जसले भुलेका छैनन् सुन्धाराको पानीकाे मिठास
फरकधार / १२ साउन, २०७६

काठमाडौं–



‘धाराको पानी कान्छी नानी बोकेको कम्मरमा 
भुलेको छैनौँ त्यो मीठो पानी अझै यो उमेरमा 
अब अहिले चिसो खोला कहाँ गयो धारा खोला 
भएन पूरा आँत बुझ्ने 
रहने स्वाद, तिर्खा मेटिने ।’  

चलचित्र ‘देउता’को ‘के भन्ने हाम्रो समय’ गीतको अन्तरा हो यो । सन् १९९१ मा पोखिएको यो काल्पनिक विरह आज काठमाडौंवासीका लागि तीतो यथार्थ बन्न पुगेको छ । 



काठमाडौंमा टोलैपिच्छे ढुंगेधारा छन्, पानीको प्रवाह भने छैन । अधिकांश ढुंगेधाराले आफ्नै आँत भिजाउन नपाएको वर्षौं भइसक्यो । एकाधले भने तिरतिर नै सही, आस्तित्व धानिरहेछन् । दिनप्रतिदिन ठडिँदै गएका विशाल संरचनाका कारण पानीका अधिकांश मूल सुकिसकेका छन्, केही सुक्दै छन् । 



यसरी सुक्खा पल्टिएका सहरी धारामध्ये एक हो, काठमाडौंको धरहराछेउमै रहेको ‘सुन्धारा’ । यही सुनौलो धाराका कारण धरहरा असपासका क्षेत्रको नामै सुन्धारा रहन गएको बुढापाकाहरु बताउँछन् । 

यतिबेला सुन्धारासँग केवल चल्तीको एक नाम छ । यहाँ धारा त छ, तर धाराले आफ्नो मूल अस्तित्व नै गुमाएको छ । दुई दशकदेखि भयो, सुन्धाराले पानीको धारो गुमाएको । यद्यपि, सुन्धाराको पानी पिएकाहरुको जिब्रोमा त्यसको स्वाद भने आजपर्यन्त ताजै छ । 

सुन्धाराछेउमै १५ वर्षदेखि मासु र चिया पसल चलाइरहेकी ७५ वर्षीया कान्छी शाही कुनै समय गीतले ‘धाराको पानी कान्छी नानी बोकेको कम्मरमा’ भनेजस्तै बिहानै गाग्री बोकेर सुन्धारा पुग्थिन् । सुन्धाराको पानीको स्वाद अझै बिर्सेकी छैनन् उनले ।

कान्छी शाही

‘फस्टकिलासै हुन्थ्यो यो धाराको पानी,’ कान्छी सम्झिन्छिन्, ‘मौसमअनुसार पानी आउँथ्यो । जाडोमा तातो, गर्मीमा चिसो । जाडो याममा चार बजे नुहाउँदा पनि चिसो लाग्दैन्थ्यो ।’ 

‘कति भयो धारामा पानी आउन छोडेको ?’ प्रश्नसँगै केही गम्भीर हुन्छिन् कान्छी । सुन्धारामा पानी आउन छोड्नुसँग जोडिएर आउँछ, उनको जीवनमा चलेको वेदनाको हुरी । गन्ती गर्दै मलीन आवाजमा कान्छी भन्छिन्, ‘श्रीमान् बितेको १८ वर्ष भयो, त्यसको लगभग दुई वर्षपछि पानी पनि आउन छोड्यो ।’ 

सुन्धाराको पानीको मुहान र कान्छीको खुसीको मुहान सँगसँगै सुके । त्यसैले पनि उनलाई श्रीमान्बारे सोध्दा सुन्धाराको याद र सुन्धाराबारे सोध्दा श्रीमान्को याद आइहाल्छ । 

धारा कसरी सुक्यो ? भनेर सोध्दा उनलाई २० वर्षअघि बनेको काठमाडैं मलको याद आउँछ । ‘काठमाडौं मलका लागि जमिन खन्न सुरु गरेपछि धारामा पानी आउन छोड्यो,’ कान्छी भन्छिन्, धेरै गहिरो खनेर होला, पानीको मुहानै थुनियो ।’ 

कान्छीको बुझाइमा यो धाराको नाम ‘सुन्धारा’ यसै हचुवामा राखिएको थिएन । ‘कोही बच्चा बिरामी भयो वा कसैलाई केही भयो भने मान्छेहरु जाऊ जाऊ, सुन्धाराको पानी लिएर आऊ भन्थे,’ कान्छी सम्झिन्छिन्, ‘मेरो नाति दुई दिनसम्म बेहोस भयो । सुन्धारको पानी छर्केको मात्रै के थिएँ, आर्काे दिन त नातिको मुहार एकाएक उज्यालियो ।’ 

सुन्धाराको पानीमा सुन र अमृतको जस्तै विशेषता भएको बताउँछिन्, कान्छी शाही । ‘सुनपानीजस्तै चोखो र शक्ति भएकाले पछि–पछि यो ठाउँको नामै सुन्धारा राखिएको हो ।’

कान्छीको यो धारासँगको साइनो निकै पुरानो हो । जन्मँदैदेखिको साइनो छ भन्दा फरक नपर्ला । किनकि, कान्छीको जन्म, विवाह र विवाहपछिको जीवन पनि सुन्धाराकै परिपरि बितेको छ । उनको माइतीघर सुन्धाराबाट केही पर लगनटोल हो । घर भने काठमाडौं मलको ठ्याक्कै पछाडि । 

‘जन्मेदेखि यही धाराको पानी पिएर, नुहाएर, कपडा धोएर हुर्कें बढेँ,’ अलिक भावुक हुँदै कान्छी भन्छिन्, ‘अहिले २० वर्ष भयो, धाराको पानी पिउन नपाएको । मर्ने बेलासम्म त स्वाद कस्तो थियो भनेर पनि बिर्सिन्छु होला ।’

दिनप्रतिदिन काठमाडौंमा बन्दै गएका ठूला संरचना र तिनले वातावरणमा गर्ने क्षतिप्रति चिन्तित छिन् उनी । कान्छी भन्छिन्, ‘पानीको मुहान सबै सुक्दै छन् । हाम्रो घरमा भएको कलमा पनि पहिलेजस्तो पानी आउँदैन । पन्ध्र मिनेट खिच्यो कि सुक्न थालिहाल्छ ।’ 

पिउनेदेखि नहाइधुवाइ गर्ने पानीसमेत किन्नुपर्दा धेरै पैसा खर्च भएको कान्छी गुनासो गर्छिन् । ‘धारा नसुक्दासम्म पानीको यस्तो समस्या भएको थिएन । पिउनेदेखि पानी किन्नुपर्दैनथ्यो,’ कान्छी भन्छिन्, ‘त्यो जुगजस्तो पानी अब आउने मान्छेले पाउँदैनन् ।’

६१ वर्षीय बाबुराज तुलाधर पनि काठमाडौंकै रैथाने हुन् । उनी अहिले न्युरोडमा कपडा व्यवसाय गर्छन् । यो व्यवसायमा लागेको ३५–४० वर्ष भएको बताउँछन् उनी । कान्छीजस्तै बाबुराजको सम्झनामा पनि सुन्धाराको पानीको स्वाद ताजै छ । 

बाबुराज तुलाधर

‘धाराको पानीको स्वाद नै बेग्लै हुँदोरहेछ । अहिले बजारमा पाइने जतिसुकै महँगो पानी पनि धाराको जस्तो मीठो हुँदैन । जिब्रोले स्वाद प्रस्टै चिन्न सक्छ,’ बाबुराज गुनासो गर्छन् । बाल्यकाल सम्झँदै बाबुराज भन्छन्, ‘म त्यतिबेला ८–१० वर्षको हुँदो हुँ, मैले त्यहाँ नुहाउन सुरु गरेको ।’

बाबुराज पनि काठमाडौं मल बन्न सुरु गरेदेखि नै पानी आउन छाडेको बताउँछन् । ‘मलका लागि ठूलो खाल्डो खनियो, त्यसपछि माटोलाई थिच्न टिनको प्रयोग गरेर जोडजोडले हिर्काउन थालियो,’ उनी सम्झन्छन्, ‘सायद त्यसैको प्रेसरले होला, पानीको मुहान सुकेको ।’

त्यसो त काठमाडौं मलको स्थापनाले सुन्धारा मात्रै सुकेको छैन । वरपरका कल र इनारमा पनि खडेरी लागेको छ । ‘सुन्धारा सुकेपछि हामीले आफ्नै घरमा इनार खन्यौँ, केही समय मात्रै पानी आयो,’ बाबुराज भन्छन्, ‘त्यसपछि पनि खनेँ, फेरि त्यस्तै भयो, केही समय पानी आयो, फेरि सुक्यो ।’

बाबुराजको चिन्ता छ, ‘काठमाडौंमा केही समयपछि पानीको हाहाकार त हुने होइन ?’ उसो त राजधानीमा अहिल्यै हाहाकार छ पानीको । 

सुन्धारा सुकेपछि बाबुराजलगायत त्यस क्षेत्रका सर्वसाधारणले महानगरपालिको ध्यानाकर्षण पनि गराए, तर महानगरको ध्यान यता खिचिएन । ‘हामी मल बनाइरहेकै ठाउँमा गएर विरोध पनि गर्यौँ । धेरैपटक विरोध गरेका थियौँ,’ दिग्दार मुद्रामा बाबुराज भन्छन्, ‘जति प्रयास गर्दा पनि केही भएन । त्यसपछि हामीले विरोध गर्न पनि छाडिदियौँ ।’

सुन्धारामा र आफ्नो घरको ट्युबवेलमा फेरि पानी आउनेमा त उनलाई रत्तिभर विश्वास छैन । त्यसैले तुलाधरले आशा पनि मारिसके । तर, काठमाडौंवासीले भोगिरहेको पानीको समस्या सुल्झाउन सरकारले केही पहल गरिदिएको भए हुन्थ्यो भन्ने अपेक्षाचाहिँ गर्छन् उनी । ‘मेलम्ची आउने कुरा सुरु भएको पनि यत्तिका वर्ष भइसक्यो, खोइ केही सुरसार देखिँदैन,’ आशावादी हुँदै बाबुराज भन्छन्, ‘सरकारले काठमाडौंमा मेलम्ची चाँडै ल्याए त केही राहत मिल्थ्यो कि ?’

सुन्धाराबाट दक्षिणतर्फ केही मिनेट हिँडेर भोटेबहाल जाने गल्ली छिचोलेपछि सडकछेउमा एउटा चिया पसल आउँछ । सानो काँठीका एक वृद्ध पसलमा चिया पकाइरहेका भेटिन्छन् । नाम सोध्दा केहीबेर सोचमग्न हुन्छन् र भन्छन्, ‘खोइ, यहाँ सबैले आले दाइ भन्छन् ।’ 

आले तामाङलाई आफ्नो नामसँग त्यति मतलब छैन । नामको के अर्थ ? अर्थ त कामको पो हुन्छ त, उनलाई यस्तै लाग्दो हो सायद । 

७५ आसपासको उमेर बताउने आलेको पुर्ख्याैली घर फर्पिङ हो । 

काठमाडौं आएको कति भयो भनेर सोध्दा आले भन्छन्, ‘रुप्पे माना दूध थियो म काठमाडौं आउँदा । ठ्याक्कै याद त छैन ।’

जे होस्, उनको उत्तरलाई आधार मान्दा उनी काठमाडौं आएको ४० वर्षजति भयो । यहाँ चिया पसल गर्नुअघि उनी होटलमा काम गर्थे । केही वर्षपछि उनले आफ्नै चिया पसल खोले । आलेले आफ्नै चिया पसल खोलेको पनि ३० वर्ष भयो । 

आले तामाङ

आफैँबारे खासै याद नभए पनि आलेलाई सुन्धाराको पानीको मिठासको भने मधुरो सम्झना छ । ‘त्यो मल खन्न सुरु गर्नुअघिसम्म सधैँ पानी आउँथ्यो,’ अतीततिर फर्किन्छन् आले, ‘जाडो महिनामा तातो, गर्मीमा चिसो पानी आउँथ्यो । पानी पनि कहिल्यै सुक्दैन्थ्यो ।’ 

सुन्धारामा पानी आउँदा आलेलाई अहिलेजस्तो पानीको दुःख हुँदैनथ्यो । अहिले उनी चिया पकाउन किनेको पानीमा भर पर्छन् । ‘सुन्धारामा पानी आउन बन्द भएको धेरै वर्ष भयो । पहिलो चिया त्यहीँको पानीले पकाउँथे, अहिले जारको किन्नुपर्छ,’ दिक्क मानेको भावमा आले भन्छन् । 

सुनधारानजिकै एक्लै बस्छन् आले । आलेलाई हामीले उनका विगतबारे थुप्रै प्रश्न गर्यौं । अधिकांश विषयमा सम्झना नरहेको बताएका आलेले परिवारको विषयमा भने मुखै खोलेनन् । सायद, विगतको घाउ कोट्याउन चाहेनन् । 

दुई दशकअघि सुकेको सुन्धारासँगको सम्झना भने उनको स्मृतिबाट मेटिएको छैन । कारण, सुन्धारासँगको उनको साइनो पक्कै गहिरो थियो । 

  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १०:३५:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया