । कम्पनीमा पहिलोपटक फोन बज्दा म उत्साहित भएँ ।

त्यो फोन मैले रिसेप्सनिस्टलाई उठाउन दिइनँ । आफैँ उठाएँ । उत्साहित हुँदै मैले भनेँ– हेलो, क्राइङ कम्पनीमा स्वागत छ । अनि मुसुक्क हाँसेँ ।

उताबाट थर्काइयो– रुने कम्पनी खोलेर हाँसेर बोल्ने ?

म झसंग भएँ । सरी हजुर भनेँ । अनि बोली निन्याउरो बनाएँ ।

त्यसपछि बल्ल फोन गर्ने मान्छे अगाडि बढे । उनले भने, ‘आज बिहान गायक गीतमानको मृत्यु भएको त थाहा होला । भोलि उनको अन्त्येष्टि हुँदै छ । के तपाईंहरू आर्यघाटमा आएर रुन सक्नुहुन्छ ?’

त्यसपछि म झन् भक्कानिएँ । ग्वाँग्वाँ रुँला जस्तै गरेर भनेँ, ‘दुःख लाग्यो हजुर, हामी आएर रुन्छौँ ।’ अनि मैले जोडेँ, ‘पेमेन्ट कहिले गर्नुहुन्छ हजुर ?’

पहिलो काम भएकाले मलाई पाउनु पर्ने हिसाब–किताबबारे बढी चिन्ता थियो । एक महिनापछि २० जना कर्मचारीलाई तलब दिनु मात्र थिएन, नयाँ कम्पनी स्थापनाको उपलक्ष्यमा साथीभाइलाई पार्टी पनि दिनु थियो । घरभाडा तिर्न पनि आफैँ लगानी गर्ने पक्षमा म थिइनँ ।

हामीलाई फोन गर्ने मान्छे गीतमानका फ्यान रहेछन् । पैसा पनि तिर्नुपर्छ भन्ने सायद उनलाई थाहा थिएन । उनले सोधे, ‘कति पैसा लाग्छ ?’

हामीसँग कति पैसा लिने भन्न एउटा मेनु थियो । महिला मात्र वा पुरुष मात्र रुँदा अलिक कम लाग्थ्यो । महिला र पुरुष दुवै हुँदा समावेशी रुवाइको अलिक धेरै पैसा लिन्थ्यौँ । मेनुमा ‘नम्बर अव क्रायर्स’ अनुसार पनि छुट्टाछुट्टै पैसा लाग्थ्यो । मैले फोनमा यी सबै सुनाएँ ।

उनले भने, ‘पैसा लिन अहिले नै मान्छे पठाइदिनू । मेनुको सबैभन्दा महंगो क्याटोगोरी हामीलाई चाहिन्छ । मलाई पैसाको मतलब भएन, मनपर्ने गायकका लागि म त्यति गर्न सक्छु ।’

मैले उनको ठेगाना लिएँ र फोन राखेँ ।

त्यसपछि म आफैँ पैसा लिन दौडिएँ । उनलाई मेनु पनि लगिदिएँ । मेरो आफ्नै भिजिटिङ कार्ड पनि मेनुसँगै थियो ।

भनेकै ठाउँमा उनलाई भेटियो । मैले आफूलाई कम्पनीको मालिक हुँ भनेर बताइनँ । मालिक नै पैसा उठाउन पुग्दा अविश्वसनीयता बढ्ला भन्ने चिन्ता थियो । उनले एक लाख क्यास ठिक्क पारेका रहेछन् । मैले लगेको मेनुको पार्सल उनलाई दिएँ र फर्किएँ । फर्किने वेला उनलाई भनेँ– हामी सबैभन्दा राम्रो सेवा दिन तयार छौ“ हजुर, आवश्यक परेका वेला हामीलाई सम्झनुहोला ।

त्यहाँबाट म सोझै एउटा रेस्टुराँ गएँ । एक लाखको बिटो फुटाएँ । एक पेग ह्विस्की खाएँ र तीन प्लेट मःम प्याकिङ गर्न लगाएँ । घरमा छोराछोरी खुसी भए– बुबाको अफिसको पहिलो कमाइ भन्दै । बुढीले आमालाई फोन गर्न भ्याई– ज्वाइँको कम्पनीले पहिलो बिजनेस नै एक लाखको गर्यो ममी, भोलि मलाई नयाँ साडी किन्न जाने हो ।

म पनि खुसी थिएँ । कम्पनीले राम्रो गर्ने छनक थियो यो । राम्रै व्यापार गर्दा केही महिनामै किस्तामा एउटा गाडी किन्न चाहन्थेँ म ।

भोलिपल्ट बिहानै मैले कर्मचारीलाई एसएमएस गरेँ। स्मार्ट बनेर समयमा अफिस आउन निर्देशन थियो मेसेजमा ।

ठीक समयमा म अफिस पुगेँ । क्राइङ सेट आइसकेकाे रहेछ । एक घन्टाको ट्रेनिङ सेसन आयोजना भयो । सुरुमा त कसैले पनि लय मिलाएर रोएनन् । गायकको मृत्युमा रुनुपर्ने भएकाले हामीले लयलाई पनि ध्यान दिनुपर्ने थियो । कर्मचारीमध्ये एकजनालाई गितार बजाउन आउँदो रहेछ । उसले संगीतको सुरबारे केही भन्यो ।

ठ्याक्कै एक घन्टाको प्राक्टिसपछि हामी तयार भयौँ ।

गायकको शव आर्यघाट लैजान तयारी भएपछि अघिल्लो दिन फोन गर्ने फ्यानले फोन गरे । हामी पनि तयार थियौँ । एउटा माइक्रो भाडामा लिएका थियौँ ।

हामी आर्यघाट पुग्नु र गायकको शव आउनु एउटै समय भयो । माइक्रोबाट द क्राइङ कम्पनीका कर्मचारी रुँदै झरे । रुँदा महिला कर्मचारीका आँखाको गाजल पूरै लतपतियो । म छेउमा बसेर हेरिरहेको थिएँ । कर्मचारीहरू ग्वाँग्वाँ रोइरहेका थिए । कोही भनिरहेका थिए– उहाँ मेरो गुरु हुनुहुन्थ्यो । कोही भन्दै थिए– उहाँले मलाई जीवन दिनुभयो, कर्मबा हुनुहुन्थ्यो । मेरा २० कर्मचारी एकैपटक रुँदा टिभीका क्यामरा पूरै उनीहरूतिर सोझिए ।

त्यहाँ रुने मान्छे अरू कोही थिएनन् । गायक गीतमानका छोरा एउटा टिभीमा अन्तर्वार्ता दिइरहेका थिए । उनको अनुहारमा बाबुको मृत्युको पीडा थिएन । गायकका अरू आफन्त पनि आएका थिए । उनीहरू पनि केही गरिरहेका थिएनन् । अनुहार भावशून्य थियो । तर, कसैको अनुहार अँध्यारो पनि थिएन ।

ठीक एक घन्टामा अन्त्येष्टि सकियो । माइक्रो हामीलाई कुरिरहेको थियो । हामी माइक्रोमा बसेर अफिस फर्कियौँ । पहिलो बिजनेसमा राम्रो गरेकाले मैले कर्मचारी सबैलाई खाजा खुवाउने भएँ । बाटोमा २० जनाको अट्टहास सुनियो– यसरी रुनुपर्छ भन्ने कुरा भयो । एकले अर्काको अभिनयबारे बोले । अफिसमा पुग्दा पनि यही कुरा चलिरहेको थियो ।

अफिसमा २१ प्लेट बफ मःम आएको थियो । हामी सबैले खायौँ ।

त्यो दिन साँझ घरमा पुगेर टिभी खोलेँ । समाचार हाम्रै बारे आएको थियो– गायकको अन्त्येष्टि अत्यन्त भावानात्मक भयो, अन्त्येष्टिमा उपस्थित रुँदा माहोल हृदयविदारक बन्यो ।

यो हाम्रो सफलता थियो । भोलिपल्टका पत्रिकामा पनि हाम्रै कर्मचारी रोएको फोटो छापिएको थियो । सबैले लगाएको कपडामा ‘द क्राइङ कम्पनी’को लोगो थियो । अब व्यापारका लागि कुनै विज्ञापन दिनु पर्दैन भन्ने मैले सोचेँ ।

रुनका लागि अफिसमा व्यापक फोन आउन थाल्यो । कम्पनीले नयाँ–नयाँ स्किम पनि ल्यायो । नयाँ कर्मचारी थपिए । माग बढेसँगै रुने समूह बढ्न थाले ।

एक दिन फोन आयो । रिसेप्सनिस्टले मलाई लाइन पास गरिदिई । फोनमा नयाँ अर्डर भयो– हामीलाई नेवारी रुवाइको टुकडी चाहियो । काम गर्ने कर्मचारी ३३ जना पुगिसकेका थिए । तर, नेवारीमा रुन जान्ने जम्मा आठजना थिए । उनीहरूकै सहयोगमा पार्टटाइम कर्मचारी कम्पनीले हायर गर्याे ।

सहरमा क्रंकिटका घर बढे । जति–जति क्रंकिटका घर बढे, त्यति–त्यति मानिसको मन पनि कडा बन्न थाल्यो । चिया पसलमा यो विषयमा छलफल हुन्थ्यो । अधिकांश सहरबाट मानवीयता हराएको भन्थे । यसको अर्थ थियो, क्राइङ कम्पनीको व्यापार बढ्नु ।

व्यापारले राम्रो गर्न थाल्यो । हामीलाई विभिन्न समुदायकै रुवाइको माग बढ्न थाल्यो । अहिले कम्पनीले १८ वटा विभिन्न समुदायका लागि पनि रुने कार्यक्रमको व्यवस्था गर्न थालेको छ ।

काठमाडौंमा केन्द्रित कम्पनीले सातै प्रदेशमा शाखा कार्यालय विस्तारित गरिसकेको छ । 

रुने व्यवसाय फस्टाउन थालेपछि अहिले सहरमा अरू पनि कम्पनी खुलेका छन् । तर, सबैभन्दा पुरानो र अनुभवी कम्पनी द क्राइङ कम्पनी नै हो । के तपाईंलाई पनि आफन्तको मृत्युमा रुने मान्छे चाहिएको छ ? हाम्रो हटलाइन नम्बर ९८५११९७२४४ चौबीसै घन्टा तपाईंको सेवामा छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्