[हङकङ] प्रतिबन्ध तोड्दै आज पनि दशौँ हजारले गरे प्रदर्शन, चिनियाँ कार्यालयनजिक झडप

हङकङ– प्रहरीले लगाएको प्रतिबन्ध तोड्दै आज पनि दशौँ हजार हङकङवासीले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सहरका मुख्य सडक दिनभर बन्द गरे ।

गत साता प्रदर्शनकारीहरुमाथि हतियारधारी समूहले गरेको आक्रमणको बिरोधमा हिजाे पनि दशौँ हजारले प्रदर्शन गरेका थिए । प्रतिबन्ध तोड्दै गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियाे ।

हिजोजस्तै आज पनि प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपहरु भएका छन् । आज पनि प्रहरीले चिनियाँ सरकारी कार्यालयनजिक पदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रहरीसँग रुष्ट प्रदर्शनकारी पनि भिडन्तमा उत्रिएका छन् । 

झडपअघि, कालो कपडामा छाता ओडेर निस्केका प्रदर्शनकारी प्रहरीविरुद्ध नाराबाजी गर्दै सहरको मुख्य व्यापारिक क्षेत्रतर्फ बढेका थिए । प्रहरीले आज च्याटर गार्डेनभित्र मात्रै र्याली गर्ने अनुमति दिएको थियो । गार्डेनबाहिर सडकमा प्रदर्शन गर्न सख्त मनाही गरेको थियो । 

हङकङमा निःशस्त्र प्रदर्शनमा बन्देज लगाइएको यो दुर्लभ घटना हो । प्रदर्शनकारी र स्थानीय बासिन्दाबीच हिंसात्मक द्वन्द्वको खतरा देखिएको भन्दै प्रहरीले प्रदर्शनमा प्रतिबन्ध लगाएकाे हाे । 



गत साता भएकाे आक्रमणमा स‌ंलग्न हतियारधारीसँग प्रहरीको भित्र–भित्रै मिलेमतो रहेको प्रदर्शनकारीको आरोप छ । प्रहरीले भने आरोप अस्वीकार गर्दै आएको छ ।



हङकङले सात हप्तादेखि विभिन्न मुद्दामा प्रदर्शन झेल्दै आएको छ । यसअघि, हङकङमा रहेका अभियुक्तलाई अनुसन्धानका लागि चीन सुपुर्दगी गर्न सकिने विधेयकको विरोधमा यहाँ हप्तौँसम्म प्रदर्शन चर्किएको थियो । प्रदर्शन नियन्त्रणबाहिर गएपछि यहाँको प्रशासनले सो विधेयक निलम्बन गरेको थियो । 


  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १८:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया